नयाँ शक्ति र फोरम एकताले जन्माएको आशा

96

–प्रीति रमण
मधेश केन्द्रित राजनीति गरिरहेका वर्तमान सरकारका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेतृत्व गर्नुभएको संघीय समाजवादी फोरम पार्टी र देशको प्रधानमन्त्री समेत भइसकेका डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति पार्टीबीच एकीकरण भइ समाजवादी पार्टी नेपाल निर्माण भएको छ । यो पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा दाबी समेत गरिएको छ । नेताहरुबाट गरिएको दाबीलाई सत्यमा परिणत गर्न केही मिहेनत, केही त्याग, केही इमान्दारिता र लगनशीलता आवश्यक हुन्छ ।

मधेश केन्द्रित राजनीतिले माओवादीको युद्धकालमा अलि बढि नै टाउको उठाएको हो । त्यसैले मधेशी राजनीतिको उठान माओवादीकै द्धन्दबाट सुरु भएको हो भन्न सकिन्छ । हुन त मधेशलाई केन्द्रबिन्दु बनाएर राजनीति गर्ने नेताहरुमा उपेन्द्र यादव भन्दा पहिले पनि धेरै भए र त्यसपछि पनि नेता जन्मिने क्रम जारी नै छ ।

नेपालको तराई भू–भागलाई पहिले मधेश प्रदेश भनिदैनथ्यो । मधेश शब्दको उच्चारणसंगै नेपालको तराई क्षेत्रलाई संघीय ढाँचामा रुपान्तरित गर्दा छुट्टै प्रदेश बनाउने कुराले निकै चर्चा पायो । यो चर्चा संगसंगै मधेश छुट्टै प्रदेश भन्ने नारा पनि आयो । यो नारालाई पनि उछिनेर मधेश अलग देश भन्ने अभियानकै रुपमा अर्को नारा पनि आयो । सबै खालका प्रयासहरु र अनुभवहरु हासिल गर्दै असम्भव लाग्ने खालका घटनाहरु पनि भए । सयौं निर्दोष नागरिकहरुले ज्यान गुमाउनु प¥यो भने दर्जनौं सुरक्षाकर्मीहरुले पनि ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुको पीडा आफ्नो ठाँउमा भइरहे पनि मधेशको राजनीतिबाट नेता बन्ने र अवसर प्राप्त गर्ने केही सौभाग्यशाली व्यक्तिहरु पनि मधेशमै देखिएका छन् ।

नेपालको भू–राजनीतिक अवस्थाले तराई क्षेत्रका बासिन्दालाई मधेशीको नामांकरणसंगै विभेदमा परेका जातिका रुपमा समेत स्वीकार गरिएको छ । नेपालको राजनीतिमा नै मधेश र मधेशी शब्दहरु चर्चित बनेका छन् । मधेशीहरुको हक र हितका नाममा आफ्नो स्वार्थ हासिल गर्ने प्रवृत्तिले प्रश्रय पाएको छ । मधेशी जनताका आवश्यकता के हुन् ? मधेशी जनता किन पछि परेका छन् ? मधेशी महिलाहरुमाथि किन बढि हिंसा हुने गर्छ ? यस्ता प्रश्नहरुतर्फ मधेशको नाममा राजनीति गर्नेहरुले कुनै चासो राखेको पाइँदैन । तरपनि मधेशी जनताका नेताको नाममा राज्यको उच्च तहमा पहुँच पाउनुका साथै देशलाई लुट्ने अवसर पनि केही व्यक्तिहरुलाई प्राप्त भएको छ ।

मधेशी जनताका अधिकारका लागि यदि सोच्ने नै हो भने मधेश केन्द्रित नेताहरुले छुट्टा छुट्टै पार्टीहरु बनाएर बस्नुपर्ने कुनै आवश्यकता छैन । अझ फराकिलो भएर सोच्ने हो भने समग्र नेपालको नेतृत्वमा पुग्न सक्ने जन आधार मधेशमा नै छ । मधेशबाट राजनीति गर्न चाहनेहरुले मधेशको मात्र नभएर समग्र नेपालको राष्ट्रिय हितमा सोच बनाउने र नेपाली जनताको जीवनस्तर कसरी माथि उठाउन सकिन्छ भन्ने बारे राष्ट्रिय नीति बनाउन सक्नुपर्दछ । यसतर्फ मधेशबाट नेतृत्व दिनसक्ने अवसर नभएको होइन । यस्तो अवसर नभएको भए मधेशका नेता डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति बन्न सक्नु हुने थिएन । मधेशवासीले अवसर पाएनन् भनेर संकुचित राजनीतिक सोच बनाउनु भन्दा परिणामलाई पनि हेर्नु आवश्यक हुन्छ । डा. रामवरण यादव देशको राष्ट्रपतिको रुपमा पदासिन रहँदा उहाँले बिताएका ६ वर्षमा मधेश र मधेशीहरुका लागि के गर्नुभयो ? यो निक्कै गम्भीर प्रश्न हो । नेपाली जनताका लागि गर्नुपर्ने कामतर्फ ध्यान नदिने केवल नेता बन्नको लागि मधेशी जनताका कुरा मात्र गर्ने काम ठीक होइन । देशको राष्ट्राध्यक्ष नै मधेशी भूमिबाट उठेको राजनीतिक व्यक्तित्व भएको बेला मधेशका लागि मात्र नभएर समग्र देशका लागि धेरै काम गर्न सकिन्थ्यो । मधेशबाट राष्ट्रपति मात्र होइन उपराष्ट्रपति पनि बनेका छन् । ठूला–ठूला पदीय जिम्मेवारीहरुमा मधेशवासी नागरिकहरुले अवसर नपाएका होइनन् । तर कसैले पनि अवसरलाई सदुपयोग गरेर जनताको हितमा कुनै काम गरेको उदाहरण पाउन सकिदैन । बरु उल्टो काम भएका तमाम उदाहरण दिन सकिन्छ ।

दक्षिणतर्फ खुला सिमाना भएकाले तराई क्षेत्रका बासिन्दाहरु सीमा पारीबाट हुने तमाम किसिमका समस्याहरुबाट पीडित हुनु परिरहेको छ । बर्खायाममा डुबानको समस्या , सिमा अतिक्रमणको समस्या , डकैती, हत्या, अपहरण र जबरजस्ती करणी जस्ता अपराधिक गतिविधिहरुको शिकार मधेशवासी जनता नै हुनु परिरहेको अवस्था छ । मधेशवासी जनताको वास्तविक समस्या यही हो । यस्ता समस्या समाधानका लागि मधेशबाट राजनीतिक नेतृत्व गरेका व्यक्तिहरुले कुनै पहल गरेको पाइएन । त्यसैले मधेशी जनताका अधिकारका कुरा गर्दै आफू सुविधाभोगी बन्ने गलत परम्परालाई तोड्न जरुरी छ । छुट्टा छुट्टै पार्टी बनाएर गुटका नेता बनेर आ–आफ्ना स्वार्थहरुमा तल्लीन हुनु भन्दा देशको उन्नतीका लागि संगठित आवाज उठाउन जरुरी छ । राजनीतिमा परम्परागत सोचको अन्त्य हुन जरुरी छ । देशको हित र जनताकोे उन्नती नै राजनीतिको लक्ष्य बन्नु जरुरी छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबाट सामुहिक नेतृत्वको विकास गर्दै समग्र नेपाललाई माथि उठाउने उद्घोषका साथ सुरु भएको एकता प्रक्रियाले समाजवादको गन्तव्यतर्फ सार्थक सफलता हासिल गरोस् । यो एकताबाट देशले एउटा वैकल्पिक सशक्त शक्ति पाएको अनुभूति जनतामा दिलाउन नेताहरु सफल होउन् । शुभकामना छ । -ramanpreeti033@gmail.com-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here