लागूऔषध कारोवारमा विदेशीहरुको आकर्षण नेपाल किन भइरहेको छ ? 

15
Nisha Tamang

-निशा तामाङ

समाज विरुद्धको गम्भीर अपराध लागू औषधको दूव्र्यसन नेपालमा बढ्दो क्रममा छ । लागू औषधको अवैध ओसारपसार र त्यसबाट सृजित अन्य अपराधहरु ज्यादै गहन समस्याका विषय बनेका छन् । यो ज्यादै गम्भीर र चिन्ताको विषय पनि हो ।  लागू औषधले व्यक्तिलाई, परिवारलाई, समाजलाई र समग्र देशलाई नै गलत गन्तव्यतर्फ लैजान्छ ।  लागू औषधको कारोबार गर्ने व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्रा्ष्ट्रियरुपमै अपराधिक गतिविधिमा फस्दै गएको छ । लागू औषधको कारोबार नेपालको विमानस्थल हुँदै अन्य देशमा समेत आयात र निर्यात भइरहेको खुलासा भएको छ । नेपालमा लागू औषध दूव्र्यसनले मानिसको शारिरिक तथा मानसिक दुर्वलता ल्याउनुको साथै मस्तिष्कमा आघात पारी स्वास्थ्यमा असर पारेको छ भने समाजमा यसका दूव्र्यसन र कारोबारले गम्भीर असर पार्दै गएको छ ।  समाजमा लागू औषध दूव्र्यसनीले निम्त्याउने घटना जस्तै  लुटपाट, चोरी, डकैती,  वेश्यावृत्ति, आत्महत्या र ठगी आदिजस्ता अपराधिक गतिविधिहरु बढिरहेको पाइन्छ ।

नेपालमा लागूऔषधको कारोबार दिनदिनै बढ्दो छ । लागूऔषध प्रयोगकर्ता बढेर मात्र नभई बाह्य मुलुकमा समेत ओसारपसार हुँदै आएका कारण वर्षमा ३ हजारभन्दा बढी पक्राउ पर्ने गरेका तथ्यांक सार्वजनिक भएको छ । यो किन नियन्त्रणमा आउन सकिरहेको छैन ? गम्भीर विषय हो ।  नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा ओसारपसारमा संलग्नहरू पक्राउ पर्ने क्रम पनि उल्लेख्य रूपमा बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । सन् २०१९ को गत महिना अप्रिलसम्म मात्रै २ हजार १० जना पक्राउ परिसकेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार विगत चार वर्षयता  १४ हजार ५सय ४५ जना लागूऔषध ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ परेका छन् । त्यसैगरी सन् २०१६ मा ३ हजार ६सय ९६ जना, सन् २०१७ मा ३ हजार ९सय ४१ जना, सन् २०१८ मा ४ हजार ८सय ९८ जना र सन् २०१९ को अप्रिलसम्म २ हजार १० जना लागूऔषधको ओसारपसार र प्रयोगका क्रममा पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०१६ मा १सय ५ जना पुरुष र ८ जना महिला, सन् २०१७ मा १सय ३७ जना पुरुष र ७ जना महिला, सन् २०१८ मा १सय ५१ जना पुरुष र ५ जना महिला र सन् २०१९ को अप्रिलसम्म ६८ जना पुरुष र ४ जना महिला गरी ४सय ८५ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बाहेकका तेस्रो मुलुकका ४७ पुरुष र ११ महिला गरी ५८ जना विदेशी नागरिक यो ४ वर्षको अवधिमा नेपालमा पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यो ज्यादै भयावह अवस्था हो । नेपालमा विदेशीहरुको लागूऔषध प्रयोगमा भइरहेको  आकर्षणले देशको अवस्था डरलाग्दो देखिन्छ ।

नेपालमा गाँजा, चरेस, नुरफिन, फेनारगन र डाइजापाम प्रयोग बढी गरेको पाइएको छ । लागू औषध कारोबारमा फस्ने स्वदेशीदेखि लिएर विदेशी समेत पक्राउ परिरहेका छन् । लागू औषध कारोबार गर्नेहरु  नेपाल ट्रान्जिट हुँदै अन्य देशमा कारोबार गर्नलाई नेपाली नागरिकहरुको प्रयोग गरिरहेका छन् भने लागू औषध कारोबार गर्ने गिरोहहरु जति पक्राउ पर्दै गएपनि नियन्त्रण हुन सकेको पाइदैन  । यसमा संलग्नहरु पक्राउ परेतापनि सामान्य धरौटिमा रिहा हुने र फेरि त्यही पेशामा लाग्ने गरेको पाइन्छ । यसकारण  लागू औषध कारोबारमा संलग्नहरु सक्रिय रुपमा कारोबारमा संलग्न छन् भन्ने बुझ्न जरुरी छ ।

लागू औषध कारोबार गर्ने अन्तर्रािष्ट्रयरुपमै संगठित गिरोहले नेपाललाई ‘ट्रान्जिट’ पोइन्ट बनाउने गरेको पनि पाइएको छ ।  तस्करले धेरै उपयोग गर्ने अन्तर्रा्ष्ट्रिय रुटमा बोलिभिया, इथियोपिया र भारतको नयाँ दिल्ली हुँदै नेपालको विमानस्थल प्रयोग गरेको पाइन्छ । नेपालको दक्षिणतर्फको खुला सिमानाका कारण पनि नेपालमा लागू औषध कारोबारको संख्या बढेको बुझ्न सकिन्छ ।  खुला सिमानाका कारण लागू औषध कारोबारमा भारतीयहरुको संलग्नता बढि रहेपनि यसबारे छानबिन हुन सकेको छैन । भारतीय नागरिकहरु खुला सिमानाको फाइदा लिएर नेपालमा लागू औषधको कारोबार गर्न सक्रिय रुपमा लागिरहेका छन् । लागूऔषध ओसारपसारको क्रममा भारतीय नागरिक पक्राउ पर्नेको संख्या बढि नै मात्रामा रहेको तथ्यांकमा समेत उल्लेख भएबाट यो स्पष्ट भएको छ ।

देशकै समस्याको रुपमा रहेको लागू औषध कारोबारले युवाहरुमा धेरै प्रभाव पारिरहेको छ । मुलुकका उजावान युवाहरु लागूऔषध सेवन र कारोवारले गर्दा शक्तिहीन भई नकाममात्र होइन परिवार एवं समाजमा विकृति बढाइरहेका छन् । नेपालका अदालतका मुद्दाको संख्या हेर्दा शहरी क्षेत्रका अदालतहरुमा सम्बन्ध बिच्छेद मुद्धापछि बढी मुद्दा भएको लागु पदार्थ (लागु औषध)सम्बन्धी मुद्दा नै देखिन्छ । यस विषयमा लागू औषध नियन्त्रण गर्नका लागि देशका हरेक नागरिक सचेत हुन जरुरी छ । साथै सरकारले लागू औषध नियन्त्रणका लागि कठोर नीति ल्याउन र कार्यान्वयन गर्न पनि त्यतिकै जरुरी छ । -Samarianisu@gmail.com – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here