विकास र समृद्धिको सपना जनतामा भ्रम छर्ने राजनीतिक खेल

29

– प्रीति रमण

बितेको शुक्रबार राष्ट्रिय जागरण अभियान,नेपालले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा अतिथिका रूपमा सहभागी हुने अवसर प्राप्त भयो । जागरण अभियानले देशमा व्याप्त विकृति र विसंगतिका विरुद्ध जनतामा जागरण ल्याउने घोषणा गरेको छ । यो अभियानले सत्तापक्षद्वारा हुने जनविरोधी र राष्ट्रविरोधीका विरुद्ध जनतालाई जागरुक गराउने उद्घोष पनि गरेको छ । सत्ताको प्रलोभन नदेखाएको यो अभियानले सबै राजनीतिक दलहरूमा रहेका पुनर्जागरण प्रेमीहरूलाई समेट्ने उद्घोष पनि गरेको छ । समग्रमा जागरण अभियानले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिका लागि थालनी गर्ने जागरणको अभियान प्रभावकारी नै हुनसक्ला भन्ने आशा गर्न सकिने भएको छ । विकास र समृद्धि भन्ने कुरा बोल्न जति सजिलो छ, व्यवहारमा त्यति नै कठिन लक्ष्य हो । नेपालजस्तो मुलुक जहाँ राजनीतिक भाषणमात्र होइन विज्ञहरूका तर्कसमेत तथ्यमा भन्दा गफमा बढि केन्द्रीत हुन्छन्, त्यस्तो अवस्थामा त समृद्धि र विकासलाई जति नै अतिरञ्जित गरेपनि जनताले पत्याइदिन्छन भन्ने विश्वास छ र सत्य पनि त्यही हो । नेपालको अहिलेसम्मको अवस्था हेर्दा राजनीतिक भाषणवाजी र विकासका कोरा सपना जति उछाल्यो जनतामा उत्ति नै लोकप्रिय हुन पाइने गलत संस्कार बसिसकेको अवस्था छ ।

विडम्बना ! मिथ्यामा बोलेका कुरा व्यवहारमा उत्रिएको हेर्ने चाहना र प्रतिवद्धता अनुसार काम गर्नुपर्ने दबाब गर्ने चेतना जनतामै छैन भने नेताले जति सुकै झूट बोलेपनि के फरक पर्छ र ? सायद अपेक्षा र यथार्थबीचमा मिलन भइदिएको भए आज नेपाल धेरै अघी बढिसक्थ्यो । आज जनताका अपेक्षा साधारण विकास भन्दा माथि उठेर विश्वमा नयाँ प्रविधि, नयाँ अनुसन्धान वा नयाँ खोजको प्रतिस्पर्धामा नेपाल धेरै माथि पुगिसक्ने थियो । हामीसँगै आधा सताब्दी पहिलेसम्म प्रतिस्पर्धा गर्ने मुलुकहरू कहाँ पुगिसके ? हाम्रो चेतनामा भएको बिलम्बको परिणाम आज पनि हामी ५० वर्ष पहिलेकै अवस्थामा साना साना कुरामा अल्झिरहेका छौँ । हामी किन पछि प¥यौँ भन्ने बारेमा सोच्ने वा चिन्तन गर्नेहरूको अभावले गर्दा नै आज पनि हामी जहाँ छौँ त्यसैमा सन्तुष्ट हुन पुगेका छौँ ।

जुन देशका जनतामा जागरणको अभाव छ, जुन देशका जनता अहिले पनि व्यवहारमा भन्दा बढि कोरा सिद्धान्तका पछि दगुर्छन र जुन देशका जनता आफूमा भन्दा बढि अरुमाथि विश्वास गर्छन्, त्यहाँ राजनीति भन्दा बढी के नै हुनसक्छ र ? देश अनुसारको भेष भनेजस्तै जनताको चेतनास्तरले नै त्यहाँको नेतृत्वको लक्ष्यलाई निर्धारण गर्ने हो । जब जनतामा कुनै ठूलो सपना वा लक्ष्य छैन भने त्यहाँका राजनेताहरू कसरी जनताको चेतनास्तरभन्दा टाढा जान सक्छन् र ? त्यसैले यी सबै कुराको पछाडि शिक्षा र जागरणको आवश्यकता हुन्छ भन्ने मलाई लाग्दछ । मैले यसअघि पनि शिक्षाको महत्वबारे लेखिसकेकी छु । यसको अर्थ नेपालीहरू शिक्षित नै छैनन् भन्न मैले खोजेको होइन । पछिल्लो समय शिक्षाको दायरा बढेको छ, शिक्षितहरूको संख्या पनि बढको छ । तथापि त्यो शिक्षा दुई मुख्य कुरामा केन्द्रित हुन सक्यो भने त्यसले मुलुकमा एउटा जागरण सृजना गर्न सक्छ । जागरण भनेको यस्तो कुरा हो जसले एउटा व्यक्ति, समुदाय, वा मुलुकलाई चिन्ने क्षमता विकास हुन सक्दछ । त्यो भनेको आफ्नो महत्व, आफ्नो क्षमता र आफ्नो लक्ष्य तय गर्ने हैसियतको विकास हुनु हो । जुन अहिलेको अवस्थामा निकै कम छ र त्यसैको परिणाम मुलुक कमजोर पनि भएको छ । यही कारणले राजनीतिक आवरणका अपराधिक व्यक्तिहरूले शासन गर्ने तहमा पुगेर जनतालाई ठग्न सफलता हासिल गरिरहेका छन् ।

फेरि पनि जोड दिएर भन्न सकिन्छ, जागरणका लागि पहिलो कुरा शिक्षा नै हो । त्यो शिक्षा साधारण विद्यालयमा मात्र सिमित भएर त्यसबाट उपलब्धि हासिल हुने सम्भावना रहँदैन । त्यसका लागि हरेक घरमा शिक्षाको ज्योति बाल्न आवश्यक छ । त्यो भनेको हरेक घरका नारीहरू शिक्षित हुन आवश्यक हुन्छ । किनभने जब एउटा बच्चा जन्मिन्छ, उसको पहिलो शिक्षक भनेको आमा हुन्छिन् । आमाबाट बच्चाले जे कुरा सिक्छ, त्यसले नै उसको भविष्य कता जान्छ भन्ने कुरा तय गर्छ । औपचारिक रूपमा विद्यालयमा गएर प्राप्त गर्ने शिक्षा भन्दा घरबाट प्राप्त हुने शिक्षा र ज्ञानले उसको जीवनमा निकै ठूलो अर्थ राख्छ । त्यसैले प्रत्येक घरमा आमाहरू अर्थात नारीहरू शिक्षित हुनु आवश्यक छ । आमा शिक्षित हुनु भनेको एउटा परिवार नै शिक्षित हुनु हो । शिक्षित परिवारमा जन्मिएको व्यक्ति अवश्य पनि अरुको तुलनामा जागरुक नै हुन्छ र उसलाई परिवार, समाज, र मुलुकप्रतिको दायित्वबोध पनि हुन्छ । जसले गर्दा उसलाई मुलुकको विकासपप्रति बढि चासो र जानकारी हुन्छ नै । साथै उसमा मुलुकको विकास र समृद्धिप्रतिको भोक जगाउन सजिलो पनि हुन्छ ।

अर्काे कुरा भनेको आम रूपमा जनतामा मुलुकप्रतिको जागरणको चेत बसाल्नु हो । आज युवाहरू शिक्षित त बनेका छन्, तर ती युवाहरूलाई मुलुकको अवस्था वा सम्भावना भन्दा बढी विदेशको मोह देखिन्छ । नेपालका बारेमा सामान्य चेत नभएको युवाले विदेशका बारेमा राम्रोसँग व्याख्या गर्न सक्छ । आजको मुख्य समस्या भनेको यही हो । भविष्यका कर्णधार भनेका युवामा मुलुकको अवस्था, क्षमता र भविष्यका बारेमा रत्तिभर जानकारी छैन र चासो पनि छैन । जबसम्म एउटा नागरिकलाई मुलुकप्रतिको दायित्वबोध हुन सक्दैन र मुलुकको सामथ्र्य के हो भन्ने कुरा जानकारी हुँदैन, मुलुक कहिले पनि अघी बढ्न सक्दैन । यसको अर्थ राजनीतिक प्रचारबाजीबाट मुलुकको परिवर्तन सम्भव छैन भन्ने पनि हो । त्यसको लागि जनतामा मुलुकको संस्कृति, सामथ्र्य, महत्व र भविष्यका बारेमा चेतना जगाउन आवश्यक छ । यसका लागि घर–घरमा पुगेर जागरण अभियान थालनी गर्नु नै आवश्यक देखिन्छ ।
देश के हो ? देशको इतिहास के हो ? हामी कुन धरातलमा छौँ ? यहाँ किन विकास र समृद्धिको ढोका खुल्न सकेन ? यसमा दोषी को हो ? देशको भविष्य के छ ? प्रत्येक मानिसका लागि उसको धरातल, इतिहास र परम्परा किन आवश्यक छ ? मुलुकको इतिहाससँग त्यहाँको परम्परा र संस्कृतिको सम्बन्ध जोडन किन आवश्यक छ ? मुलुकलाई समृद्धिको बाटोमा कसरी अघी बढाउन सकिन्छ ? यस्ता विषयमा देशव्यापी रूपमा जागरण ल्याउने हो भने हरेक व्यक्तिले हाम्रो मुलुकको महत्वलाई बुझ्न सक्छ र सिरोधार्य गर्न पनि सक्छ । जागरणसंगै रोजगारी सृजनाका लागि अभियान पनि त्यतिकै महत्वपूर्ण हुन्छ । रोजगारी सृजनाका लागि विदेशीको नक्कल नगरेर नेपालको पहिचान कसरी विस्तार गर्ने भन्नेतर्फ ध्यान पु¥याउन सकियो भने जागरणको महत्व पनि देखिनेछ । यस्ता विषयलाई हचुवाको भरमा वा तत्काल लोकप्रियता हासिल गर्ने अर्थमा नभएर दीर्घकालीन रूपमा अर्थ राख्नेगरी जागरण ल्याउन आवश्यक छ । जनतामा मुलुकप्रतिको महत्व बुझाउने गरी जागरण ल्याउन सकिएन भने विकास र समृद्धि फगत नारा वा कोरा सपना मात्र हुनेछन् । यसका लागि राजनीतिक दल, बौद्धिक जगत र सम्बन्धित क्षेत्रका विज्ञहरूले संयुक्त रूपमा सहकार्य गर्दै अघी बढ्न जरुरी हुन्छ । यो नै नेपाल निर्माणको प्रारूप पनि हुन सक्छ । अझै पनि हामी तथ्य भन्दा मिथ्यालाई नै विश्वास गर्दै अघी बढ्ने हो भने विकास र समृद्धिको सपना केवल जनतामा भ्रम छर्ने माध्यम मात्र हुनेछन् । -ramanpreeti033@gmail.com-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here