हिटलरको शिक्षा अनुसार चल्दै ओली सरकार

13

-हुकुमबहादुर सिंह

यो बितेको अवधिमा नेपालको ‘कम्युनिस्ट’ सरकारले देश र जनविरोधी कार्यका लागि बदनामीको सिमाना नाघी सकेको छ । संसदीय व्यवस्थाका अनेकौ खरावीहरू मध्ये यसको एउटा खराव पक्ष के हो भने संसदमा एक पटक निर्वाचित सांसद उसको मानसिक तथा शारिरीक अवस्था जनताको पक्षमा नभएता पनि जनताले निर्वाचनको लगत्तै त्यसलाई त्यसको विरुद्ध बोल्न थाले पनि उ निश्चित अवधिको लागि मरेपछि मात्रै पद छोडेको ठहरिन्छ । अहिले यो अवधिमा यो सरकारमा बसेका नेपालका प्रधानमन्त्रीले जे—जस्ता विधयेकहरू संसदमा पेश गरेका छन् र जनताबाट तिनीहरूको जे जसरी विरोध भएको छ रत्यो विरोधप्रति यो सरकारले जे—जस्तो व्यवहार अपनाएको छ,यसको नेतृत्व गर्ने उनको सोच यति सानो देखिदै गएको छ । त्यही आधारमा उनका हरेक शासनशैली देश र जनताका लागि नकारात्मक देखिएका छन् । हिजो उनलाई मतदिनेहरूअहिले प्रहरीको लाठी खान बाध्य भएका छन्, मानौं यो सरकारको मतदाताप्रति खासै जिम्मेवार भएको छैन । मतदाताका मतहरू केवल निर्वाचनका लागि उनीहरूलाई मत हाल्न मात्रै आवश्यक पर्छ । उनीहरूले सडकमा देखाएको असन्तुष्टि त मात्रै जनताको ढाड चिलाएर त्यसमा प्रहरीको डण्डा खानका लागि मात्रै हो, आवाज सुनाउनका लागि उनीहरू सडकमै आएका होइनन् । ओलीले अहिले जनआवाज भन्ने के हो विर्सेका छन् । ओलीले जनताको आवाजलाई कुनै मतलव नै गरेको पाइदैन । त्यस कारण परिवारसहितको अहिलेको उनको युरोप भ्रमण कुनै तानाशाहाको टुरिष्ट भ्रमण जस्तो देखिएको छ । ओलीका हरेक क्रियाकलापहरूले नेपालमा न संघीयता आएको छ न गणतन्त्र भन्ने अनुभूति दिन उनी सफल देखिएका छन् । उनको यो कार्यबाट उनले विगतका तानाशाहहरूलाई खुशी बनाउने र नेपालमा गणतन्त्र र संघीयताको आवश्यकताबाट जनतालाई क्रमशः विमुख गराउने खालले काम गर्दै छन् ।

ओली सरकारले अहिले प्रतिविम्वित गर्ने संघीयता र गणतन्त्रको स्खलन कुनै पनि हालतमा ‘सुन्दर’ वा ‘अद्भुत’छैन, बरु यो निकै घिनलाग्दो र खतरनाक छ । ओलीले यो उनको डेढ बर्षे कार्यकालमा पदको गरिमा, विश्वसनीयता र मूल्य धुलोमा मिलाइसकेका छन् । उनको विदेश नीति नेपालको पञ्चशील सिद्वान्त र असंलग्नतालाई धुलोमा मिलाउने खालको छ । छिमेकी मित्रहरू खास गरी चीनप्रतिको उनको दुरी बढ्ने खालले अमेरिकाको समर्थनमा चीन विरुद्ध जे गर्दै छन् त्यसबाट के स्पष्ट हुन्छ भने उनलाई नेपालको इतिहासबारे कुनै जानकारी नै छैन । अझ त्यो भन्दा बढता उनले नेपालको परराष्ट्र नीतिको इतिहासको खासै मतलव गरेको पनि पाइदैन । आफूलाई मन नपरेको व्यक्तिमाथि उखान टुक्काको वाण वर्षाद्धारा उठ्नै नसक्ने गरि थला पार्ने । भर्खरै संसदमा पेश गरेको संचार विद्ययेक, गुठी सम्वन्धी विधयेकआदिका बिरुद्ध उठेको सडक जनमतलाई आफूले विगतमा निर्वाचनमा प्राप्तमतकै समर्थनका रूपमा बुझ्ने र उनका मन्त्रीले वारम्वार जनताको सडक आन्दोलनलाई होच्याएर बोल्नुले विगतका राजाका पालाका मन्त्रीहरू निरन्जन थापा, कमल थापाका अभिव्यक्तिको सम्झना आउने गर्दछ । सरकारको छोटो मानसिकताले काम गरिरहेको छ । सरकारी वैंकमा लगानी गर्ने पैसा छैन । हिजो एक जना वाणिज्य बैंकका अधिकृतसित अनौपचारिक कुराकानीमा उनले भनेका थिए–‘यो सकारको अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई धरासायी बनाइसके । नेपालको अर्थतन्त्र डामाडोलको अवस्थामा पुग्दै छ । बरु विगतका गैह्र अर्थशास्त्रीबाट चलेको मन्त्रालय भन्दाअहिले विद्धान अर्थशास्त्रीले नेतृत्व गरेको अर्थमन्त्रीबाट देशको अर्थतन्त्रतह सनहस बन्दै छ । ’मलाई लाग्यो प्रथम यो सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै खोक्रो राष्टवाद र सर्वसत्तावादबाट ग्रसित छन् र उनको देशको इतिहास प्रति कुनै मतलव छैन र स्वयम् उनले कार्यान्वयन गर्ने नेपालको संविधान २०७२ प्रति पनि उनी इमान्दार देखिदैनन् । अनि कसरी हुन्छ देश समृद्ध र समुन्नत ? जनताको स्वतन्त्रता र स्वशासन लोकतन्त्रको मेरुदण्ड हो भनिन्छ तर ओली सरकारले यी दुवैप्रति बेवास्ता गरेर अगाडि बढ्न चाहन्छ । देशमा गरीबी, बेरोजगारी उन्मूलन गर्ने अभियान यो सरकारले कुनै निर्दिष्ट योजनाबिहिन तरिकाले गर्दैछ ।

ओली संसदीय व्यवस्थाका चतुर खेलाडी हुन र हिटलरबाट केही सिक्न चाहने तानाशाहा । संसदीय व्यवस्थाबारे हिटलरले गरेको अभिनय ओलीका लागि मिल्दो जुल्दो लाग्छ । हिटलरले एकदिन संसद वैठकमा एउटा कुखुरोलाई काखीमा च्यापेर प्रवेश गरे र प्रवेशको लगत्तै उनले त्यसका एक एक प्वाखँ उखेल्दै गए । कुखुरो उनको हातबाट उम्कन चाहन्थ्यो तर त्यसलाई यति बलियो गरी समातेका थिए कि उक्त कुखुरो उनका हातबाट उम्कन सक्दैनन्थ्यो । कुखुरो कराउदै गयो रक्ताम्य बन्दै गयो उनले त्यसका प्वाखँ शरीरमा एउटा प्वाखँ रहेसम्म उखेल्न छाडेन  । अनि उनले त्यो कुखुरालाई भुईमा छाडि दिए तर हातबाट उनले त्यसलाई चारो दिंदै गए । उनले प्वाखँविहिन बनाएर रक्तताम्य बनाएको कुखुरो एकै छिनमा उनका पछि पछि लाग्दै र चारो टिप्दै हिंड्न थाल्यो । त्यसलाई देखाउदै हिटलरले संसदलाई भने–‘हेर संसदीय व्यवस्थामा संसद भनेका पनि यस्तै कुखुराजस्तै हुन् । यिनीहरूलाई जतिसुकै मनपर्ने नीति तथा कार्यक्रम ल्याउ, त्यसभित्रबाट बेला बेलामा उनीहरूलाई पनि चारो दिनु पर्छ, तिनीहरू पछि पछि लागी हाल्छन् ।’ हिटलरको उक्त शिक्षा अनुसार नभन्दै ओली सरकारले संसदलाई र संसादहरूलाई उनीहरूको संसदमा खासै आवश्यकता नभएको बनाए तापनि प्रत्येक संसदको खल्तीमा विकासका नाममा ६ करोड हाली दिएर हिटलरको त्यो शिक्षालाई उनी व्यवहारमा लागु गर्दैछन् । र आफू अहिले टुरिष्ट प्रधानमन्त्रीका रूपमा युरोप भ्रमण गरिरहेका छन् ।

-singhhukum683@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here