सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई केही सुझाव

13
Nisha Tamang

– निशा तामाङ

सञ्चार माध्यममा दिनहुँ दुर्घटनाका समाचार छापिने गरेका छन् । दुर्घटना नभएको दिन नै हुँदैन जस्तो लाग्न थालेको छ । सडक दुर्घटनाका कारण दैनिक धेरै मानिस ज्यान गुमाउन बाध्य छन् । कैयौ घाइते जीवन बिताउन बाध्य छन् । सडक यात्रा असुरक्षित बन्दै गइरहेको अवस्था छ । पछिल्लो पटक ललितपुरको व्यस्त सडक चक्रपथको धोबीघाटमा पत्रकार गोविन्द शर्माको दुर्घटनामा भएको निधन ज्यादै दुःखद बनेको छ । सडकलाई व्यवस्थित बनाउन जिम्मेवार निकायहरू सचेत नहुनाले नै यस्ता दुर्घटना पटक–पटक भइरहने गरेका छन् ।

दिनहुँको कार्य जस्तै सडक यात्रा आवश्यक भइसकेको अवस्थामा सडकमा यात्रा असुरक्षित हुनु ज्यादै नै चिन्ताको विषय बन्दै गएको छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती पनि भईरहेको छ । सडक दुर्घटनाको कारण के हो ? र दोष कसलाई दिने ? सडक व्यवस्थापनमा कमी भयो भन्ने अथवा सडकमा सवारी चालकको लापारवाही भयो भन्ने वा सडकमा यात्रा गर्ने यात्रुको कमजोरी भयो भन्ने ? कसलाई दिने यसको दोष ?

सवारी दुर्घटनाका कारणलाई मुख्यतः सडकको दुरावस्था, पुराना गाडीको प्रयोग र सवारी चालकको लापरबाहीलाई लिने गरिएको पाइन्छ । तर सडक दुर्घटनाको प्रमुख कारकमा सडक निर्माण पनि हो भन्ने कुरा संगै गति नियन्त्रण पनि हो भन्ने स्पष्ट हुन्छ । सडकमा जताततै खाल्डा खुल्डी, हिलो, जताततै जाम र त्यो जाममा छिटो पुग्नलाई अपनाइने नियम विपरीतको चालकको गति आदि नै दुर्घटनाका कारण मान्न सकिन्छ ।

सडक निर्माण र व्यवस्थापनमा जति कमजोरी देखिन्छ त्यति नै मात्रामा सवारी चालकको पनि देखिन्छ । तीव्र गतिमा सवारी चलाउने, गतिकै लागि अनावश्यक प्रतिस्पर्धा गर्ने, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयाँ र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउने, सडक प्रयोग र ऐन कानुन बारे चेतना नहुने जस्ता दुर्घटनाका कारण हालसम्म स्पष्ट भएका विषय हुन् । यी स्पष्ट भइसेकेका विषयहरूलाई व्यवस्थित गर्न नसक्नु राज्यपक्षको कमजोरी हो भन्न सकिन्छ । सवारी दुर्घटनाको पहिलो कारण सवारीको तीव्र गति नै हो । गतिलाई नियन्त्रण गर्ने, लेन उल्लघंन नगर्ने , बायाँ साइडबाट ओभरटेक नगर्ने, अनावश्यक ध्वनी (हर्न) नगर्ने, जस्ता विषयहरूलाई ट्राफिक नियमको कडा शर्त बनाउने हो र लागू गर्ने हो भने दुर्घटनालाई न्यूनीकरण गर्न अवश्य सकिन्छ ।

प्रहरीले जानकारी गराए अनुसार विगत ५ वर्षमा ४६ हजार ७ सय सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष ०७०/०७१ देखि गत आर्थिक वर्ष ०७४/०७५ सम्मको पाँच वर्षको अवधिमा ४६ हजार ७ सय सवारी साधन दुर्घटनामा परेको तथ्यांकले नै दुर्घटनाको जिम्मेवार को हो भन्नेबारे अनुसन्धान गर्न आवश्यक भइसकेको देखिन्छ । दुर्घटनामा पनि आधा भन्दा धेरै मोटरसाइकल रहेको प्रहरीको तथ्यांक छ । त्यस्तै यो अवधिमा दुर्घटनामा पर्ने कार, जीप र भ्यानको संख्या झण्डै २१ हजार पुगेको छ । आर्थिक वर्ष २०७१/०७२ देखि ०७३/०७४ सम्मको तीन वर्षे अवधिमा ५ हजार ९ सय यात्रुबस तथा ५ हजार ८ सय ट्रक र ट्याङ्कर दुर्घटनामा परेका छन् । ठूलाभन्दा साना सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाएको छ । तर ठूला सवारीसाधन दुर्घटना हुँदा धेरै मानवीय क्षती हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपालमा मानिसको मृत्युको चौथो कारणको रूपमा सडक दुर्घटना देखाएको छ । वर्षेनी नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक छ । त्यस्तै, नेपालमा दुर्घटनाबाट दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेको एउटा तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७०/०७१ देखि चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४६ हजार ७ सय सवारीसाधन दुर्घटना हुँदा १० हजार २ सय ७८ जनाले ज्यान गुमाएका छन् । जसबाट १९ हजार ४ सय ६० जना गम्भीर घाइते भएका छन् भने ३९ हजार २ सय जना सामान्य घाइते हुन पुगेका छन् । गम्भीर घाइते भएका कतिपय यात्रु अपाङ्ग हुनुपरेको छ ।

सवारी दुर्घटनामा आर्थिक वर्ष ०७०/०७१ मा १ हजार ७ सय ८७ जनाको ज्यान जाँदा गत आर्थिक वर्षको वैशाखसम्ममा २ हजार ९७ जनाले ज्यान गुमाइसकेका छन् । आर्थिक वर्ष २०७१/०७२ मा २ हजार ४, ०७२/०७३ मा २ हजार ६ र ०७३/०७४ मा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार आ.व. २०७३/०७४ मा १६ हजार ५ सय दुर्घटना भएको र ती दुर्घटनामा २० हजार ३ सय ८५ जनाको ज्यान गएको र १२ हजार भन्दा बढी घाइते भएको देखाइएको छ । नेपालमा दैनिक पाँचदेखि छ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई लिइएको छ ।

सडकको सुरक्षामा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यस विषयमा सरकार संवेदनशील हुन सकेको छैन । सवारीसाधन चलाउँदा लापारवाही गर्ने सवारी चालकहरू मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, जाँडरक्सी खाने, तीव्र गतिमा चलाउने, ओभरटेक गर्ने आदि कारणले चालकको ध्यान सवारीसाधनमा नभई अन्यत्र मोडिने हुँदा सडक दुर्घटना बढ्ने गरेको तथ्य पुष्टि भइसकेको हुँदा सम्बन्धित निकायले दुर्घटना न्यूनीकरणको लागि नियम बनाउन र लागू गर्न विलम्व गर्नु लापारवाही ठहर्ने छ । -Samarianisu@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here