किन धनी बन्न चाहन्छन् ओली र प्रचण्ड ?

94

कम्युनिस्टहरू कमाउनिस्ट नभएर साच्चिकै जनता र सर्वहारावर्गको मुक्ति र हितका लागि लड्नुपर्ने राजनीतिक चिन्तन भएका व्यक्तिहरू हुन् भन्ने मान्यता समाजमा अझै पनि कायमै छ । यही मान्यताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका सत्ता र पार्टीका सारथी पुष्पकमल दाहालले राजनीति गरेका भए नेपाल अहिलेको अवस्थामा सर्वहारावर्गको मुक्तिको सवालमा नभएपनि हितको गन्तव्यमा पाइला चालिसकेको देखिने थियो । यत्तिमात्र भइदिएको भए आज नेपाली जनताबाट ओली र प्रचण्डका विरुद्धमा गाली भन्दा ताली र फुलमाला वर्षिरहेका हुनेथिए पक्कै ।

प्रधानमन्त्री ओलीको वि.सं २०२८ देखिको अठोट र दाहालको ०५२ पछिको परिवर्तनको चाह वास्तवमै जनताको हितमा नै थियो भनेर विश्वास गर्न सकिन्छ । आजसम्म पनि उहाँहरूको सोच त्यसो भएको भए कम्युनिस्टको दुई तिहाई सरकार बन्दा समेत जनताले के चाहीँ पाउँदैन थिए होला र ? दुवैजना कम्युनिस्ट, दुवै जना जनताप्रति चिन्तित, दुवैको चाहना जनतालाई सर्वे सर्वा बनाउने, दुवै जना देशभक्त ! तर उहाँहरूले शक्तिशाली सत्ताको बागडोर सम्हाल्दा पनि देश कता जाँदैछ भनेर सन्त्रासको वातावरण बनिरहेको छ भने जनताको अवस्था के छ ? भनिरहनुपर्ने अवस्था छैन । एउटा कुरा सत्य हो, जनताका चाहना र आकांक्षालाई सम्बोधन गर्न सत्तामा पुग्ैपर्छ । राजनीतिक दल शक्तिशाली हुनुपर्छ । ओली र दाहाललाई अहिले दुवै कुरा मिलेको छ । व्यक्तिगत रूपमा प्रधानमन्त्री ओली र अर्का सारथी दाहालले जे जति नाम कमाएका छन्, त्यसभन्दा बढी कमाउनुपर्ने कुनै कुरा छैन, तर जनताका लागि गर्छाैँ भन्ने उहाँहरूको प्रतिवद्धता कहाँ हरायो ? जनताका पक्षमा काम गर्न कसले रोकेको छ यी दुई शीर्ष नेतालाई ?

कमजोर आर्थिक अवस्थाबाट उठेर आएकै भएपनि उहाँहरूको जीवनशैली कुनै अर्बपतिको भन्दा कम छैन, जनताले पेट काटेर राज्यलाई बुझाएको करबाट पालिएका सुरक्षाकर्मी र सेवा सुविधा पनि उहाँहरूले पाइरहनु भएकै छ । जनताको समर्थन पाएरै नेकपा शीर्ष दल बनेको हो भने दुई तिहाइको सरकार बन्ने वातावरण पनि जनताकै मत र विश्वासका कारण सम्भव भएको हो । तर हिजो जनतासँगै बाँच्ने र जनतासँगै मर्ने कसम खाएका उहाँहरू आफैलाई साथ दिएका जनता जीवन र मरणको दोसाँधसंग लडिरहँदा पनि अल्मलिइरहेको अवस्था छ । व्यक्तिगत रूपमा ओली र दाहालले नाम र दाम जे जति आर्जन गरेका भएपनि अब यसभन्दा बढी प्राप्त गर्नुपर्ने के छ ? किन अझै पनि उहाँहरूले जनतालाई भ्रममा पार्न छोड्नु भएको छैन ।

एउटा सच्चा राजनीतिज्ञका लागि मुलुक र जनताभन्दा ठूलो अरु केही हुनै सक्दैन । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने शक्तिशाली मुलुकका सरकार प्रमुख, राष्ट्रप्रमुखको जीवनशैली र अवकाश पछि उनीहरूले अवलम्बन गर्ने जीवनशैली साच्चिकै जनताका लागि प्रेरणादायी हुन्छ । उनीहरू मुलुकका लागि त पूँजीवादको वकालत गर्छन् तर व्यक्तिगत जीवनमा समाजवालाई अनुशरण गरिरहेका हुन्छन् । तर हाम्रोमा सिद्धान्ततः समाजवादको कुरा गर्ने ओली र दाहाल व्यक्तिगत रूपमा पूँजीवादतर्फ किन आकर्षित भइरहेका छन् ? बुझ्न सकिएको छैन । जनतालाई अधिकार सम्पन्न गराउँछौँ भन्दै पूँजीवादको विरोध गर्ने उनीहरू आज जनताबाटै असुरक्षित हुनुपर्ने र पूँजीवादतर्फ आकर्षित हुनुपर्ने अवस्था किन र कसरी आयो ? यसका पछाडी एउटै कारण देखिन्छ । सत्ता, शक्ति र द्रव्य मोहका साथ विलासी जीवनशैली । आफैले विरोध गर्दै आएको भ्रष्टाचार, अनियमितता र घुसखोरी जस्ता अनैतिक गतिविधिमा समेत नियन्त्रण गर्न नसक्नु बरु संरक्षणतर्फ लाग्नुका पछाडि गैरकानुनी र अनैतिक ढंगबाट आर्जन गरेको धनमा समेत शीर्ष नेताहरूको साझेदारी हो भन्ने कुरा स्पष्टै देखिएको छ । अनैतिक ढंगले धन आर्जन गर्नेहरूको पृष्ठभूमि र सम्पर्क सत्ता र शक्तिकै आसपास देखिनुले पनि यसलाई पुष्टि गर्छ ।
पछिल्लो समय प्रचण्ड र ओलीमा राज्यलाई कसरी शसक्त बनाउने ? जनतालाई कसरी खुसी र सुखी बनाउने ? मुलुकलाई कसरी समृद्ध र विकासको बाटोमा अघी बढाउने ? भन्ने भन्दा बढी चिन्ता व्यक्तिगत स्वार्थ, धर्न आर्जन र आसेपासे र आफन्तलाई कसरी माथि पुर्याउने भन्नेमै केन्द्रित देखिन्छ । परिवारवाद , नातावाद र विलासी जीवन यसकै परिणाम हुन् । शक्तिशाली सरकार र पार्टी हुँदा पनि दुई शीर्षनेताहरू निरिह जस्तै मात्र होइन जनताको नजरमा घृणित पात्रका रूपमा चित्रित हुँदै गइरहेका छन् । यी दुई नेताले इमान्दारीका साथ काम गर्दा पनि अहिलेको जीवनशैली र प्राप्त गर्दै आइरहेको सेवा सुविधामा कटौति गर्नुपर्ने अवस्था देखिदैन । बरु जनताका माझमा सम्मानित भएर जीवनभर जनताको सेवामा समर्पित गर्ने अवसर उनीहरूसँग छ, तर बिडम्बना ! सहजै जनताको मनमा बस्न सक्ने अवस्थालाई यी दुवै नेताले पन्छ्याउन खोजिरहेको देखिन्छ ।

एउटा कुरा के चाहीँ सत्य हो भने अहिले ओली र प्रचण्डमा देखिएको सत्ता, शक्ति र द्रव्यप्रतिको मोहले कुनै समयमा उहाँहरूले मुलुकको परिवर्तनका लागि ठूलो त्याग गरेका भएपनि आजका गतिविधिले त्यो त्यागको इतिहास समाप्त भइसकेको अवस्था छ । खलनायक र घृणित पात्रका रूपमा चित्रित हुने अवस्था विकसित भइरहेको छ । जनताको मनमा सम्मानित नेतृत्व बन्ने अवसरलाई गुमाउँदै यी दुवै नेताले आफ्नो वर्ग चरित्रलाई गलत कित्तामा स्थापित गराउँदै छन् भन्ने स्पष्ट भइरहेको छ । इतिहास र भविष्यको फराकिलो बाटो देख्दा देख्दै पनि भिरमै हामफाल्न खोजिरहेका यी दुवै नेताहरूप्रति आशा र विश्वास गर्न जनताले अझै छोडेका छैनन् । यी दुवैले बाटो सच्याएर जनतालाई आश्वस्त हुने काम गरिदिए कति जाति हुन्थ्यो ? अहिलेको परिस्थितिमा ओली र प्रचण्ड जानी जानी भिरमा हाम फाल्न गइरहेको भान यो पंक्तिकारलाई पनि भइरहेको छ । आगे ओली र प्रचण्डकै चेतना भया !- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here