देशको समृद्धिका निम्ति शैक्षिक गुणस्तरमा ध्यान दिनु जरुरी

34

-निशा तामाङ

नेपालको जनसंख्याका आधारमा नेपाली जनताले पाउनुपर्ने जन्मसिद्ध अधिकार भनेको पढ्न पाउनु पनि एउटा महत्वपूर्ण अधिकार मान्न सकिन्छ । शिक्षा भएन भने देशले योग्य नागरिक पाउन सक्दैन । त्यसैले पनि शिक्षालाई नैसर्गिक अधिकार बनाउनु आवश्यक हुन्छ । त्यसपछि शिक्षाको गुणस्तरतर्फ राज्यले नै ध्यान पु¥याउनु पर्दछ । देशका लागि गुणस्तर शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्दछ । दक्ष जनशक्तिले नै देशलाई कसरी समृद्ध बनाउने भन्ने सवालमा चिन्तन गर्न सक्दछ । त्यसैले भन्न सकिन्छ –शैक्षिक गुणस्तर आजको आवश्यकता हो।

देश विकासका लागि विद्यार्थीको शैक्षिक गुणस्तरले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विद्यार्थीको ज्ञान, क्षमता र सीप विकासले नै देश प्रगतिको बाटोतर्फ अग्रसर हुन्छ । कुनैपनि देशको विकासका लागि विद्यार्थीको खोज तथा अनुसन्धानले महत्वपूर्ण योगदान पु¥याएको हुन्छ । तर अहिले विश्वविद्यालय तथा विद्यालय वरपर शोधपत्रको व्यापार गर्ने कार्यले विद्यार्थीको शैक्षिक क्षमतामा ह्रास आउने काम भइरहेको छ । विशेषगरी स्नातकदेखि स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा शोधपत्र खरिद गरेर बुझाउने गरेको पाइन्छ । शोधपत्रको बिक्री वितरणले विद्यार्थीको शैक्षिक गुणस्तरमा प्रश्न उठाएको छ । विद्यार्थीलाई सिर्जनात्मक, मेहनती र खोजकर्ता बनाउने उद्देश्यसहित विश्वविद्यालयले शोधपत्रको अवधारणा ल्याएको हो । तर भर्खरै मात्र शोधपत्र किनबेचमा प्राध्यापकको समेत संलग्नता भएको समाचारले यो सोच्न बाध्य बनाएको छ कि देशको शैक्षिक गुणस्तरको विकास यस्ता गुणस्तरहीनहरूबाट कसरी सम्भव होला ? चिन्ता गर्नुपर्ने अवस्था सृजना भएको छ ।

काठमाडौं जिल्लालाई केही दिन अगाडि मात्रै सरकारबाट साक्षर घोषणा गर्ने तयारी गरिएको छ । साक्षर घोषणा गरेर मात्रै हुँदैन । साक्षरतामा गुणस्तरता हुनुपर्छ । विद्यार्थी साक्षर मात्र भएर हुँदैन, विद्यार्थीको शैक्षिक गुणस्तरमा साक्षरता हुनुपर्ने आजको आवश्यकता छ । अहिले हरेक विद्यार्थी गुणस्तर शिक्षा आर्जन गर्न भन्दा पनि जसोतसो प्रमाणपत्र थुपार्नतर्फ मात्र ध्यान दिइएको पाइन्छ । विद्यार्थीहरू गुणस्तर शिक्षा आर्जन गर्न छोडेर डबल डिग्री गरेको देखाउन प्रमाणपत्र थुपार्ने लक्ष्यतर्फ अकर्षित भएको पाइन्छ । यसले विद्यार्थीको शैक्षिक गुुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ । अझ विद्यार्थीलाई सिर्जनात्मक खोजकर्ता तथा अनुसन्धानकर्ता बनाउन मद्धत पु¥याउने शोधपत्रको तयारी गर्नुपर्ने विषयमा शोधपत्रको व्यापारले विद्यार्थीको शैक्षिक गुणस्तर कमाजोर बनाएको छ । शोधपत्र विद्यार्थीले अध्ययन अनुसन्धान गरेर तयार पार्ने हुँदा यसमा उनीहरूको बौद्धिक क्षमता व्यवहारिक रूपमा वृद्धि हुने हुन्छ । विषयगत व्यावहारिक ज्ञान तथा बौद्धिकता वृद्धि हुने हुँदा विद्यार्थीले शोधपत्र तयार गर्दा अध्ययन गरेको विषयगत खोज तथा अनुसन्धानले देश विकासको लागि विद्यार्थीको शोधपत्रले सबल भूमिका खेल्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ । विद्यार्थीका लागि शोधपत्र तयार गर्नु भनेको आफूले राम्ररी बुझ्न चाहेको विषयमा अझ धेरै खोज तथा अनुसन्धान गर्ने र बुझ्ने मौका हो, जसको तयारी आफैले गर्दा आफ्नो क्षमता वृद्धिमा मद्धत पुग्दछ ।

शोधपत्र कसरी तयार गर्ने भन्ने बारेमा धेरैलाई ज्ञान नहुँदा विद्यार्थीलाई गाह्रो लाग्नु स्वाभाविक हो । तर विद्यार्थीहरू आफैले शोधपत्र तयार गर्दा पनि धेरै त्रुटि हुने हुँदा उनीहरूलाई यो झन्भटको विषय लाग्ने गरेको हुन सक्छ, जसको कारण विद्यार्थीहरू शोधपत्र तयार गर्न सहज विकल्प खोज्ने गर्दछन् । शोधपत्र छोटो समयमा तयार हुन सक्दैन । शोधपत्र लेख्न समय र मिहेनतको खाँचो पर्दछ । तर आहिले विद्यार्थीहरू शोधपत्रमा त्यती समय लगानी गर्न चाहँदैनन् या उनीहरू दुई तीन क्षेत्रकोे पढाईका कारण शोधपत्रको लागि समय दिन सक्दैनन् । अन्ततः विद्यार्थीहरू शोधपत्र तयार गर्न सहज विकल्प खोज्दै विद्यालय वरपर राखिएका शोधपत्रको नक्कल खरिद गर्न अग्रसर हुने गर्दछन् । जसले गर्दा भोलिको दिनमा शैक्षिक गुणस्तरको अवस्था चिन्ताजनक हुने निश्चित छ । गुणस्तर बिनाको उत्पादनले देशको समृद्धिमा कस्तो टेवा पु¥याउला ? सोचनीय पक्ष हो ।

विद्यार्थीले कुनै विषयबस्तुको गहिराईमा अध्ययन गर्दै त्यस विषयबारे अनुसन्धान तथा खोज गर्ने तथा विषयसंग सम्बन्धित समस्याको निष्कर्ष निकाल्दै त्यसको समाधान गर्न सुझाव दिन अनुसन्धानमुलक रिपोर्ट तयार गर्नु नै शोधपत्र तयार गर्नु हो । शोधपत्र यसरी विभिन्न विद्यालय वा स्टेशनरीमा किनबेचले शैक्षिक गुणस्तर एवम् शोधपत्रको गुणस्तरलाई समेत कमजोर बनाउँदै लगेको देखिन्छ । यसको रोकथाम नगर्ने हो भने शोधपत्रको महत्व रहने छैन ।
शोधपत्रको किनबेच यसरी भइरहनुमा विश्वविद्यालय र क्याम्पसको पनि लापरवाही हो । शोधपत्र तयार गर्ने विषयमा चरम लापरवाही र हेलचेक्र्याइँ भएको छ । यस्ता चोरेर, सारेर र किनेर बनाइएका शोधपत्रबाट नेपालको शैक्षिक गुणस्तर कस्तो होला ? यो विषय शोधपत्र बुझाउनेवालाले पनि बुझ्नुपर्ने कुरा हो । यस्तो किनबेचको शोधपत्र तयारीबाट गुणस्तरहिन शिक्षा मात्र हासिल हुने निश्चित छ । अहिले सरकारले प्रथम डिभिजन ल्याउनेलाई मात्र शिक्षकको लागि नियुक्ति गर्ने भनेर शिक्षा नीति ल्याउने तयारी गरिरहेको छ । तर यसरी किनबेचको शोधपत्र तयारीबाट प्रथम भएकाहरूलाई शिक्षक बनाउँदा देशको भविष्य र विद्यार्थीहरूको भविष्य कस्तो होला ? यसबारे सोच्न जरुरी छ । यस्तो शिक्षकबाट दिइएको शिक्षाले देशको समृद्धि होइन विनाशलाई निम्त्याउने निश्चित छ । देशले विकास गर्न नसक्नु र भ्रष्टाचार बढ्दै जानु यस्तै गुणस्तरहीन शिक्षा प्रणालीले गर्दा हो भन्दा फरक नपर्ला ।

विश्वविद्यालयले शोधपत्रमा कडाई गर्न सफ्टवेयरमा राख्ने तयारी गरेको सुन्नमा आएको छ । जसले गर्दा हुबहु मिल्ने शोधपत्र भए रिजेक्ट गरेर पुनर्लेखनको लागि भन्न सक्ने आशा पलाएको छ । शोधपत्रको तयारीका लागि अध्ययन अनुसन्धानको विषयभन्दा नक्कल गर्ने र चोरी गर्ने विकृति बढ्नाले र शिक्षकले पनि सहजै स्वीकार गर्नाले यसको विकृति फैलिएको हो । यस्तो विकृतिमा रोक लगाउन संयन्त्र तयार गर्न नसक्नु वा एउटै शोध निर्देशकले धेरै विद्यार्थीको जिम्मा लिएका कारण पनि शोधपत्र तयार गर्नुमा विकृति बढ्दै गएको हो भन्न सकिन्छ । सम्बन्धि निकायको ध्यान पुग्नु जरुरी छ । जनधारणा साप्तहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here