कोसी ब्यारेजमा नेपालको कुनै अधिकार छैन : सीमाविद् बुद्धिनारायण श्रेष्ठ

3

काठमाडौं / कोसी ब्यारेजका ५६ वटै ढोका चर्चा र विवादको विषय बन्ने गरेको छ । ५६ ढोका खोलिएको समाचारप्रति सीमाविद् बुद्धिनारायण श्रेष्ठ कडा असहमति जनाउँछन् ।  ‘ब्यारेजका ५६ ढोका कहिल्यै पनि खोलिँदैन । मुख्य कुरा के हो भने कोसी ब्यारेज नेपालको नियन्त्रणमा छैन, भारतको नियन्त्रणमा छ,- उनी भन्छन् ।

उनका अनुसार सम्पूर्ण नियन्त्रण भारतको पटनाबाट हुन्छ । कति ढोका खोल्ने र बन्द गर्ने भन्ने निर्णय पटनाबाटै हुन्छ । पटनाकै आदेशमा ब्यारेजमा रहेका कर्मचारीले ढोका खोल्ने र बन्द गर्ने गर्छन् । ‘यस्तो अवस्थामा यति ढोका खोलियो र उति ढोका बन्द गरियो भन्दै नेपालका सरकारी अधिकारीहरूको हवाला दिँदै समाचार दिनुको के अर्थ हुन्छ ?’, बुद्धिनारायण प्रश्न गर्छन् ।

नेपालमा वर्षापछि आउने बाढीमा पनि राजनीति हुन्छ । यस्तो राजनीति मुख्यगरी कोसी बाँधमा देखिने गरेको छ । कोसीले भारतको बिहार राज्यमा डुबान गर्छ । यसैकारण कोसीलाई बिहारको दुःख समेत भनिन्छ । कोसी बाँधको ढोका नेपालले खोल्ने र बन्द गर्ने गर्छ भनी भारतभित्र प्रचार गर्ने गरिएको छ । आफ्ना कारणले नभएर नेपालका कारणले बिहारमा डुबान भएको भनी भारत सरकारले यसरी प्रचार गर्ने गरेको छ ।

भारतीय जनतालाई गुमराहमा राख्न गरिने यस्तो प्रचारको औजार नेपाली मिडिया बन्ने गरेका छन् । अहिले भारतीय सञ्चारमाध्यमहरूमा नेपालले ब्यारेजको ढोका खोल्नाले बिहारमा बाढी आयो भनी व्यापक समाचार आइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका समाचारलाई पुष्टि गर्ने गरी नेपाली सञ्चारमाध्यमहरूले जानाजान तथा भ्रममा परेर समाचार दिइरहेका छन् ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको कोसी बाँध सन् १९५८ मा बन्न सुरु भएर सन् १९६२ मा सम्पन्न भएको हो । सन् १९६५ मा नेपालका तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुरले संयुक्त रुपमा उद्घाटन गरेको ब्यारेजमा ५६ वटा पानी नियन्त्रण गर्ने ढोका छन् ।

निर्माण गर्दा ३० मिटर अग्लो बाँधमा अहिले बालुवा र माटो भरिएर करिब १५ मिटर मात्रै भएको सीमाविद् बुद्धिनारायण जनाउँछन् । कोसी बाँध नेपालमा भए पनि कोसी बाँध आयोजना निर्माण गर्दाताका गरिएको सम्झौताअनुसार यसको सम्पूर्ण नियन्त्रण अधिकार भारतसँग छ । आयोजना निर्माण गर्दा एक सय ९९ वर्षका लागि सम्झौता गरिएको थियो ।

नेपालको अधिकार बाटोमा मात्र :एक हजार एक सय ७५ मिटर लामो यो ब्यारेजमा बनेको बाटोले पूर्वपश्चिम राजमार्गलाई जोड्छ । यही बाटो हुँदै कोसी पूर्वका जिल्लाका मानिस काठमाडौंलगायत पश्चिम क्षेत्र आउजाउ गर्छन् । कोसी ब्यारेज बनेपछि नेपाललाई फाइदा भएको भनेको यही एउटा बाटो मात्र हो । नेपालले पाएको एउटा मात्रै अधिकार भनेको यही बाटो हो । त्यसबाहेक कोसी ब्यारेजमा नेपालको कुनै अधिकार नभएको जनाउँछन्, बुद्धिनारायण।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here