केपी ओली विरुद्ध सत्तासीन नेकपामा यस्तो हुँदैछ चलखेल

11

काठमाडौं / सत्तासीन नेकपामा नेताहरुबीचको शक्ति ध्रुवीकरणको अभ्यास उत्कर्षमा पुगेको छ । यस क्रममा प्रधानमन्त्री केपी ओलीको पक्षमा उनका अनुयायीहरु दुई जना मात्र देखिएका छन् । यी दुई जना हुन् – इश्वर पोखरेल र विष्णु पौडेल । पोखरेल र पौडेल दुवै जनाले वर्तमान सत्तासीन नेकपा र नेकपाको सरकारलाई बदनाम गराइरहेको आरोप खेपिरहेका छन्।

सत्तासीन नेकपाको सचिवालयको नेतृत्वमा रहेका अन्य सबै नेताहरु ओलीको विपक्षमा रहेपनि एक ढिक्का भने बन्न सकेका छैनन् । माधव नेपाल र प्रचण्डको फरक स्वार्थका कारण माधव नेपालले आफू एक्लो भएर पनि स्पष्ट धार देखाउन सकेका छैनन् । प्रचण्डको पक्षमा सत्तासीन नेकपा सचिवालय बहुमतमा देखिएको छ । झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र राम बहादुर थापा ‘बादल’ प्रचण्डको पक्षमा देखिएका छन् । यो स्थितिले सत्तासीन नेकपा शक्ति ध्रुवीकरणको अभ्यासको उत्कर्षमा रहेको संकेत गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबाट पार्टीको छवि राम्रो बन्न नसकेको र सरकार पनि जनताकाबीचमा अलोकप्रिय बनिरहेको अवस्थाले सरकारको नेतृत्व नै परिवर्तन गर्नुपर्ने बहस पनि सत्तासीन नेकपा नेतृत्वबीचमा भइरहेको छ । यसै क्रममा हालैमात्र सरकारले विषादीयुक्त फलफुल र तरकारी भारतबाट बिना परिक्षण आयात गर्न दिने निर्णय गरेपछि सत्तासीन नेकपाको नेतृत्व पंक्ति प्रधानमन्त्री ओलीप्रति आक्रोशित बनेको छ । यसै सिलसिलामा भारतबाट विषादीयुक्त फलफुल तथा तरकारी आयातमा रोक लगाउने निर्णयबाट सरकार लाचार ढंगले पछि हट्दा सत्तारुढ नेकपाकै वरिष्ठ नेता बामदेव गौतम भने त्यसको विरुद्धमा कडा ढङ्गले प्रस्तुत भएका छन् ।

सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गरेर मात्र ल्याउने निर्णय गरेकोमा नेपालस्थित भारतीय दूतावासले पत्र लेखेर सरकारलाई दबाब दिएपछि आफ्नो निर्णयबाट पछि हटेको छ । भारतीय दबाब र सरकारको पछि हट्ने निर्णयपछि नेकपाका नेता एवं नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघका संयोजक बामदेव गौतमले त्यसप्रति कडा विरोध जनाएका छन् । सरकार आफ्नै पूर्ववर्ती निर्णयबाट पछि हटे लगत्तै बसेको महासंघको स्थायी समिति बैठकमार्फत गौतमले गम्भिर ध्यानाकर्षण गराएका छन्।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, भारतीय कृषि उत्पादनहरुमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पु¥याउने रासायनिक विषादीहरु प्रयोग गरिने र भारतबाट आयात हुने तरकारी र फलफुलको फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्र पेश नगर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको हो । विज्ञप्तिमार्फत गौतमले भनेका छन, भारतीय दूतावासलाई ज्ञात होस कि नेपाल अति कम विकसित मुलुक हुनुको नाताले नेपाल सरकार विश्व व्यापार संगठनका कैयौँ प्रावधानहरु लागु गर्ने सन्दर्भमा अल्पविकसित देशहरुले प्राप्त गर्ने सुविधा उपयोग गर्ने र नेपाली किसानहरु तथा आम उपभोक्ताको हितको रक्षा गर्ने अधिकार राख्दछ ।

गौतमले विषादीयुक्त तरकारी तथा फलफुल आयातमा रोक लगाउने सरकारको निर्णय ठिक भएपनि भारतीय दूतावासको पत्रपछि सरकार पछाडि हट्नुलाई सरकारको त्रुटीपूर्ण निर्णय भनेका छन् । यसले सरकार भारतसँग आत्मसमर्पण गरेको सन्देश जनतामा पुगेको भन्दै उनले आयात गरिने तरकारी र फलफुलको विषादी परीक्षणलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

भारतीय दबाबका सामु प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु मात्रीका यादव र बलदेव खनाल समेत पछि हटेको अवस्थामा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताहरुले पनि यो विषयमा बोलेका छैनन् । तर गौतमले भने भारतीय दूतावासको दबाबको खुलेर विरोध गर्दै आइरहेकोमा उनको सर्वत्र प्रशंसा भइरहेको छ ।

भारतीय दबाब र ज्यादतीका सामु खरो रुपमा उत्रिएका गौतमको यो पहिलो घटना भने होइन । तत्कालीन नेकपा एमालेले महाकाली सन्धिमा सहमति जनाउँदा बामदेव गौतमले त्यसमा असहमति जनाउँदै पार्टी नै फुटाएका थिए । त्यतिबेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु महाकाली सन्धिको पक्षमा लागेका बेला गौतमले उक्त निर्णय मुलुकको हित विपरित हुने भन्दै विरोधमा उत्रिएपछि पार्टी नै फुटाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।

राष्ट्रियताका पक्षमा जहिले पनि खुलेर लड्ने गौतम यसपटक पनि आफ्नै पार्टीको सरकार र पार्टी भारतीय दबाबसामु कमजोर सावित हुँदा उनी सशक्त ढंगले त्यसको प्रतिकार र विरोधमा उत्रिएका छन् । पार्टी भित्र हुने गलत प्रवृत्तिका विरुद्ध खरो उत्रिने गौतमले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई एकै ठाउँमा ल्याएर सबैभन्दा ठूलो पार्टी बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । तर पार्टी एकीकरणको प्रक्रियापछि भने उनलाई जिम्मेवारविहिनजस्तै बनाइएको छ ।
गलत कामका विरुद्ध खरो उत्रने उनको स्वभावकै कारण पार्टीमा उनलाई महत्वपूर्ण जिम्मेवारी दिनबाट बन्चित गरिएको राजनीतिक वृत्तमा चर्चा चल्ने गर्छ । तर गौतम भने आफू जुनसुकै पद र हैसियतमा भएपनि गलत प्रवृत्तिका विरुद्ध बोल्न छोडिरहेका छैनन् । उनको यही स्वभावका कारण हाल उनी पार्टीभित्रै पनि प्रतिपक्षजस्तै बन्ने गरेका छन् । सरकार र पार्टी नेतृत्वले सढी ढंगले दिशा निर्देश गर्न नसकेका विषयमा आलोचना गर्ने गरेकाले प्रधानमन्त्री केपी शर्मा ओली बामदेवलाई महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नबाट बन्चित गर्न खोजिरहेका छन् । पार्टीको महाधिवेशनका बेला अर्का नेता माधव नेपालका विरुद्ध ओलीलाई साथ दिएका गौतमलाई अध्यक्षमा नियुक्त भएपछि ओलीले धोका दिएको आरोप समेत लाग्ने गरेको छ । भारतीय दबाबका सामु सरकार पछि हटेको विषयमा गौतमले लिएको अडानले उनको राष्ट्रवादी छवीलाई पुनः एक पटक उँचो बनाएको महसुस गरिएको छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here