बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित छन्ः प्रधानमन्त्री

4
प्रधानमन्त्री ओली

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतमबुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित रहेको बताएका छन् ।
२५६३औँ बुद्ध जयन्तीका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन् । ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन् ।

‘संसारमा दुःख छ र दुःख हटाउनसके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतमबुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘जातीय भेदभाव र छूवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतमबुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।’

बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डोर्होयाउन खोजेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै बुद्धजयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here