नक्कली शैक्षिक प्रमाणपत्रको लहरो राजनीति क्षेत्रतिर पनि तान्ने कि ?

21

– राज्यलक्ष्मी शाक्य
मानिसको योग्यता र कार्यक्षमताको प्रमाणको रूपमा मानिने शैक्षिक प्रमाणपत्र आजकाल बजारमा छ्याप छ्याप्ती पाइने गरेको खबरले देशको विकास यस्ता गुस्तरहीन योग्यता भएकाहरूबाट कसरी सम्भव होला भनेर चिन्ता गर्नुपर्ने अवस्था सृजना भएको छ । कर्मचारीहरू र शिक्षकहरूका मात्र नभएर चिकित्सक र सुरक्षाकर्मीसमेतका नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका खबर आइरहँदा नक्कलीको लहर राजनीतिक क्षेत्रमा किन प्रवेश गर्न सकेको छैन भन्ने जिज्ञासा सबैमा देखिन्छ । राजनीतिकर्मीहरूलाई शैक्षिक योग्यताको मापदण्डभित्र नराखिएको हुँदा उनीहरूको शैक्षिक प्रमाणपत्रबारे सोधखोज भएको पनि देखिदैन । तर राजनीतिकर्मीहरू पनि नक्कली शैक्षिक प्रमाणपत्रका बाहक नहोलान् भन्न सकिने अवस्था छैन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर आफू योग्य छु भन्ने भ्रम छर्नेहरू कुशल कार्य गर्न सक्दैनन् । यो रोग राजनीतिमा सबैभन्दा प्रभावकारी देखिएको छ । बिना योग्यताको डाक्टर चिकित्सा पेशामा लाग्दा त्यो पेशामा कस्तो प्रभाव पर्ला ? बिना योग्यताको इन्जिनियरले घर , सडक आदि निर्माण गर्दा के होला ? एक पल्ट यो विषय गम्भीरतापूर्वक सोच्ने पो हो कि ?

जागिर खानकै निम्ति नक्कली प्रमाणपत्र बनाउनेको संख्या बढ्दै गएको पाइन्छ । नक्कली शैक्षिक प्रमाणपत्रधारीले के सफल कार्य गर्न सक्ला त ? यस्ता नक्कली शैक्षिक प्रमाणपत्र लिएर जागिर गर्नेहरू सदैव घातक सावित हुन्छन् । राजनीतिकर्मीहरू नै नक्कली प्रमाणपत्रधारी भए भने काम गर्ने संस्थादेखि लिएर पूरै देशको नीति निर्माणकर्ताहरू समेत देशकै लागि घातक बन्ने निश्चित हुन्छ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेमा जागिर खान चाहनेले मात्र होइन आफ्नो उच्च पदमा बढुवाको लागि समेत नक्कली प्रमाण पत्र बनाएर योग्यताको प्रमाणपत्र बनाउने गरेको पाइन्छ । उच्च पद हासिल गर्नको लागि प्रतिष्ठित पदमा रहेका कर्मचारी नै यस्ता कार्यमा संलग्न रहेको खुलासा भएको छ । यो अवस्था देशको लागि वास्तवमै चिन्ताजनक हो ।

भर्खरै मात्र बढुवाको लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने प्रहरी अधिकृत विरुद्द मुद्दा दायर भएको हामीलाई थहा नै छ । यस अघि केही साता अगाडि मात्र शहरी विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल निकास विभाग, पानीपोखरी काठमाडौंका सिडिई मोतिउर रहमानविरुद्ध नक्कली शैक्षिक प्रमाणमा मुद्दा दायर गरिएको खबर आएको थियो । यस्ता प्रतिनिधिमूलक घटनाहरूले नै देशको अवस्था कस्तो छ भन्ने प्रमाणित हुन्छ ।

अख्तियारमा नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खानेदेखि बढुवा हुने कर्मचारीविरुद्धको मुद्दा चाङ लाग्ने गरेको छ । नक्कली कागजपत्रको बिगबिगी कति गहिरो छ भन्ने यहीबाट प्रष्ट हुन्छ । तर राजनीति गर्नेहरूको नक्कली प्रमाणपत्रको छानबिन अहिलेसम्म भएको पाइएको छैन । नेपालको परिप्रेक्षमा यो अति नै महत्वपूर्ण र गर्नैपर्ने काम बनिसकेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेमा चिकित्सक, प्रधानन्यायाधीशदेखि प्रहरी, शिक्षक र अन्य कर्मचारीको नामावली सूचीकृत छ । तर सबैलाई आश्चर्य तुल्याउने गरी नेताहरूका गतिविधिहरूमै केन्द्रित भएर विश्लेषण गर्ने हो भने नेताहरूका नक्कली अनुहार पर्दाफास हुने निश्चित छ । सबैलाई योग्यता चाहिने तर नेता बन्न योग्यता आवश्यक नहुने किन भयो ? यो गम्भीर विषय हो ।

विभिन्न सरकारी कार्यालय, संस्थान र शैक्षिक निकायमा कार्यरत कतिपय कर्मचारीहरूले अनुचित लाभ लिने उद्देश्यले सुरुको नियुक्ति र पछि बढुवाका लागि पेस गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरूका सम्बन्धमा आर्थिक वर्ष २०७४-०७५ मा मात्रै कूल ६४ वटा मुद्दा दायर भएको तथ्यांक सार्वजनिक भएको छ । अख्तियारमा उजुरी परेका नक्कली शैक्षिक प्रमाणपत्रहरू अधिकांश भारतीय बोर्ड तथा विहारबाट मान्यता प्राप्त रहेको पाइएको छ । अख्तियारमा उजुरी परेका यी केही शैक्षिक प्रमाणपत्र बाहेक कडाइका साथ अनुसन्धान भयो भने उक्त संख्या अझै बढ्ने निश्चित छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २८ औं वार्षिक प्रतिवेदन २०७४-०७५को तथ्यांक अनुसार नक्कली प्रमाणपत्रको मात्रै ३३ प्रतिशत मुद्दा दर्ता भएको पाइएको छ । यसमा राजनीति क्षेत्र पनि जोडिने हो भने संख्या कति पुग्ला ?- rajyalaxmishakya- जनधारणा साप्ताहिक

NO COMMENTS

LEAVE A REPLY