भारतीय हैकमसामु नतमस्तक रहने नेपालीहरूको आश्चर्यजनक चिन्तन

3

 चन्द्रप्रकाश बानियाँ

यतिखेर भारतमा सोह्रौंं लोकसभाको निर्वाचनअभियान चलिरहेको छ । स्वभावतः सिङ्गो भारत चुनावमय हुने नै भो । ‘चायवाला’ को रूपमा भारतीय राजनीतिमा उदाएका मोदीले यसपटकको चुनावमा ‘चौकीदार’ को रूपमा आफूलाई प्रस्तुत गरेका छन् । अघिल्लो चुनावमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्न असफल भएका मोदीका लागि यो चुनाव कठिन हुनुपर्ने हो । तर त्यस्तो देखिदैन । मोदीका लागि सौभाग्यको विषय के रह्यो भने विपक्षीले उनको प्रतिद्वन्दीको रूपमा एउटा साझा अनुहार अघिसार्न सकेनन् । काँग्रेस एक्लै भाजपाको प्रतिश्पर्धामा उभिन सक्ने हैसियत राख्दैन । राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी वा अन्य कुनै पार्टीको नेतालाई विपक्षीले साझा उम्मेदवार बनाएर मोदीको विकल्पमा उभ्याउन सकेका भए परिस्थिति फरक हुनसक्थ्यो । त्यसो हुन नसकेको हुनाले मूलतः भारतको राजनीति मोदीको वरिपरि घुम्ने परिस्थिति सिर्जना भएको छ भन्दा फरक पर्दैन । जनमत आकर्षित गर्नका लागि मोदीसँग पनि कुनै नयाँ विषय थिएन । विपक्षीहरू संगठित पनि रहेनन् र उनीहरूसँग उति आकर्षक नारा दिने क्षमता पनि देखिएन । विपक्षहरूको एकमात्र चुनावी मुद्दा “मोदी हटाउ” रहेको देखिन्छ । त्यसैले मोदीलाई पून सत्तारुढ गराउने कि हटाउने भन्ने कुरा नै निर्वाचनको चुरो विषय बनेको छ । अर्थात भारतको यसपटकको निर्वाचन मोदीको पक्ष विपक्षमा गरिने जनमतसंग्रहजस्तो मात्र हुने देखिन्छ ।

प्रधानमन्त्री मोदीले आफूलाई देशको चौकीदार भनेर दावा गरेपछि त्यो विषयले निकै चर्चा पाएको छ । भाजपाका सबै नेता कार्यकर्ताहरूले समवेत स्वरमा आफूलाई चौकीदार भन्न थालेका छन् । भाजपाका सबै नेताहरूका नामको अगाडि ‘चौकीदार’ लेख्ने अभियान नै चलेको छ । चौकीदार लेखिएको पट्टी निधारमा बाँध्ने फेसन नै बनेको छ । विपक्षी पार्टीहरूले ‘चोर चौकीदार’ भनेर सार्वजनिक टिप्पणी गर्ने गरेका छन् । जनता आकर्षित गर्ने नयाँ विषय नभएपछि राजनीतिक दलहरूले राष्ट्रवादको नारा अघिसार्छन् भनिन्छ । राष्ट्रवाद र विकासको मुद्दा अघिसारेर अघिल्लो निर्वाचन जितेको भाजपाले यसपटकको निर्वाचनमा राष्ट्रवादलाई निर्वाचनको मुख्य मुद्दा बनाएको छ । विकासको गुजरात मोडल नराम्रोसँग असफल भएपछि भाजपासँग बाँकी बचेको विषय राष्ट्रवाद मात्र थियो । मोदीले आफूलाई निख्खर राष्ट्रवादी भनेर दावीगर्ने अर्थमा ‘राष्ट्रको चौकीदार’ भन्ने शब्दावलीको प्रयोग गरेका हुन् । चौकीदार भन्ने शब्दलाई परिभाषित गर्ने सन्दर्भमा नेपाल पनि जोडिन पुग्यो । त्यसले नेपाललाई चौकिदारहरूको मुलुक भन्ने अर्थमा बुझ्ने र हेप्ने परम्परागत भारतीय मनोविज्ञान सार्वजनिक गरिदियो । निर्वाचनमा मत आकर्षित गर्ने सन्दर्भमा अघिसारिएको एउटा शब्दले नेपाल र नेपालीलाई हेप्ने मानसिकताबाट आज पर्यन्त भारतीय समाज मुक्त नभैसकेको कुरा प्रमाणित गरिदिएको छ ।

केही सञ्चार माध्यमहरूले गरेको निर्वाचन परिणामको प्रारम्भिक अनुमान सर्वेक्षणले भारतीय जनता पार्टी पुनः सत्तामा आउने देखाएको छ भनिन्छ । नेपालको अग्रसरतामा बनेको र हाल अध्यक्षसमेत रहेको दक्षिण एसियायी मुलुकहरूको साझा संगठन सार्क यसपटकको भाजपाको चुनावी घोषणापत्रबाट गायव भएको छ । दुबै देशको साझा सहमतिमा निर्माण भएको द्विदेशीय प्रबुद्ध समूहले तयार पारेको साझा प्रतिवेदन बुझ्न मोदीसरकारले अस्वीकार गरेको छ । नेपालप्रति सकारात्मक हुन सधै हिच्किाउने मोदी नेतृत्वको भाजपाले पुनः निर्वाचन जित्नुको अर्थ नेपाललाई अपहेलना गर्ने, अपमानित गर्ने र हेप्ने सरकारी नीतिको अनुमोदन हुने भएको छ भन्नु आग्रह मानिने छैन । नेपालमा राष्ट्रवादको पर्याय भारतविरोधलाई मानिएजस्तै पाकिस्तानको विरोध भारतीय समाजमा राष्ट्रवादको मानक मानिन्छ । मोदीले यसपटक निर्वाचन जित्नका लागि त्यही कार्ड प्रयोग गरेका छन् । निर्वाचनको मुखैमा अन्तराष्ट्रिय आतङ्कवाद विरुद्धको अभियानको निहुँमा पाकिस्तानको सिमाभित्र हवाई हमला गर्नुको कारण चुनाव आफ्नो पक्षमा पार्ने घृणित प्रपञ्च थियो भन्न सकिन्छ । मोदीको राष्ट्रवादको परिभाषाभित्र नेपालविरुद्ध लगाइएको नाकावन्दी पनि पर्दछ भन्ने कुरा सार्वजनिक रूपमा त्यसलाई गल्ती भनेर स्वीकार नगरेबाट प्रष्ट हुन्छ । मोदीले दोहो¥याएर चुनाव जित्नु मोदीको राष्ट्रवादले भारतीय जनताको समर्थन प्राप्त गर्नु हो । मोदीको राष्ट्रवाद अनुमोदित हुनु भनेको नेपालमाथि अन्यापयूर्वक लादिएको नाकावन्दी ठिक थियो भन्ने भारतीय समाजको स्वीकारोक्ति पनि हो ।

भारतीय मतदाताको मत नेपालीहरूको आसय र अपेक्षाबाट प्रभावित होओस् भन्नु व्यवहारिक चिन्तन मानिदैन । मोदीलाई जिताउनु हराउनु विशुद्ध भारतीय मतदाताको स्वतन्त्रता हो । अर्थात सिङ्गो भारतीय समाजले नेपाललाई मोदीको आँखाबाट हेर्छ र उनकै विवेकबाट व्यवहार गर्छ भने हाम्रो लाग्ने केही रहँदैन । हामीले भारत र भारतीय सत्तालाई कसरी हेर्छौं बुझ्छौं भन्ने कुराले भने अर्थ अवश्य राख्दछ । ‘जवान (नयाँ) देश भारत संसारको सवभन्दा ठूलो प्राजतान्त्रिक मुलुक हो’ भनेर भारतका चर्चित वामपन्थी युवानेता डा. कनैयाकुमारले आफ्ना सम्बोधनहरूमा सगौरव उल्लेख गर्ने गर्छन । आफूसँग जे छ त्यसैमा गौरव गर्ने न हो । हामी नेपालीहरूले पनि हाम्रो मुलुक दक्षिण एसियाको सबभन्दा पुरानो देश हो भनेर गौरव गर्छौ । नेपाल भारतभन्दा जेठो मुलुक हो । तर एउटा तितो ऐतिहासिक यथार्थ के पनि हो भने नेपालको वर्तमान सिमाना तत्कालीन भारतको शासक अर्थात इष्टइन्डिया कम्पनीसँग भएको सुगौलीसन्धीबाट निश्चित भएको हो । राष्ट्रसंघको सदस्यता लिँदा प्रस्तुत गरिएको सिमारेखा त्यही हो । त्यही सिमारेखाभित्रको भूभाग पनि तलमाथि भएको छैन भन्न सकिने अवस्था छैन । ६० हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल भारतको अतिक्रमणमा परेको छ भन्ने अनौपचारिक दावी रहँदै आएको छ । किनकि त्यस्तो दावी सरकारकातर्फबाट गरिएको प्रमाण देखिदैन । सुगौली सन्धीमा गुमेको भूभागसमेत फिर्ताको मसिनो आवाज जनस्तरबाट उठ्ने गरेको छ । सुगौली सन्धीले तोकेको सिमा पुनरावलोकनको लागि द्विदेशीय संयन्त्र बनेको छ र त्यसले निरन्तर काम गर्दैछ भनिने हुनाले नेपालको सरकार कमसेकम त्यही सिमा कायम गराउने प्रयत्नमा छ भन्नुपर्छ । खासगरेर कालापानी र सुस्ताजस्ता अतिक्रमित क्षेत्रहरूको स्वामित्व ढिलोचाँडो नेपाललाई हस्तान्तरण गर्ने सदाशयता भारतीय सत्ताले देखाउने छ भन्ने सरकारको अपेक्षा छ भन्नुपर्छ ।

मेची वारीपारी मिचिएको सिमाको सन्दर्भमा कुनै जमानामा वर्तमान प्रधानमन्त्रीले ‘दुई चार मिटर जमिन यताउता हुँदैमा कुनै फरक पर्दैन’ भनेका थिए । नेपाली भनेको पहाडी खसहरू मात्र हुन् भनेर मधेस र मधेसीको अस्तित्व स्वीकारै नगर्ने छविसमेत बनाएको नेताको उपर्युक्त भनाई र नेपालीहरूको चिन्तनमा संगति देखिदैन । मधेसीका अपेक्षा नेपालको संविधानबाट सम्बोधित हुनुपर्ने आवश्यकता नै नदेख्ने नेतालाई सिङ्गो नेपालले होनहार राष्ट्रवादीको पगडी भिराइदियो । मधेस र मधेसीसँग राज्यद्वारा गरिनुपर्ने व्यवहारको सन्दर्भमा पहाडी जनमत खड्गप्रसाद ओलीको समर्थनमा उभिएको थियो । यहीनेर असंगति के देखिन्छ भने नेपाली मनहरूले देशका एक एक इञ्च जमिनको माया गर्नुपर्ने हो । देशको सिमाभित्र वसोवास गर्ने सबै जातजातिलाई नेपाली देख्न नसकेपनि तिनले उपभोग गर्दै गरेको जमिन त नेपाली होभन्ने मान्यता राख्नुपर्ने हो । महाकाली सन्धीदेखि सिमामा हुने गरेका भारतीय अतिक्रमणप्रति ओलीजीको समर्थन देशहित विरुद्ध छभन्ने कुरा नेपाली जनमतले बिर्सिदियो । केवल मधेसी जनसमुदायलाई अनेपाली ठान्ने र राज्यका तर्फबाट सौतेलो व्यवहार गर्ने ओलीचिन्तनलाई प्रशंसनीय राष्ट्रवाद मानेर समर्थन गरियो । त्यसअर्थमा सुगौली सन्धीमा गुमेको भूभागमा नेपालले दावी गर्नुपर्छ भनेर चलाइने अभियानलाई अधिकांश नेपालीहरूको समर्थन प्राप्त होला भन्न सकिदैन । प्रकारान्तरले २/४ मिटर जमिन यताउता भएको छ भने पनि त्यसको चिन्ता वास्ता गर्नुृ आवश्यक छैन भन्ने नेताको विचारसँग आमजनता सहमत रहेछन् भन्नुपर्ने हुन्छ । किनकि तिनै उदार नेताको नेतृत्वमा चुनाव लडेको नेकपालाई नेपाली जनमतले. दुईतीहाईको बहुमत दिएको छ । संसदीय सिटमा मात्र होइन, तत्कालीन एमाले र प्रचण्ड माओवादीले प्राप्त गरेको लोकप्रियमत पनि दुईतीहाईकै हाराहारीमा थियो ।

ठूलो दाजुको अलिकता बलमिच्याई सहिदिनुपर्छ, पचाउनुपर्छ भन्ने मान्यता नेपालको राजनीतिक नेतृत्वले सदाकाल राख्दै आएको छ । त्यस्तो निम्छरो चिन्तनबाट नेपालको राजसंस्था पनि मुक्त थिएन । ४÷४ महिना लामो नाकावन्दी लगाएर घाँटी अँठयाउन खोज्ने मोदीलाई आफ्नो कार्यकालमा ४÷४ पटक भ्रमण गरिदिएर नेपाली माटो पवित्र बनाइदिएको मानेर अनुगृहित हुनुपर्ने कुरा सार्वजनिक रूपमा अभिव्यक्त गर्नसमेत लाज नमान्ने जमातको अस्तित्व नेपालमा गतिलै छ । नेपाली राष्ट्रवादको वास्तविक रूप त्यही हो । समाजले नेता जन्माउने हो । हिन्दू धर्म मात्र होइन, हिन्दूस्तानप्रति नेपालीहरूको विशेष मोह र आदरभाव रहँदै आएको छ । उसलाई अभिभावक मान्ने मनोविज्ञानबाट नेपालको राजनीति ग्रसित छ । राजनीतिभन्दा सांस्कृतिक अतिक्रमण झन विशाल र व्यापक छ । त्यसैले उताबाट थोपरिएको संस्कार संस्कृतिलाई समेत आफ्नो मान्ने भ्रमबाट ग्रसित छौं । नेपाली चिन्तन “आ बैल, मुझे मार !” भन्ने खालको भइदिएपछि उताको व्यवहार स्वत हैकमी हुनेनै भयो । विद्वान, बुद्धिजीवि र राजनितक नेता कार्यकर्ताहरूले नेपाल र भारतको सरकारहरूबीच समानताको सम्बन्ध नरहे पनि दुई देशका जनताबीचको सम्बन्ध अर्थात जनस्तरको सम्बन्ध सुमधुर छ भन्ने गर्छन् तर त्यस्तो भनाई र मान्यता गलत हो । होला एक्का दुक्का व्यक्तिविशेष नेपालप्रति उदार सदभाव राख्ने होलान् तर भारतीय सरकारले जसरी हैकमी प्रवृत्ति प्रदर्शन गर्छ त्यही नै आम भारतीय समाजको मनोविज्ञानको प्रतिविम्ब होइन भन्न सकिन्न । किनकि भारतीय नेतृत्व भारतीय समाजकै उत्पादन हो ।-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here