नेपाली जनताको चेतनास्तर माथि उठाउन १० वर्षे युद्धको सकारात्मक योगदान रहेको छ

503
Bashant Chaudhary

भर्खरै मात्र अन्तर्राष्ट्रिय जमघटबीच लगानी सम्मेलन सम्पन्न भयो । तपाई जस्ता नेपालका चर्चित उद्यमीहरूको क्रियाशीलता देखिएन । किन होला ?
यो लगानी सम्मेलन नेपाल सरकारको आयोजनामा भएको हो । नेपालका उद्यमीहरू जस–जस्को आवश्यक्ता सरकारले महसुस ग¥यो उहाँहरूको क्रियाशीलता भएकै होला भन्ने लाग्छ मलाई ।

लगानी सम्मेलनले लिएको निष्कर्ष तपाईलाई कस्तो लागेको छ ?
लगानी सम्मेलन नै लगानीका लागि विश्व समुदायलाई आकर्षण गर्न भएको हो । लगानीकर्ताहरू आकर्षित भएकै पाइएको छ । त्यसैले सम्मेलनको निष्कर्ष सकारात्मक नै रहेको छ जस्तो लाग्छ । परिणाम भोलिका दिनहरूमा देखिदै जाला । सरकारले लगानीकर्ताहरूलाई वातावरण बनाइदिनुपर्छ । उद्योग व्यवसायको दर्ता पक्रियादेखि लाभांश प्राप्त गर्ने सम्मको वातावरण सहज बनाउनु जरुरी हुन्छ । त्यसतर्फ राज्यको ध्यान जानु आवश्यक छ ।

नेपालका उद्यमीहरूले लगानी गर्न नसक्ने अवस्था भएकाले यसरी बाह्य लगानीलाई हारगुहार गर्नु परेको हो ?
यो अलि जटिल विषय हो । नेपालमा लगानी गर्ने वातावरण त्यति सजिलो छैन । नेपालकै उद्यमीहरूको लागि पनि लगानी सहज छैन । कुनै पनि काममा प्रारम्भदेखि नै व्यवधान खडा गर्ने प्रयास हुने भएकाले लगानीका निम्ति क्षमता र चाहना भएर पनि नसकिने अवस्था छ । व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरू पनि सरकारी असहयोगको सिकार हुनुपरिरहेको अवस्थाले नयाँ काममा लगानी गर्ने उत्साह हुन नसकेको हो जस्तो मलाई लाग्छ । तर विदेशी लगानीकर्ताहरूका लागि सरकारले झन्झटिलो प्रक्रियालाई सच्याउन जरुरी हुनेछ । अन्यथा विदेशी लगानीकर्ताहरू आकर्षित भए पनि फर्केर जानुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने हुन्छ ।

जनतामा रहेको असन्तुष्टिलाई सम्बोधन गर्ने काम सरकारको हो भन्ने पनि मलाई लाग्छ। तपाईले संकेत गर्नुभएजस्तै देश युद्धको चरणमा फेरि प्रवेश गरेको जस्तो महसुस सबैलाई भएको छ

 

भनेपछि चाहना र क्षमता हुँदाहुँदै पनि नेपाली उद्यमीहरू पछाडि हटेका हुन् त ?
त्यसरी त नभनिहालौं, तर नेपालमा लगानीको वातावरण वास्तवमै छैन । हेपिएरै भए पनि जवरजस्ती काम गर्नुपर्ने अवस्था हाम्रो देशमा विद्यमान छ ।

प्रसङ्ग बदलौं, नेपालको राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
आफू राजनीतिक व्यक्तित्व परिएन ! तथापि राजनीतिलाई चासोका साथ हेर्नुपर्ने सचेत नागरिकका हैसियतले भन्नुपर्दा नेपालको राजनीति त अब स्थिरता तर्फ जानुपर्ने हो भन्ने लाग्छ मलाई । राजनीतिक अस्थिरताले नै देशलाई ठूलो नोक्सानी पु¥याएको छ । राजनीतिमा स्थिरता नहुँदा हरेक क्षेत्र प्रभावित हुँदो रहेछ । विगत तीन दशकभन्दा बढी समयदेखि हाम्रो देशको राजनीति अस्थिरताको समस्याबाट गुज्रिदै आएको छ । राजनीतिक अस्थिरताले राष्ट्रिय स्वाधीनतालाई पनि कमजोर बनाउँदो रहेछ । देशको अर्थतन्त्रलाई कमजोर बनाउँदो रहेछ । बेरोजगारी बढाउँदो रहेछ । अराजकता बढ्दो रहेछ । महँगी बढ्दो रहेछ । असुरक्षा, अशान्ति, अभाव सबैको सामना नेपाली जनताले गर्नुप¥यो । त्यसैले राजनीतिमा अस्थिरता भयो भने हरेक क्षेत्रमा निराशा बढ्दो रहेछ भन्ने कुरा हामीले भोगेका छौं । निकै तीतो अनुभव राजनीतिक अस्थिरताले गराएको छ । अब देशमा राजनीतिक स्थिरताको वातावरण बनेको छ । कमसेकम पाँच वर्षको लागि स्थायी सरकार बनेको छ । अब सबैखालका निराशाहरूलाई चिर्न राजनीतिक स्थिरताले सक्नुपर्दछ भन्ने मलाई लाग्छ ।

तपाईले निकै आशालाग्दो विचार पोख्नुभयो । तर जनतामा निराशा बढेको छ नि ?
अस्थिर सरकारको ठाउँमा स्थिर सरकार बन्ने अवस्था विकसित भएकोले आशा बढ्नु स्वाभाविक हो । तर जनअपेक्षित काम हुन नसकेको गुनासो जनताबाट आइरहेको अवस्थाले जनतामा निराशा बढ्दै जाने संकेत भने पक्कै गरेको मलाई पनि लाग्दछ ।

सरकारले जनतामा निराशा बढ्न नदिन के गर्नुपर्ला ? तपाईको सुझाव के छ ?
सबैभन्दा मुख्य कुरा हो रोजगारी सृजना । बढ्दो बेरोजगारीले देशको युवाशक्ति विदेशीन बाध्य भइरहेको छ । यो बाध्यतालाई अन्त्य गर्न सरकारले देशभित्रै रोजगारी सृजना हुने खालका कामहरूमा ध्यान पु¥याउनु जरुरी छ । युवा जनशक्ति देश विकासको मेरुदण्ड हो । जुनसुकै कामको लागि पनि जनशक्तिको आवश्यक्ता पर्छ । जनशक्ति बिना देशको विकास परिकल्पना गर्न सकिदैन । देशभित्र रोजगारी सृजना गर्ने कुरालाई सरकारले प्राथमिकतामा राख्ने हो भने हाम्रो कृषिप्रधान देशमा कृषिमा आधारित उद्योगहरू स्थापनातर्फ सरकारको ध्यान पुग्नु जरुरी हुन्छ । कृषिप्रधान देशमा खाद्यान्न लगायतका भान्सामा प्रयोग गरिने तरकारी र खुर्सानी समेत बाहिरबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाले हाम्रो देशको कारुणिक चित्र प्रदर्शन गरेको छ । जनशक्ति निर्यात गरेका छौं । कृृषिप्रधान देशमा खाद्यान्न आयात गरिरहेका छौं ! यो भन्दा गम्भीर कुरा अरु के हुन सक्छ ।

स्थिर सरकारले चाहने हो भने देशभित्र रोजगारी सृजना गर्न नसक्ने त होइन नि ? कि कसो ?
निश्चय पनि सरकारले गर्नुपर्ने काम हो । रोजगारी सृजना नगर्ने हो भने हाम्रो देश अब अगाडि बढ्न सक्दैन । ठूलो संख्यामा युवा जनशक्ति बाहिरिएको छ । यो अवस्था देशको लागि दूर्भाग्यपूर्ण हो ।

अब देशमा स्थिर सरकार छ, तर जनताले राजा आउ देश बचाउ भनेर नाराबाजी गरिरहेका छन् नि ?
हो, यस्तो सुनिएको छ र देखिएको पनि छ । राजा साधारण नागरिक भएर बसिरहेको अवस्था छ, तर जनताले पूर्व राजालाई सक्रियताका निम्ति दबाब दिइरहेको सुनिन्छ । जनताले किन यस्तो चाहना व्यक्त गरिरहेका छन् भन्ने बारेमा राजनीतिक दलका नेताहरूले गम्भीरतापूर्वक सोच्न जरुरी छ जस्तो लाग्छ मलाई । पूर्व राजाले राजसंस्था पूनस्र्थापनाको चाहना व्यक्त गरेको सुनिएको छैन । तर जनताले देखाएको असन्तुष्टि वास्तवमै राजनीतिक दलहरूका निम्ति सोचनीय विषय हो । जनतालाई किन चित्त बुझाउन सकिएन ? जनतालाई चित्त बुझाउन सक्ने हो भने सडकमा उत्रिएर जनताले नागरिक भइसकेका राजालाई गुहार्नुपर्ने अवस्था अवश्य आउने थिएन । त्यसैले कहीँ न कहीँ कमजोरी भएको छ भन्ने सत्यलाई आत्मसात गर्नैपर्छ ।

सक्रिय राजतन्त्रको पञ्चायती व्यवस्थाले ३० वर्ष लियो । पञ्चायतपछिका पनि ३० वर्ष बित्नै लागेको अवस्था छ । यो ६० वर्षको अवधि नेपालको राजनीतिक खिचातानीमै बित्यो हैन ?
तपाईले गम्भीर स्मरण गराउनुभयो । निश्चय पनि राजनीतिक स्वतन्त्रताका लागि नेपालले ठूलो फड्को मारेको छ । राजनीतिक स्वतन्त्रतासंगै देशको अर्थतन्त्र पनि बलियो हुन जरुरी हुन्छ । देशको अर्थतन्त्र बलियो बनाउन देशभित्रै हामीसँग पर्याप्त पुर्वाधारहरू छन् । पूर्वाधारहरूको सदुपयोग गर्ने कुरामा हामी अगाडि बढ्न सकेका छैनौं । यो नै विगत ६० वर्षको हाम्रो देशको पीडा हो । अझ मलाई त के लाग्छ भने १०४ वर्षको जहानियाँ राणा शासनको अन्त्यसंगै ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएका हाम्रा छिमेकी देशहरूले गरेको प्रगतिका सामू हामी निरीह छौं । हाम्रो अवस्था अझै आशालाग्दो देखिदैन । हामी यति दलदलमा भासिएका छौ कि अझै भासिने क्रम जारी देखिरहेको छु मैले । स्थिर सरकार भएकाले अलिकति आशा गर्ने ठाउँ पलाएको छ ।

तपाई स्थिर सरकार भन्नुहुन्छ, यो सरकारकै विरुद्ध सर्वत्र असन्तुष्टि बढेको छ । देश एक किसिमले युद्धको चरणमा प्रवेश गरेको छ । एउटा राजनीतिक दल माथि प्रतिबन्ध नै लागिसकेको अवस्था छ । यस्तो पनि स्थिरताको संकेत हो ?
जनताले स्थिर सरकार बनाउने म्यान्डेट दिएका छन् । त्यसैले सरकारको स्थिरतामा प्रश्न उठाउनु बेकार हो भन्ने मलाई लाग्छ । जहाँसम्म असन्तुष्टिका कुरा हुन्, जनतामा रहेको असन्तुष्टिलाई सम्बोधन गर्ने काम सरकारको हो भन्ने पनि मलाई लाग्छ । तपाईले संकेत गर्नुभएजस्तै देश युद्धको चरणमा फेरि प्रवेश गरेको जस्तो महसुस सबैलाई भएको छ । निसन्देह यो राम्रो पक्ष भने होइन । दश वर्षसम्म देशले हिंसात्मक युद्ध भोगेको छ । त्यसचरणमा देश र जनताले कति क्षति व्यहोर्नु प¥यो भन्ने कुरा हामी सबैलाई थाहा छ । त्यो युद्ध किन भएको थियो ? यो प्रश्नको उत्तर खोजी गरिनुपर्छ । त्यो युद्धले जनतामा चेतनाको स्तर धेरै माथि उठाएको छ । निकै ठूलो क्षतिका बीच त्यस युद्धले दिएको सकारात्मक उपलब्धि नै जनतामा विकसित भएको चेतनाको स्तर हो । जनतामा विकसित चेतनास्तरलाई अब पछाडि फर्काउन सकिदैन । अब जनताले कुनै पनि किसिमको विभेद सहनसक्ने अवस्था छैन । यो कुरामा राजनीतिक नेतृत्व सचेत बन्नु जरुरी छ । दश वर्षको हिंसात्मक युद्ध मात्र होइन, त्यस अघिदेखिको राजनीतिक आन्दोलनले विकसित गराएको जनचेतनलाई सामान्य रूपमा बुझ्न खोजियो भने देशले अझै ठूलो दुःख भोग्नुपर्नेछ । त्यसतर्फ हामी सबै सचेत बन्नु जरुरी छ ।

तपाई साहित्यतर्फ पनि निकै क्रियाशील देखिनु हुन्छ, उद्योग व्यवसाय र साहित्यलाई कसरी एकैसाथ हाँक्नु भएको छ ?
मेरो क्षेत्र व्यापार नै हो । म व्यापारिक घरानाको हुँदाहुँदै पनि बाल्यकालदेखि नै मेरो रुचि साहित्यतर्फ पनि थियो । यसको लगाव ममा पहिलेदेखि नै थियो । फेरि साँच्चै भन्ने हो भने मलाई व्यापार क्षेत्रभन्दा साहित्य क्षेत्र कति हो कति गुणा मनपर्ने क्षेत्र हो । त्यसैले पनि यो दुवै क्षेत्रलाई एकैसाथ अगाडि बढाउन मलाई सहज भएको हुन सक्छ । साँच्चै भन्ने हो भने व्यापारले तनाव मात्र दिन्छ, तर साहित्यले आनन्दित तुल्याउँछ । यो दुई क्षेत्रलाई मैले यसरी लिने गरेको छु ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here