सीके राउतले पालेको भ्रमबाट उत्पन्न नेपालीहरूको हतास मानसिकता !

47

– चन्द्रप्रकाश बानियाँ

संविधान संशोधनीय दस्तावेज हो । आवश्यक संख्याको बहुमतबाट संवैधानिक प्रावधानहरू परिवर्तन हुन सक्छन् । संसदको दुईतीहाई बहुमतबाट संविधानमा आमूल परिवर्तन गर्न सकिन्छ । वर्तमान सरकारसँग स्पष्ट दुईतीहाई बहुमतको समर्थन छ । यो सरकारले संविधान शंसोधन गर्ने सामथ्र्य राख्दछ । तर हेक्का राख्नुपर्ने कुरा के हो भने विना संशोधन संवैधानिक प्रावधानहरू मिचेर हिड्ने अधिकार दुइतीहाईवाला सरकारलाई हुदैन । कुनै संवैधानिक व्यवस्थाले कुनै कार्य विशेषमा वाधा पु¥यायोे भने अथवा सरकारलाई संशोधन गर्नुपर्ने आवश्यताबोध भयो भने पहिले संविधान संशोधन गरेर कार्यमा वाधा पु¥याउने संवैधानिक व्यवस्था हटाउनु पर्छ । विना संशोधन संविधान उल्लङघन गर्ने अधिकार सरकारसँग हुदैन ।

यतिखेर सीके राउतसँग सरकारले गरेको सम्झौताको दुई नम्बर बुँदामा परेको ‘जनअभिमत’ भन्ने शब्दको चर्चा निन्दा नेपाली समाजमा चलिरहेको छ । वास्तवमा शब्दको परिभाषा शब्दकोषहरूले गर्ने हो । व्यक्ति व्यक्तिले कुनै शब्दविशेषको मनगढन्ते परिभाषा गर्नुको कुनै अर्थ छैन र सरकार र राउत पक्षले सार्वजनिकरूपमा परिभाषा दिनुपर्छ भन्ने कुराको पनि कुनै तुक देखिदैन । शब्द निर्जीव हुन्छ । कुनै दिन आफै जागेर त्यसले समाजमा उधुम मच्चाउन सक्तैन । अर्थात शब्दविशेषले स्वतन्त्ररूपमा नास्ने, मास्ने वा बिगार्ने काम गर्दैन । अधिकांश शब्दहरूका अनेक पर्याय हुन्छन् । त्यसैले बहुअर्थी शब्दको प्रयोग र परिभाषा सन्दर्भविशेषमा खोजिने हो । अर्थात कुनै कामकाजी दस्तावेजमा परेको शब्दको परिभाषा त्यसको कार्यान्वयन कसरी वा कुन अर्थमा गरिन्छ भन्ने कुराले निर्धारण गर्दछ । अथवा शब्दको परिभाषा तत्कालको कर्मले गर्दछ । सामान्यतः अभिमत भनेको ‘राय’ हो । जनताको फैसला भन्ने अर्थमा पनि शब्दको प्रयोग हुनसक्छ । जनमत अर्थात जनताको रुचि अभिव्यक्त गराउने वा मापनगर्ने विभिन्न माध्यमहरू हुन सक्छन् । त्यसको एउटा रूप “जनमतसंग्रह” हुनसक्छ । जनअभिमत प्रकट गर्ने माध्यम केवल ‘जनमतसंग्रह’ मात्रै हो भन्नु कि त शब्दको अर्थ नबुझ्नु हो, कि भने बुझ पचाउनु हो । जनअभिमतले केवल जनमतसंग्रह मात्र भन्ने एकल अर्थ दिन्छ भनेर मानिने भैदिएका भए सर्वसाधारणमा परिचित शब्द जनमतसंग्रहको नै सम्झौतापत्रमा प्रयोग गरिन्थ्यो होला ।

प्रधानमन्त्रीको अनावश्यक र हल्का टिप्पणीहरू सार्वजनिक गर्दै हिड्ने स्वभावले सरकारको विश्वसनीयतामा असर पु¥याएको कुरा सत्य हो । त्यसैले लिखितममा आएको विषयभित्र कुनै गोप्य सहमति वा रहस्य लुकेको छ कि भन्ने शंका समाजमा उत्पन्न हुन गयो । सरकारको आशय जनमतसंग्रहमा जाने नै थियो भने पनि दस्तावेजले त्यो कुरा स्पष्ट गर्दैन । त्यो विषय जनमतसंग्रहमा लैजान संविधानले अनुमति पनि दिदैन । यदि सरकारको मनसाय सीके राउतको माग जस्ताको तस्तै पूरा गरिदिने रहेछ भने पनि त्यसका लागि पहिले संविधान संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधनका लागि संसदमा विधेयक प्रस्तुत गरिएला । हो, त्यतिबेला सरकारको नियतमा प्रश्न उठाउन सकिन्छ, विरोध गर्नुृ स्वभाविक हुन्छ । खासगरेर, नेकपाका सांसदहरूले यतिखेरै उतर्सिनुको कुनै अर्थ देखिदैन । दुईतीहाईविना संविधान संशोधन हुनसक्तैन । देश विखण्डनको प्रयत्न जघन्य देशघात हो । देशघाति कर्ममा ओलीको सतीजान तयार हुने कति सांसद होलान ? उसो त स्वयम प्रधानमन्त्री समेतले त्यत्रो जघन्य अपराध कुन कारणले गर्न अघिसर्लान भनेर कल्पना गर्न सकिन्छ र ? त्यसैले यतिखेर चलेको रुवावासी र हल्ला खल्ला दन्यकथाको खरायोले “आकाश खस्यो” भनेर चलाएको हल्ला जस्तै हो ।

विषयको अर्को पाटो फर्काउँ । सीके राउतले सरकारसँग आफूले गरेको सम्झौताबाट अलग मधेस राज्य निर्माणको ढोका खोलियो भन्ने ठानेका हुन् भने त्यो सर्वथा मिथ्या भ्रम हो । एकताका हाम्रा प्रधानमन्त्रीले तीन महिनामै काठमाडौ शहरका घरघरका चुलाचुलामा भूमिगत ग्यासका पाइपलाइन जोडिदिन्छु भन्ने हल्ला गर्थे र उनको कुरा पत्याउने मानिसहरू मुर्ख ठहरिन धेरै समय लागेको थिएन । सीके राउत पनि त्यसरी नै झुक्किएका रहेछन् भन्नुपर्ने हुन्छ । पहिलो कुरा उनको माग वर्तमान संविधानबाट पूरा हुनै सक्तैन । दोश्रो कुरा नेपालको वर्तमान संसद भारतीय गुप्तचर संस्था “र“द्वारा प्रायोजित तत्कालीन सिक्किमको संसदजस्तो होइन । सरकार वा अरु कसैको इशारामा देशको सार्वभौमिकता र अखण्डतामा आँच पु¥याउने विषयमा आँखा चिम्लेर ल्याप्चे ठोक्न तयार हुनेछैन । होइन, राउतले स्वतन्त्र मधेस राज्य निर्माणको सपना त्यागेका हुन् भने स्वागतयोग्य कुरा हो । सम्झौतामा परेको जनअभिमतको व्याख्या आपूm अनुकूल गरेर आफ्नो पूर्व अभियानमा यथावत लाग्नुको अर्थ ‘घुमिफिरी रुमजाटार’ भनेजस्तो फेरि कारागारको चिसो भुई रोज्नु हो । त्यस्तो मनशायले उही पुरानै गोलचक्करमा फसाउने छ । अर्थात कहिले भित्र र कहिले बाहिर गर्ने नियतिलाई निरन्तरता दिने छ । सीके राउतले हिजो अख्तियार गरेको बाटोले स्वतन्त्र मधेस प्राप्त हुने होइन, कारागारको ढोकामा पु¥याउने मात्र हो । त्यो कुरा उनले नबुझेका होलान्जस्तो लाग्दैन । जानीजानी फेरि पनि भीर खोज्नेलाई कसले कतिञ्ज्याल काँध थाप्न आउला र ? काँध नथाप्ने मात्र होइन, अव फेरि ‘राम, राम’ भन्न पनि छोडिदिने छ । जानिबुझिकनै पनि सीके राउत त्यही पुरानो बाटो हिड्न चाहन्छन् भने उनको खुसीराजीको कुरा हो ।
आफूले समातेको डोरेटोले पु¥याउने अन्तिम गन्तव्यको पहिचान भैसकेपछि पनि बारम्बारर उही बाटो हिड्ने गल्ती गर्ने राउत एक्लो र पहिलो मानिस भने होइनन् । नेपालमा त्यसखालका उदाहरणहरू अनेकौं फेला पर्छन् । प्रचण्ड नेतृत्वको माओवादी आन्दोलनले एकपटक उत्कर्ष छोएको थियो । माओवादीको कब्जामा देश ‘आजै पुग्छ, भोलिनै पुग्छ’ भनेजस्तो अवस्था सतहमा देखिन्थ्यो । भारतले अडभरोसा झिकिदिनासाथ आन्दोलन कर्कलाको पानी जस्तो बन्यो । १२ बुँदे सभ्झौतामा पुग्न वाध्य बन्यो । मदन भण्डारीको बहुदलीय जनवाद नामको नीतिले एमालेलाई जुन ठाउँमा पु¥याएको थियो १२ बुँदे दिल्ली सम्झौताले माओवादीलाई पनि उही ठाउँमा पु¥यायो । बहुदलीय जनवादी बाटो भन्दा दिल्ली सम्झौताको बाटो निकै ‘द्रुत’ ठहरियो । बहुदलीय जनवादी टाँगाले तय गरेको दुरी दिल्ली सम्झौताले चिनियाँ चुच्चे (विद्युतीय) रेलकै गतिमा माओवादीलाई पतनमार्गमा कुदायो । त्यो ‘परीकथा’ले विप्लव मोओवादीको नाममा टाउको उठाउन थालेको छ । निर्धक्क भन्न सकिने कुरा कति रहन्छ भने प्रचण्डको माओवादीले १० वर्षमा प्राप्त गरेको उचाई पछिल्लो आन्दोलनले दोब्बर समयमा पनि प्राप्त गर्न सक्नेछैन । किनकि वस्तुगत धरातल बदलिएको छ । भैगो, ढिलोचाँडो त्यहाँसम्म पुगेछ भने पनि टुङ्गिने त उही ‘….बुँदे सम्झौता’ मै हो । खुब बढी उपलब्धी भयो भने सम्झैताको भूमि नेपाल हुनेछ र सम्झौताका बुँदाको संख्यामा तलमाथि होला । बस्, । अन्तिम परिणति त्यही हो । एउटा बाटोले गन्तव्यमा पु¥याएन भने बाटो बदल्ने खुवी चाहिन्छ । विप्लव माओवादीमा त्यस्तो छनक देखिएको छैन । उही पुरानै बाटो हिँडेर फेरि अर्को एकपटक पहरामा टाउको ठोक्काउनुको के प्रयोजन रहन्छ र ? सायद, अन्तिम परिणतिको हेक्का भए पनि मान्छेले उही कहिल्यै सफल हुन नसक्ने परीक्षित बाटो हिड्न अभिशप्त हुँदो रहेछ । सीके राउत पनि त्यही बाटो हिड्न चाहेका रहेछन् भने दया देखाउनु वा टिठयाउनुपर्ने आवश्यकता रहने छैन ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here