रेमिट्यान्सले होइन युवाहरुका पाखुराले देश समृद्ध बन्छ

17

-राज्यलक्ष्मी शाक्य
नेपाली युवाहरु देशमा रोजगारीको अभावका कारण विदेशीन बाध्य भइरहेका छन् । यस्तो किन भइरहेको छ भन्नेबारे सरकारले बुझ्न जरुरी छ । नेपालको अवस्था देखेर दिनप्रतिदिन विदेशीने संख्याको क्रम बढ्दै गएको छ । हालैमात्र कोरिया परीक्षामा सहभागी भएका ९२ हजार ३ सय ५६ युवा जनशक्तिलाई हेर्दा देशमा रहेका युवा जनशक्तिको विदेश मोह अत्यधिक रहेको पाइन्छ । कोरियाले एक हजार ५० जना कामदारको कोटा दिएको थियो जसमा १२ हजार ९ जना परीक्षार्थी पास भएका थिए । दुईतिहाई बहुमतको वर्तमान सरकार गठन भएपछि आत्मनिर्भरतातर्फ दरिलो कदम चाल्ने आशा गरिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमले जनता रोजगारी गर्दै आफ्नै देशमा श्रम गर्न उत्साहित हुनुपर्ने हो । तर त्यो अवस्था देखिएन । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा जनताको विदेश मोह अत्यधिक बढेको बुझ्न सकिन्छ । सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेको छ । तर यो परिकल्पना साकार पार्ने प्रयास सरकारको देखिदैन ।

जनताको जीवनस्तर माथि उठाउने प्रयास गर्नुपर्नेमा सरकारले केही गर्न सकिरहेको छैन । जीवनस्तर माथि उठाउनका लागि देशभित्र रोजगारीको अवसर नै महत्वपूर्ण कुरा हो । युवाहरु देश निर्माणका आधार हुन् । युवाहरुलाई नै विदेशीन बाध्य गराएपछि देशलाई समृद्ध कसले बनाउने ? अधिकांश युवाहरु वैदेशिक रोजगारीमा संलग्न भएको कारणले ग्रामिण भेगका उर्वर जमिनहरु बाँझोमा परिणत भएको अवस्था छ । स्वदेशी उत्पादनहरु नभएका कारण नेपालीहरुको दैनिक जीवन यापनका लागि आवश्यक पर्ने खाद्यान्न समेत अर्को मुलुकबाट आयात गरी परनिर्भर बन्नु परेको अवस्था छ । देश दिनप्रतिदिन परनिर्भर बन्दै गएको अवस्था छ । नेपाल कृषि प्रधान देशमा दक्ष जनशक्ति नहुँदा देश कृषिमै पनि परनिर्भर बन्दै जानु दूर्भाग्यपूर्ण अवस्था हो । किसानले आफ्नो उत्पादनको सहि मूल्य नपाउनु र विदेशी आयातमा भरपर्नुले आज विदेशबाट आयात भएका विषादीयुक्त फलफूल र तरकारी सेवन गर्न आम जनता बाध्य हुनुपरिरहेको अवस्था छ । देशमा रोजगारीको प्रभावकारी कार्यान्वयन हुन नसक्दा आजपनि देश परनिर्भर भएर बाँच्नुपर्ने अवस्था छ । देशमै दक्ष जनशक्ति परिचालन गरेर देश आत्मनिर्भर बनाउन सक्नुपर्नेमा देशको जनशक्ति विदेश पलायन भइरहेका कारण विषादीयुक्त फलफूल र तरकारी आयात गर्नुपर्ने बाध्यता विदेशी शक्तिको दबाबका कारण सृजना भएको अवस्थामा पनि सरकार लाचार बन्न पुगिरहेको छ । सरकारले दक्ष जनशक्तिलाई स्वदेशमै परिचालन गर्न छोडेर विदेशबाट रेमिटेन्स भित्रिन्छ भन्दै स्वदेशी रोजगारी भन्दा वैदेशिक रोजगारीलाई नै मान्यता दिँदै आएका कारण देश यस्तो अवस्थामा फसेको छ ।

नेपालको संविधानमै रोजगारी सम्बन्धी हकको व्यवस्था गरिएको छ । सरकारले देशलाई आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतसाधनको उपयोग गर्नुपर्दछ । देशलाई आत्मनिर्भर तुल्याउने आधारहरू देशभित्रै छन् । देशमा रहेको माटोको उचित सदुपयोग गर्दै प्राकृतिक सम्पदाको उत्खनन् र देशमा जल सम्पदाको सदुपयोग नै देशलाई समृद्ध बनाउने महत्वपूर्ण पक्ष हो । त्यसको लागि कृषि, जलविद्युत् र पर्यटनमा आकर्षित गराउँदै दक्षजनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्दछ । प्राकृतिक सम्पदाको उत्खनन् र जल सम्पदाको सदुपयोगतर्फ सरकारले योजना तर्जुमा गर्ने हो भने देशमा बेरोजगारीको समेत अन्त्य हुने निश्चित हुन्छ । नेपाल अपार जलसम्पदाको धनी देश हो । न्यूनतम लगानीमा पनि जलविद्युत् निकाल्नका लागि भौगोलिक सुविधा रहेको अवस्था विद्यमान छ । हजारौं मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता नेपालसँग रहेको छ । विद्युतलाई कृषिमा आधुनिकिकरणको विकास गर्ने काममा सदुपयोग गर्दै नेपालमै उद्योग सञ्चालन गर्न तथा छिमेकी देशमा विक्री गरेर समेत नेपालले फाइदा लिनसक्ने मात्र होइन, देशको काँचुली फेर्न सकिने अवस्था छ । त्यसका लागि यसअघि भारतसँग जलसम्पदालगायतका विषयमा भएका राष्ट्रघाती सन्धिसम्झौताहरु खारेज गर्ने हिम्मत सरकारले गर्न सक्नुपर्दछ ।

बेरोजगार भएर विदेशिएका युवाहरूलाई देशभित्रै रोजगारीको अवसर प्राप्त गर्ने वातावरणको सरकारले सृजना गर्नसके देशलाई आत्मनिर्भर बनाउने आधार पनि तयार हुनेछ । वैदेशिक रोजगारीका लागि जुनसुकै देश जानु नेपालीहरूको बाध्यता बन्दै गएको छ । यो वास्तविकतालाई सरकारले बुझेर देशभित्र रोजगारी सृजना गर्न जरुरी देखिन्छ । देशको आत्मनिर्भरता युवाहरूको श्रमशक्तिसंग जोडिएको हुन्छ । तसर्थ देशको जनशक्तिलाई स्वदेशमै परिचालन गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नतर्फ अग्रसर हुनु आवश्यक छ । धनी देशलाई कंगाल बनाउने बाटोबाट सत्ता सञ्चालकहरुले सोचमा परिवर्तन गर्न जरुरी छ । रेमिट्यान्सले देशलाई समृद्ध बनाउने भए आजको अवस्था अवश्य आउने थिएन । रेमिट्यान्सको आशा नगरेर नेपाली युवाहरुका पाखुरालाई नेपाल निर्माणमा सदुपयोग गर्ने सोचको विकास गर्न जरुरी छ । -rajyalaxmishakya@gmail.com – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here