विवेकशील साझा पार्टीद्धारा भ्रष्टाचारविरूद्ध प्रदर्शन

16

काठमाडौं  / विवेकशील साझा पार्टीद्धारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध आज सोमबार बिहान १० बजे प्रदर्शन गरेको छ। ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरेका थिए ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गामा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीहरुले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको थियो ।

बालुवाटारभित्रको सरकारी जग्गा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीनको नाममा आएको देखिएको थियो। पार्टीको अभियान विभागले भ्रष्टाचारको विरोधमा देशव्यापी दबाब सिर्जना गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जनाएको छ ।

‘बालुवाटार, होटल हायात, बबरमहललगायत सरकारी जग्गा अपचलन र भ्रष्टाचार भएको छ,’ आचार्यले थपे ‘राज्यको उपल्लो तहको राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा सोच्नै नसकिने खालका भ्रष्टाचार गरेका छन्, जसविरूद्ध हाम्रो यो खबरदारी हो।’

विवेकशीलका नेता कार्यकर्ता हातमा ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शनी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here