गलत आचरण बढे नेताहरुको, मर्कामा कम्युनिष्ट कार्यकर्ताहरु ?

25

–चन्द्रप्रकाश बानियाँ
‘ठूलाले जे ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत !’ कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितात्मक उक्ति वर्तमान नेपाली समाजमा गलत सावित हुँदै जान थालेकोे छ । सायद यो युग संक्रमणकालमा छ त्यसैले पुराना प्रतिमान र उदाहरणहरु यतिखेर आदर्श मानिदैनन् । तिनीहरुप्रतिको आकर्षण र सम्मान क्षयोन्मुख हुँदै गएको छ । एउटा ताजा उदाहरण लिउँ ‘देशको सबभन्दा ठूलो मान्छेको’ ! तत्काल जनअभिमत लिने हो भने हाम्रो समाजमा सबभन्दा धेरै आलोचकहरु प्रधानमन्त्रीका फेलापर्ने छन् । प्रधानमन्त्री भनेको सानो मान्छे होइन त ? देशको कार्यकारी प्रमुखलाई सानो भन्न त मिल्दै मिल्दैन । व्यवहारमा अलिकता मात्रै आफ्नो विवेक प्रयोग गर्न रुचाउने मानिस कसैले पनि प्रधानमन्त्रीलाई आफ्नो आदर्श मान्दैन । त्यसो गर्न लाज मान्छ । परिहासको पात्र बनिन्छ कि भनेर डराउँछ । मनमनै सह्राउने, पछ्याउने र प्रशंसा गर्ने मान्छे पनि सार्वजनिकरुपमा उनको पक्षमा उभिन हिच्किचाउँछ । अरु त अरु पूर्व एमालेका सुभेच्छुक, शुभचिन्तक र पार्टी कार्यकर्ताहरुसमेत यतिखेर प्रधानमन्त्रीको कार्यशैलीबाट असन्तुष्ट देखिन्छन् । कमसेकम समाजका सामु त्यही रुपमा प्रस्तुत हुनु भलो हुने ठान्छन् । बरु छुद्र शैलीमा अरुको आलोचना गर्ने र सस्ता टिप्पणी प्रतिटिप्पणीमा उत्रने उनको वाकशैलीलाई ठिक मान्लान् तर प्रधानमन्त्रीका हैसियतले देखाउनुपर्ने कार्यकुशलता र गम्भीरता उनमा देखिएन, भएन भन्न कोही पनि पछि पर्दैन । त्यसैले ठूला मानिसहरुको आचरण र व्यवहारलाई अनुकरणीय र अनुशरणीय मान्ने हाम्रो समाजको पूर्व मान्यता र परम्परा पुरानो भएको मात्रै होइन खण्डित् पनि भएको छ भन्नु बढता हुदैन ।

राजनीतिमा ठूला मानिसले देखाएको आदर्श बाटो समातेर कहीँ पनि कोही कुनै व्यक्ति वा समुदाय सफल भएको देखिदैन । भारतीय राजनीतिले गान्धीलाई आदर्श मानेन । उनको चर्खावाद नेहरुको समाजवादमा अटाएन । यतिखेर गान्धीको मुलुकमा गोडेसेको आदर्श सत्तामा छ भन्दा संसारले अचम्म मान्ला तर वास्तविकता त्यही हो । गोडेसे सिद्धान्तको अनुयायी “स्वयम सेवक संघ” हिन्दूवादी भाजपाको आदर्श दिग्दर्शक हो । नेपालकै कुरो गर्दा पनि विपीको आदर्शले नेपाली काँग्रेसलाई सफल बनाएन । पुष्पलाल र मनमोहनको आदर्शले कम्युनिष्ट पार्टी चलेनन् । सिद्धान्तको ध्वंश गर्ने मदन भण्डारी र समाजमा ध्वंश मच्चाउने पुष्पकमल दाहालहरुले कम्युनिष्ट पार्टीहरुलाई सत्तामा पु¥याए । समाजमा महत्वपूर्ण स्थान दिलाए । वास्तविकता यही हो । तीतो भए पनि सत्य यही हो । राजनीतिलाई समाज सञ्चालनको मूल नीति मानिन्छ । जब राजनीतिले नै पूर्व महापुरुषहरुका आदर्शहरु पन्छाएर बेग्लै बाटो तय गरिदिएपछि समाज कसरी पूर्व भलामानुषहरुलाई आदर्श मानेर हिडोस् त ?

विषयको अर्को पाटो पनि छ । हाम्रा ठुलाबडा, जान्नेसुन्ने, भला मानिसहरुको आचरण व्यवहार अनुशरण गर्न लायक र प्रशंसा गर्नुुपर्ने खालको पनि देखिदैन । उनीहरुका गलत आचरणका कारणले समान राजनीतिक आस्था भएका सर्वसाधारणहरू समाजको अगाडि अविश्वसनीय बन्नुपर्ने स्थिति छ । आलोच्य बन्नुपर्ने भएको छ । परिहासको पात्र बन्नुपर्ने स्थिति छ । उदाहरणको लागि नेकपाका अध्यक्ष प्रचण्डको चर्चित “भैसीपूजा”को प्रसँगलाई लिउँ । यद्यपि पूजा गराउने पुरोहितले “होइन” भनेर प्रतिवाद गरिदिएका भएतापनि प्रचण्डकै तर्फबाट खण्डन भएको छैन । त्यसैले होला भनेर पत्याउनै प¥यो । पछिल्लोपटक गलेश्वर मन्दिरमा आरती गरेको भिडियो सार्वजनिक भएपछि त होइन भनेर पत्याउने ठाउँ पनि रहेन । प्रचण्ड एउटा व्यक्ति मात्र होइन । एउटा संस्था नै हो भनिदिँदा फरक पर्दैन । सायद नेपालको इतिहासमै सबभन्दा लामो समयसम्म अविछिन्न रुपमा पार्टीको नेतृत्व लिने उनै हुन् । महासचिव होउन् वा अध्यक्ष उनी सधै पार्टीको मुख्य नेता रहँदै आएका छन् । कम्युनष्टि पार्टीको सुप्रिमो हुनुको अर्थ पार्टीको नेता मात्रै होइन, विचार र दर्शनको पनि नेता हो । अर्थात कम्युनिष्ट पार्टीको नेता हुनु भनेको पार्टीको प्रधान प्रशिक्षक हुनु हो । प्रशिक्षक भनेको पार्टी सिद्धान्त र दर्शनको व्याख्याता मात्र होइन गुरू पनि हो । दीर्घकालदेखि कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वमै रहँदै आएको हुनाले मातहतका सबै नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु प्रचण्डको दायित्व रह्यो भने उनको शिक्षाको अुनशरण गर्नु मातहतका कार्यकर्ताहरुको कर्तव्य मानियो होला । आध्यात्मिक कम्युनिष्ट पार्टी पनि हुदैन कम्युनिष्ट कार्यकर्ता पनि हुन सक्तैन । अध्यात्मिक दर्शन र माक्र्सवादी भौतिकवाद सँगै हिड्न सक्तै सक्तैनन । ती समाजरुपी एउटै सिक्काका दुई पाटा भए पनि विल्कुल विप्ल्याटा हुन् । एकले अर्कालाई देख्दैनन् । अर्थात प्रचण्डद्वारा प्रशिक्षित मातहतका नेता कार्यकर्ताहरु सबै भौतिकवादी हुनै पर्ने हो । भौतिकवादले इश्वरको अस्तित्व स्वीकार्दैन । भाग्यवादमा विश्वास गर्दैन । यतिखेर नेकपाको कुनै सामान्य तर इमान्दर र सिद्धान्तप्रति प्रतिबद्ध कार्यकर्ताले ‘देवताको मन्दिर बनाउनुभन्दा स्कुल वा अस्पताल बनाउनु राम्रो हो’ भनेर समाजसामु पैरवी गर्न सक्तैन । समाजलाई सहमत गराउने सामथ्र्य उसले गुमाइसकेको छ । त्यस्तो विपरत परिस्थिति उत्पन्न हुनुको एक मात्र कारण नेतृत्वको आचरण र व्यवहार हो । कसैले त्यस्तो साहस देखाइहाल्यो भने ‘तेरा गुरुले भैसी पूजा गर्दै हिड्छन्, तँैले देवी देवता नमान्ने कुरा गर्न सुहाउँछ !’ भनेर मुखभरीको जवाफ पाउँछ ।

लामो समय पार्टीको नेतृत्व गरेका नेकपाकै अर्का नेता माधव नेपालको एउटा उदाहरण लिउँ । उनी आफैले होली वाइन सुक्र्याएकी सुक्र्याएनन् कुन्नी ? उनले रक्सी सेवन गर्दैनन् भन्ने सुनिएको छ । सार्वजनिक रुपमा तन्काएको देखिएको पनि छैन । तर होली वाइन पिउने÷पिलाउने समारोहको आयोजक त उनी बनिदिए । अब उनका कार्यकर्ताहरुले समाजसामु नसावन्दीको कुरा कसरी कुन मुखले गर्न सुहाउँछ र ? नेकपाको कार्यकर्ताले “गाइको गहुँत छर्केर सुत्केरीको शुद्धिकरण गर्नु गलत हो” भन्नै नसक्ने भो । “तेरा नेताले ककस्को हो कुन्नी केजाति मिसिएको होली वाइन तन्काउन हुन्छ, तैले गाईको मुत खानु हुदैन भन्न मिल्छ ?” भनेर जोसुकैले पनि मुखबुझो लगाइदिहाल्छ । कम्युष्टिहरु निजी सम्पत्तिको विपक्षमा उभिन्छन् । उत्पादनका सबै प्राकृतिक साधानहरुमा व्यक्तिको होइन समष्टिको साझा सम्पत्ति मानिन्छ भनेर कुनै कार्यकर्ताले समाजसामु मुख खोल्ने हिम्मत ग¥यो भने ओली र विष्णु पौडेलको उदाहरण अघिसारेर “तिम्रा नेताहरूले पाँचपाँचवटा महल बनाउन हुन्छ, सरकारी स्वामित्वको जग्गाजमिन आफ्नो बनाउन हुन्छ अनि अरु भुसुनाहरूले पुर्खाको नासो स्वरुप पाएको सानो पाटोफोटो र खरफुसको झुपडी मेरो हो भन्न किन नपाउनु भनेर जोकसैले पनि जवाफ फर्काउछ ।

आजको हाम्रो समाजको विडम्वना कस्तो रहेको छ भने ठूलाबडालाई कसैले आदर्श मान्दै मान्दैन । बाबुको उपदेश छोराछोरीका दृष्टिमा त्याज्य मानिन थालेको छ । त्यसको कारण घर परिवार होजस्तो लाग्दैन । त्यसको कारण समाज हो । समाजका ठूला बडा गनिएका मानिसहरुले सर्वमान्य आदर्श आचरण प्रदर्शन गर्नुृपर्ने आवश्यकता नेदेखिदिनाले समाज उच्छृङ्खल हुँदै गएको हो । सामाजिक अराजकताको कारण समाजको नेतृत्व हो । आफ्नै आचरणका कारणले नेताहरु आलोचित हुनु स्वभाविक हो तर उनीहरुकै कारणले भौतिकवाद अर्थात वैज्ञानिक यथार्थवादलाई जीवनादर्श बनाउन चाहने सर्वसाधारणहरु पनि समाजको आलोचनाको शिकार हुनपर्ने मात्रै होइन सार्वजकि लाञ्छनाको भुक्त भोगी बन्नुपर्ने अवस्था उत्पन्न भएको छ । उदाहरणका लागि हिन्दू धर्मलाई नै लिउँ । हिन्दूधर्म दर्शनको लेख्यभण्डार यति विशाल छ कि एउटा मानिसले जन्मदेखि मरणसम्म एकोहोरिएर लागे पनि त्यसको जरोटुप्पो छिमल्न छिचोल्न सायदै सम्भव होला ! पचास हजारभन्दा बढी धर्मसंस्कृतिसँग सम्बन्धित पुस्तकहरु लेखिएका छन् । अवश्य, त्यो भवसागरमा सबै राम्रो कुरा मात्रै छैन न त सम्पूर्ण फोहरकै थुप्रो हो भन्न मिल्छ । तर एउटा सत्य कुरा के हो भने धर्म संस्कृतिको नाममा समाजले अभ्यास गर्दै आएका रीतिस्थिति, परम्परा र संस्कारहरु अधिकांश विल्कुल अवैज्ञानिक र अन्ध परम्परामा आधारित छन् । यदि कुनै सचेत मानिसले तिनको औचित्यका सम्बन्धमा प्रश्न उठायो वा समायानुकूल परिमार्जनको आवाज उठायो भने ऊ आलोचनाको पात्र बन्छ । ऊ धर्मविरोधी पनि ठहरिन्छ, होलीवाइनवाला मानिन्छm, पैसाको लागि ख्रिष्टयान मिसनको दलालीमा लिप्त ठह¥याइन्छ र त्यो आरोपको पुष्टि गर्ने उदाहरण प्रमाण उनै बडे नेताहरुको आरणलाई बनाइन्छ । र त्यस्तो आरोप वा लाञ्छनालाई त्यस अर्थमा गलत पनि भन्न सकिन्न किनकि ‘जस्तो गुरु, उस्तै चेला’ हुनु स्वाभाविक मानिन्छ नै । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here