ढलान गरिरहेको पक्की पुल भत्केर ठेकेदारसहित ५ जना घाइते

8

काठमाडौं / गुल्मीको बडीगाड खोलामा ढलान भइरहेको पक्की पुल भत्किदा पाँच जना घाइते भएको छ । गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको थियो । पुल भत्किएपछि च्यापिएर पुलका ठेकेदार ऋषिराम इटानी गम्भीर घाइतेसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनु भयो ।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका(३ का २३ वर्षीय रामबहादुर कुमाल,३३ वर्षीय गणेश कुमाल, वडा नम्बर ४ का ५१ वर्षीय रूद्रबहादुर कार्की र बाग्लुङको बडीगाढ गाउँपालिका ७ का जेसिवी चालक तुलबहादुर राना परेका छन् ।

वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडीगाड खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिएका छन् । तर पुल र खोलाको अवस्था हेर्दा पुल बाढीले नभई कमजोर संरचनाका कारण भत्किएको हुनसक्ने स्थानीयले जानकारी दिएका छन्।

‘पछिल्लो केही दिन यता पानी नपरेको र खोलामा पानीको सतह पनि ठूलो छैन,’ नगरपालिकाका उपप्रमुख कमला गौतमले भनिन्,‘पुल बाढीले नभई संरचना कमजोर भएर भत्किएको हो। त्यसपछि खोलाको पानीले बगायो।’

पुलको दुई दिनअघिमात्र ढलान गरिएको थियो । ०७३ सालमा सम्झौता भएर गत वर्षदेखि पुल बनाउने काम भइरहेको थियो । पुल बनाउन तीन करोडभन्दा बढी रकम खर्च भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here