प्रेसलाई निषेध गर्ने होइन मर्यादित बनाउनु जरुरी छ

12
Nisha Tamang

– निशा तामङ

पत्रकारिता क्षेत्रमा आफ्नो परिश्रम लगाएर आमजनतालाई सुचना प्रदान गर्दै खबरदारी गर्न पनि हरपल तयार रहने पत्रकारको अवस्था आज दयनीय बन्दै गएको छ । हरेक दिन हुने पत्रकारमाथिको आक्रमणका घटनाले पत्रकारहरू त्रासयुक्त वातावरणमा काम गर्न बाध्य भइरहेको अवस्था छ । पत्रकार स्वतन्त्रपूर्वक काम गर्न सकिरहेका छैनन् । कसैको विरोध गरे धाक धम्की चेतावनी र आक्रमणको शिकार बन्नुपरिरहेको अवस्था विद्यमान छ ।

नेपाली पत्रकारिताको सुरुवात र विकासक्रम हेर्न इतिहासलाई हेर्ने हो भने हाम्रो देशमा पत्रकारिताको लागि सहज वातावरण नरहेको पाइन्छ । पत्रकारिताको इतिहासमा विगतदेखि वर्तमानसम्म त्रासयुक्त वातावरणमा पत्रकारिता क्षेत्र रहँदै आएको सर्वत्र महसुस भएको पनि हो । राणाशाशनको ब्यवस्था हुदै तीस बर्षे लामो पञ्चायती ब्यवस्था र शाहीकालमा पत्रिकाहरू माथि लगाइएको अंकुशको कारण नेपाली पत्रकारिताले समस्याहरू झेल्दै अहिलेको अवस्थामा आएको हो, यो सबैका सामु छर्लङ्ग छ । राणाकाल, पञ्चायतीकाल र शाहीकाल फालेर नेपाली जनताले ल्याएको लोकतन्त्रमा पनि पत्रकारिता क्षेत्र स्वतन्त्र बन्न सकिरहेको छैन । अहिलेको अवस्थामा पनि पत्रकारिता क्षेत्र विगतकै जस्तो समस्या झेल्न बाध्य हुँदै आएको पाइन्छ । विगतमा चाहे त्यो छापाखाना होस् या वर्तमानमा अनलाइन पत्रिका नै किन नहोस् सञ्चारक्षेत्रको हरेक क्षेत्र समाचार सम्प्रेषण गरेकै भरमा आक्रमणमा पर्ने गरेका छन् ।

नेपालमा ६२÷६३को जन आन्दोलनबाट लोकतन्त्रात्मक व्यवस्था प्राप्त गरेको नेपालमा लोकतन्त्रपछि सञ्चार क्षेत्रको विकास, विस्तार र स्तरीयतासंगै संरक्षणको समेत अपेक्षा गरिएको हो । तर देशमा लोकतन्त्र आएपछि एफएम रेडियो, निजी र सामुदायिक रेडियो हुँदै टेलिभिजन खोल्ने क्रमले तीव्रता पाए पनि यसको विकास र संरक्षणतर्फ राज्यको चासो पाइएको छैन । नेपालमा पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चारक्षेत्रलाई धेरै माथि पु¥याएको महसुस गर्न सकिन्छ । केही वर्षयतादेखि बढ्दै गएको आमजनताको सामाजिक सञ्जालप्रतिको सक्रियताले अनलाइन सञ्चारतर्फ आकर्षण बढ्दै गएको बुझ्न सकिन्छ । अनलाइन मिडिया जति बढ्दै गएको छ त्यति नै मात्रामा नेपालमा पत्रकारिताको विकास पनि हुँदै गएको छ । तर विकास जति हुँदै गएको छ त्यति नै बढी मात्रामा पत्रकार आक्रमणका शिकार बन्दै गएका छन् ।

पछिल्लो समय नेपालमा पत्रकारिताको स्थिति हेर्दा स्वतन्त्र पत्रकारिताको अभाव महसुस भइरहेको छ । हजारौ पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन जस्ता सञ्चार माध्यमहरू सञ्चालित छन । तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित बन्न सकिरहेको छैन ।

भर्खरै मात्र नेपाल पत्रकार महासंघ सिन्धुली शाखा अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहाललाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटना, गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा दुव्र्यवहार भएको घटनाले पत्रकारिता क्षेत्र त्रासयुक्त बन्दै गएको बुझ्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकाससिंह स्याङतानले कार्की र दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भई बेहोस अवस्थामा काठमाडौं ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । गोरखापत्र दैनिकमा कार्यरत तामाङ पत्रकार संघका पूर्वसचिव एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सदस्य शान्ति लामा सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाइएको सूचनाका आधारमा स्थलगत रिपोर्टिङका लागि त्यहाँ सार्वजनिक कुवा, गोरेटोबाटो र खानेपानीको लाइन मिचेर बनाइएको घरको केही भाग स्थानीयबासीको एक समूहले भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा पत्रकार लामामाथि केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए ।

राज्यको चौथो अगंको रूपमा रहेको प्रेस जगत समाजको ऐना हो, जसलाई आवाजविहिनहरूको आवाज पनि भनिन्छ । सञ्चारमाध्यम आम मानिसलाई सुसूचित गर्ने माध्यम भएकाले जनताको आवाज बलियो बनाउन र लोकतन्त्र सुदृढ गर्न प्रेस स्वतन्त्रता अपरिहार्य हुन्छ । आवाजविहिनहरूको आवाजलाई सही सम्प्रेषण गरेर समाजमा हुने गलत गतिविधि रोक्न समाजमा प्रेस र प्रेसमा कार्यरत पत्रकारहरू यस क्षेत्रमा स्वतन्त्र भएर समाजमा नागरिक समक्ष सही सूचना प्रवाह गर्न सदैव अग्रसर हुनुपर्नेमा अहिले प्रेस जगतकै स्वतन्त्रता हनन भइरहेको देखिन्छ । पत्रकारको निर्वाध रूपमा समाचार संकलन गर्न पाउने अधिकारलाई कुण्ठित गरी प्रेस स्वतन्त्रता विरोधी कार्य राज्यपक्षबाट भइरहेका छन् । लोकतन्त्र र गणतन्त्र स्थापित मुलुकमा पत्रकारिता क्षेत्रमा लागेका हरेक पत्रकार स्वतन्त्र रूपमा बिनाअवरोध समाचार संकलन गर्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्नेमा आज पत्रकारहरूले आफ्नो सुरक्षाको अनुभूति गर्न सकिरहको अवस्था छैन । नेपालको संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न नसकेको र कानुनबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ । नेपालको संविधान र कानुनमा प्रेस स्वतन्त्रताका लागि धेरै प्रावधान राखिए पनि व्यवहारमा लागू हुन सकिरहेको छैन । संविधानका अक्षरहरूमा जति महत्वका साथ प्रेस स्वतन्त्रताले स्थान पाइए पनि व्यवहारमा नेपाली सञ्चार क्षेत्रले पूर्ण प्रेस स्वतन्त्रताको महसुस गर्न पाइरहेको अवस्था छैन । संविधानमा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाइएजस्तै व्यवहारमा पनि प्रेस जगत राज्यपक्षबाट सम्मानित र संरक्षित हुने हो भने यो पेशामा क्रियाशील रहेका हरेक व्यक्तिले जनता र राज्यप्रति जिम्मेवारीपूर्ण ढङ्गले लाग्न प्रेरित हुने अवस्था आउन सक्दछ । निषेधको कानुनले मात्र अनुशासन कायम गर्न सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ , यसतर्फ राज्य सञ्चालकहरूको ध्यानाकर्षण जरुरी छ ।

-samarianisu@gmail.com – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here