नेपालमै रोजगारीको सृजना र विकास यसरी गरौं

9

– राज्यलक्ष्मी शाक्य

सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेको छ । तर यो परिकल्पना साकार पार्ने प्रयास सरकारको देखिदैन । जनताको जीवनस्तर माथि उठाउने प्रयास गर्नुपर्नेमा सरकारको त्यसतर्फ पनि कुनै कार्यक्रम रहेको जनतालाई जानकारी समेत हुन सकेको छैन । जनताको जीवनस्तर माथि उठाउने सवालमा केन्द्रीत रहेर सरकारबाट कुनैपनि कार्यक्रमको थालनी हुन्छ भने त्यस्तो कार्यक्रमले जनताबाट स्वागत पाउने निश्चित हुन्छ । जनताको निम्ति काम गनुपर्ने सरकारले उल्टो काम गरिरहेको छ । उच्च पूर्व पदासिनहरूको भत्ता बढाउने , सांसदहरूको तलब र भत्ता बढाउने , मन्त्रीहरूको तलब बढाउने काममै सरकारको ध्यान केन्द्रीत भएको देखिन्छ । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मले जनतामाथि कर असुल्ने काम भइरहेको छ । जनताबाट उठाइएको करको सदुपयोग गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन ।

देशमा रहेको प्राकृतिक सम्पदाको उत्खनन् र देशमा जल सम्पदाको सदुपयोग नै देशलाई समृद्ध बनाउने महत्वपूर्ण पक्ष हो । प्राकृतिक सम्पदाको उत्खनन् र जल सम्पदाको सदुपयोगतर्फ सरकारले योजना तर्जुमा गर्ने हो भने देशमा बेरोजगारीको समेत अन्त्य हुने निश्चित हुन्छ । त्यसो गर्दा रोजगारीका निम्ति विदेशिएका युवाहरूलाई देशभित्रै रोजगारीको अवसर प्राप्त हुनेछ भने देशलाई आत्मनिर्भर बनाउने आधार पनि तयार हुनेछ । जबसम्म बेरोजगार युवाहरूलाई देशभित्र रोजगारी सृजना गर्न सकिदैन, तबसम्म देश आत्मनिर्भर बन्न सक्दैन । देशको आत्मनिर्भरता युवाहरूको श्रमशक्तिसंग जोडिएको हुन्छ । देशको श्रमशक्ति विदेशिएपछि आत्मनिर्भर अर्थतन्त्रको विकासका निम्ति पाखुरा कसले चलाउने ? त्यसका लागि वैदेशिक रोजगारीको अन्त्य गर्दै स्वदेशमै रोजगारी सृजना गर्नु आवश्यक छ । तर सरकारको त्यसतर्फ कुनै पहल देखिदैन ।

नेपालको संविधानमै रोजगारी सम्बन्धी हकको व्यवस्था गरिएको छ । देशलाई आत्मनिर्भर तुल्याउने आधारहरू देशभित्रै छन् भन्ने कुरा सरकारमा प्रतिनिधित्व गर्ने नेताहरूले बुझ्न आवश्यक छ । वैदेशिक रोजगारीका लागि जाने युवा नेपालीहरू देशमा रोजगारीको अभावले गर्दा वैदेशिक रोजगारीमा जान बाध्य छन् । वैदेशिक रोजगारीका लागि जुनसुकै देश जानु नेपालीहरूको बाध्यता बनेको छ । यो वास्तविकतालाई मध्यनजर गरेर देशभित्र रोजगारी सृजना गर्न जरुरी देखिन्छ ।

वैदेशिक रोजगारीका कारण अन्य विभिन्न समस्याहरू पनि थपिएका छन् । वैदेशिक रोजगारीले गर्दा लामो समयसम्म परिवारबाट टाढिएर बस्नुपर्ने हुँदा पारिवारिक सम्बन्धमा नै खलल पुगेको छ । त्यसकारण पनि देशमा नै रोजगारीको सिर्जना गर्नु अहिलेको आवश्यकता हो । वर्तमान सरकारले देशमा उत्पादन बढाउने र आत्मनिर्भरतातर्फ मुलुकलाई अघि बढाउने घोषणा गरेको छ । तर जबसम्म देशका ऊर्जावान् जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिइरहन्छन् तबसम्म देशमा विकासको गति तीव्र पार्छु भन्ने कुरा कोरा कल्पना मात्र हुनेछ । हालै दक्षिण कोरिया जान चाहने युवाहरूको संख्या ६० हजार रहेको तथ्यांक सार्वजनिक भएको छ । उनीहरू दक्षिण कोरिया जान नपाए अन्य देश जाने निश्चित नै छ । यस्तो संख्या थुप्रै छ । ती युवाहरूलाई देशमै रोजगारी सिर्जना गरेर काममा लगाउन सक्ने हो भने मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्छ भने वैदेशिक रोजगारीको पीडा पनि खप्नु पर्दैन ।

सरकारले देशलाई आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतसाधनको उपयोग गरेर त्यसलाई उत्पादनशील बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । नेपालमा रहेका उद्योगहरूले देशमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य तथा समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिन जरुरी छ । देशका विभिन्न भूगोलमा प्राप्त हुने कच्चा पदार्थका आधारमा वस्तु तथा सेवा उत्पादन गरेर त्यस क्षेत्रमा आवश्यक जनशक्तिले रोजगारी गर्नु आवश्यक छ । कृषि प्रधान देश भएर पनि बाहिर मुलुकबाट खाद्यान्न लगायतका सबै दैनिक उपभोग्य वस्तुहरू आयात गर्नुपर्ने बाध्यात्मक अवस्था देशमा विद्यमान छ । यो अवस्थाबाट छुटकारा पाउन कृषिमा आधारित उद्योगको विकास नै मुख्य अभियान बन्नु पर्छ ।

किसानहरूले उत्पादन गरेका वस्तुहरू बिचौलिया मार्फत बजारमा पु¥याउदासम्म वस्तुको मूल्य दश गुना वृद्धि हुन्छ भने स्वंय मेहनत गर्ने किसानले मुनाफा पाउँदैन । यस्तो अवस्थाबाट किसानहरूलाई बचाउन राज्यको पहल आवश्यक हुन्छ । देशमा कम्युनिष्ट पार्टीको सरकार भएको वर्तमान अवस्थामा पनि उत्पादनशील वस्तुहरूतर्फ ध्यान नपुग्नु सरकारको अकर्मण्यता पुष्टि हुन्छ ।

नेपाल अपार जलसम्पदाले धनी मुलुक छ । जलविद्युत् निकाल्नका लागि भौगोलिक सुविधा रहेको अवस्था छ । हजारौं मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता नेपालसँग रहेको छ । त्यसलाई खेतबालीमा सिँचाइ योजनामा लगाउन जरुरी छ । विद्युतीय उत्पादन गराउनमा जोड दिनुपर्दछ । विद्युत उत्पादनमा मात्र ध्यान पु¥याउने हो भने नेपालको समृद्धिका लागि आफै ढोका खुल्न सक्छ । हरेक खालका अवसरहरू देखा पर्ने छन् । सबैकुराको विकासको आधार विद्युत शक्ति नै हो । पेट्रोलियम पदार्थ समेत आयात नगरेर विद्युतबाटै काम चलाउन सकिने हैसियतमा नेपाल रहेको छ । तर राज्य संचालकहरूको ध्यान यसतर्फ देखिदैन ।

सरकारले प्रस्तुत गरेको २०७६/२०७७को नीति तथा कार्यक्रममा पनि रोजगारी वृद्धिलाई प्राथमिकतामा राखिएको देखिन्छ । प्रधानमन्त्री रोजगारी कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजीक्षेत्रबाट हुने क्रियाकलापबाट आगामी वर्ष थप पाँच लाख रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटमा रोजगारीलाई प्राथमिकतामा राखेर बजेट छुट्याइएको छ । चालू आर्थिक वर्षमा शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अहिलेको बजेटले प्रभावकारी कार्यान्वयन कसरी गर्ने हो त्यो भने अगामी दिनमा थाहा हुने नै छ । वर्तमान सरकारको समृद्ध नेपाल सुखी नेपाली नाराले साँच्चै नै देशमा समृद्धि चाहने हो भने स्वदेशमै रोजगारीको सृजना गरेर जनतालाई समृद्ध बनाउन सातै प्रदेशमा नीजि प्राकृतिक स्रोतसाधनको उपयोग गरेर औद्योगिक विकासका माध्यमबाट आर्थिक गतिविधि बढाउन अग्रसर हुन आवश्यक छ । यसका लागि विदेशी कपडा आयात घटाउँदै घरेलु कपडाको उत्पादनतर्फ ध्यान दिने, विदेशी रसायनिक मल आयातलाई कम गर्दै देशभित्रै प्राङ्गारिक मल उत्पादनतर्फ ध्यान दिने, प्लास्टिकजन्य निर्मित वस्तुहरूको आयातलाई पूर्ण रूपमा रोक लगाएर देश भित्रै दुना टपरी उत्पादनमा प्रत्येक जिल्लामा अभियान चलाउने, विदेशबाट मंहगा औषधि आयातमा नियन्त्रण गर्दै देशका जंगलहरूमा उपलब्ध जडिबुटीहरूबाट औषधि उत्पादनमा राज्यको लगानी केन्द्रित गर्ने , दक्ष जनशक्ति उत्पादनका लागि स्कुलहरूमा निःशुल्क पठनपाठन र आत्मनिर्भर बन्न सक्ने व्यवाहारिक शिक्षा स्ुरु गर्ने लगायतका विषयहरूतर्फ ध्यान दिने हो भने देश आत्मनिर्भर बन्न सक्ने आधार छिट्टै तयार हुने विश्वास गर्न सकिन्छ । -Rajyalaxmishakya@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here