अखिलको निशानामा त्रि.वि. सेवा आयोगका भ्रष्टाचारी र दलालहरू

44

 -हुकुमबहादुर सिंह

यहाँ अखिल क्रान्तिकारी भनेको नेकपा (क्रान्तिकारी माओवादी ) सम्वद्ध विद्यार्थी संगठन हो । वर्तमानमा अखिल क्रान्तिकारीको नेतृत्व हरिकृष्ण गजुरेलले गरेका छन् । उनकै पहलकदमी र सक्रियतामा अहिले त्रि.वि. सेवा आयोगको मूल गेट अगाडि अखिल क्रान्तिकारीको रिले अनशन चलिरहेको छ । उक्त संगठनले निम्न तीनवटा मागहरू राखेर रिले अनशन गरिरहेको छ, जसमा त्रि.वि.सेवा आयोग खारेजी, आयोगका भ्रष्ट पदाधिकारीहरूलाई तत्काल बरखास्तगी र अवैधानिक रूपमा त्रिवि सेवा आयोगद्धारा प्रकाशित गरिएको नतिजाको खारेजी लगायत छन् । यिनै उललेखित नाराहरू लेखिएको ब्यानर मूनी उनीहरूको रिले अनशन चलिरहेको छ ।

नेपालका केही बदनाम कम्युनिस्टहरू मिलेर बनेको ओली–प्रचण्ड सरकार हरेक क्षेत्रमा भएका भ्रष्टाचार, तस्करी र दलालहरूका कारण देश, विदेशमा बदनाम भइरहेको छ । विगतमा वाइडबडी खरिद प्रकरणमा ३५ करोड ५६ लाखको घोटालाका प्रमुख पात्र वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारमाथि नेकपा(क्रान्तिकारी माओवादी)को आव्हानमा युवा लिगका सहासी युवाहरूको नेतृत्वमा उसकै कार्यकक्षमा दिउँसै उसको बदनाम अनुहारमा कालो मोसो धसेर यो सरकारको भ्रष्टाचारी अनुहारमा त्यसको सांकेतिक रूपमा कालो मोसो दलेको सन्देश दिएका थिए । अहिले त्रिवि सेवा आयोगका भ्रष्ट पदाधिकारीहरूलाई तत्काल बर्खास्त र उनीहरूको नेतृत्वमा अवैधानिक रूपमा प्रकाशित गरिएको नतिजाको खारेजी लगायत यस्तो भ्रष्ट त्रिवि सेवा आयोग नै खारेजीको माग राखेर गरेको उनीहरूको रिले अनशनको आज यो स्तम्भ लेख्न बस्दाको मिति जेठ ३ गते १६ दिन पुगेको छ । हरेक क्षेत्रमा जस्तै त्रिवि सेवा आयोगका भ्रष्टाचारीहरूलाई जोगाउन यो सरकार र यसका शिक्षामन्त्री लागेका छन् भन्ने शंका गर्ने प्रशस्त आधारहरू देखिएका छन् । तर भ्रस्टाचारी तथा तस्करहरूबाट देशलाई बरबाद गराउन तम्सिएकाहरूका विरुद्ध तिनलाई कारबाहीको माग गर्दै नेकपा ( क्रान्तिकारी माओवादी ) सम्वद्ध विद्यार्थी अखिल क्रान्तिकारी जसको नेतृत्व हरिकृष्ण गजुरेलले गरिरहेका छन, उनको नेतृत्वको अखिल क्रान्तिकारीले लिएको यो आन्दोलनको समर्थनमा देशका अनेकौ पत्रकारहरू र प्रकाशनहरूले आन्दोलनको खुलेरै समर्थन गरेका छन् । सञ्चार क्षेत्रको यो सक्रियता एउटा राम्रो उदाहरण बनेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले भनेका छन्– ‘यो त्रिवि प्रशासन खास गरी सेवा आयोगका भ्रष्ट पदाधिकारीहरूका गलत काम कारबाहीका विरुद्ध आम मिडिया तथा सञ्चार क्षेत्र उद्धेलित बनेका छन्, जसको परिणाम त्रिवि सेवा आयोग आन्दोलनरत विद्यार्थीहरूसित वार्ता गर्न तयार बनेको छ ।’ उक्त रिले अनशनको समर्थनमा ऐक्यवद्धता प्रकट गर्न नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध विभिन्न जवसहरू मात्रै नभई विभिन्न विद्यार्थी संगठनहरूले पनि अनशनस्थलमा गएर उनीहरूका माग पुरा गर्न सरकारलाई दवाव दिइरहेका छन् ।

त्रिवि लामो समयदेखि भ्रष्टहरूको लागिआफैले खाने, आफ्ना परिवार, नातागोता तथा आसेपासेलाई खुवाउने र ती दलाल तथा तस्करसित बसेर गफ गर्ने अखडा बन्दै आएको छ । त्रिवि सेवा आयोग पनि यसबाट मुक्त छैन । भ्रष्टाचार, तस्करी तथा माफियाहरूको जालो वालुवाटार, सिंहदरवार, विश्वविद्यालयदेखि गाउँ टोलसम्म विस्तार हुँदै गएको छ । त्यसकारण भ्रष्टाचारीको यो जालो तोड्नका लािग नेकपा(क्रान्तिकारी माओवादी )को यो शाहासिक पहलमा हातेमालोको आवश्यकता छ । त्रिवि सेवा आयोगको आवश्यकता र औचित्यता समाप्त भएको घेरै पहिलेदेखि नै हो तर सरकार र प्रतिपक्षमा बसेका डवल नेकपा र नेपाली कांग्रेसले त्रिविका हरेक पद तथा सुविधा एक आपसमा बाँडी चु“डी गर्दै आएको इतिहास छ । यो गोलचक्करलाई तोड्न अब नेकपा (क्रान्तिकारी माओवादी) को विद्याथी संगठन–अखिल क्रान्तिकारी सबै खाले बलिदानीपूर्ण कार्यका लागि पहलकदमीका साथ अगाडि आएको छ र नेपालका स्वाभिमानी नागरिकहरूले यसका लागि उक्त विद्यार्थी संगठनको माहान बलिदानीपूर्ण आन्दोलनमा सहभागिताको आवश्यकता छ । नेकपा(क्रान्तिकारी माओवादी)को स्पष्ट मत छ कि देशमा व्याप्त यी तमाम विकृतिहरूका विरुद्ध सशक्त प्रतिरोधपूर्ण कार्यहरू गर्ने र यो सरकारका विरुद्ध मात्रै नभई यो प्रतिक्रियावादी संविधानका विरुद्ध पनि सशक्त संघर्ष गर्दै नेपालमा जनगणतन्त्रको स्थापनालाई सुनिश्चित गर्दै जानु आवश्यक छ । किनभने यी सबै विकृतिको मूलअधार भनेको यो प्रतिक्रियावादी सत्ता र यो सञ्चालन गर्ने वर्तमान संविधान हो । र यसरी भ्रष्टाचार तथा तस्करका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) को यो निरन्तर चल्ने अभियानमा उसको विद्यार्थी तथा युवा संगठनको जुझारु नेतृत्वको सक्रियता अपरिहार्य छ । हरिकृष्ण गजुरेलको नेतृत्वको यो अखिल क्रान्तिकारीले क्रमशः आफ्नो पहिचान आम जनता र विद्यार्थीहरूबीचमा स्थापित गर्न यो आन्दोलनले केही हदमा मद्वत गर्ने स्पष्ट देखिन्छ । यद्धपि यो मौकालाई उक्त संगठनको नेतृत्वले संगठनमा रूपान्तरण गर्न आवश्यक छ । संघर्ष–संगठन–संघर्षको प्रक्रियाबाट नै विद्यार्थीहरूले आफ्नो क्रान्तिकारी इतिहासलाई पुनर्जीवित गर्ने छन् । र अखिल क्रान्तिकारीको निशानाबाट त्रिवि सेवा आयोगका भ्रष्टाचारी र दलालहरू उम्किने छैनन् ।

Singhhukum683@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here