देशमा व्याप्त भ्रष्टाचार र प्रधानमन्त्रीको ठट्यौली चेतावनी

20

-राज्यलक्ष्मी शाक्य

नेपालमा फैलिएको भ्रष्टाचार सायदै अन्त्य नहुने जस्तो देखिन थालेको छ । जति नियन्त्रण गर्न खोज्यो त्यति नै बढ्दै गएको पाइने गरेको छ नेपालको भ्रष्टाचार । वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको दाबी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको गन्ध आए सिधै कारवाही गर्ने भनेर ठट्यौली पारामा चेतावनी दिइरहेका छन् । तर उनको चेतावनीलाई भ्रष्टहरुले टेरपुच्छर लगाइरहेका छैनन् । देशमा व्याप्त भ्रष्टाचार र भ्रष्टाचार हुन नदिन सबै निकायलाई पारदर्शी ढंगले काम गर्न कडा निर्देशन पनि प्रधानमन्त्रीले दिएको सुन्न पाइन्छ । तर पनि भ्रष्टाचार देशव्यापी बनेको छ । भ्रष्टाचारीलाई कालोमोसो दलिएका र जुत्ताको माला लगाएर जनस्तरबाटै कारवाही गरिइएका घटनाहरु सञ्चारमाध्यममा आइरहने गरेका छन् । यो स्थितिले भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने कुरालाई उजागर गरेको छ ।

नेपालमा यस्तो भ्रष्टाचार स्वार्थको द्वन्द,सरकारी कारबाही र नियन्त्रणकारी क्षमता, राजनितिक भ्रष्टाचार ,आयात–निर्यातमा हुने घूसखोरी, कर र ठेक्कामा हुने अनियमितताका कारण हुने गरेको पाइन्छ । राज्यको नेतृत्व तहमा रहेका पदाधिकारीदेखि लिएर सामान्य व्यापार व्यवसायमा लाग्नेहरु समेत कुनै न कुनै रुपमा भ्रष्टाचारमा संलग्न भएका छन् । कतिपय त सजायका भागिदार समेत बनेका छन् । राजनीतिक दलका नेताहरु र कार्यकर्ताहरु समेत भ्रष्टाचारमा संलग्न देखिन्छन् । राजनीतिकर्मीको आड र संरक्षणमा भ्रष्टाचार हुने गरेको पाइन्छ । भ्रष्टाचारमा आरोप लागेका व्यक्तिलाई छ्ुटाउन वा उन्मुक्ति दिलाउन राजनीतिक तहबाटै दबाब आउने गरेका कारण पनि देशमा भ्रष्टाचार विकराल रुपमा फैलिदै गएको स्पष्ट छ । जबसम्म राजनीतिक तहबाट भ्रष्टाचार विरुद्धको संकल्प गरिदैन, तबसम्म भ्रष्टाचार कम हुन सक्दैन बरु बढेर जान्छ ।

भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै लागि एक चुनौतिपूर्ण कार्यको रुपमा रहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचार गर्नेहरुलाई तर्साउने र चेतावनी दिएर नियन्त्रण गर्छु भन्ने सोचेर मात्र हुँदैन । भ्रष्टाचार गर्नेहरुलाई सही मात्रामा कारवाही अगाडि बढाउन सक्नुपर्छ । नेपाल जस्तो विकासोन्मुख मुलुक समेत बढी भ्रष्टाचार हुने मुलुकहरु मध्ये अग्रणीमा पर्दछ भनिएको छ । भ्रष्टाचारकै कारण देशमा विकास हुन सकेको छैन । यस्तो परिस्थितिमा हामी सचेत नागरिकहरुले भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचार विरुद्ध एक जुट भएर सशक्त रुपमा आवाज उठाउन अग्रसर हुनु आवश्यक छ । भ्रष्टाचार नियन्त्रण गर्न कुनै एउटा संघ संस्था समूह र व्यक्तिले मात्र प्रयास थालेर नपुग्ने भएका कारण सम्पूर्ण नागरिकहरु सशक्त रुपमा एकजुट भएर नियन्त्रण गर्न लाग्नु पर्दछ । तथापि आम नागरिकलाई परिचालन गर्ने शक्ति भनेको राजनीतिक शक्ति नै हो भन्ने कुरालाई अस्वीकार गर्न सकिन्न ।

भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज प्रदुषित भएको भावना व्यक्त गरेका थिए । तर हालको अवस्थामा भ्रष्टाचार यतिसम्म बढ्दै गएको छ कि यसलाई ढाकछोप गर्न जरुरी नै छैन । भ्रष्टाचार भइरहेको छ र सरकारी निकाय नै भ्रष्टाचारमा संलग्न भएका उदाहरण सार्वजनिक भइरहेका छन् । तर वर्तमान सरकार यसबारे केही कठोर कदम अगाडि बढाउने पक्षमा देखिदैन । यसरी त समाजमा भ्रष्टाचार संस्कार मात्र होइन यसले आदर्श परम्पराको रुप लिने डरलाग्दो अवस्था आउने निश्चित छ ।

दुई तिहाईको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को आधारमा देश विकास गर्ने सपना लिएर हिडिरहेका प्रधानमन्त्रीको सपना साकार भ्रष्टाचार नियन्त्रण गरेर नै हुन सक्छ । तर अहिले जताततै भ्रष्टाचार बढिरहेको अवस्थामा ‘समृद्ध नेपाल सुखी नेपाली’को कल्पना गर्नु व्यर्थ देखिन्छ । भ्रष्टाचारको अन्त्य भए मात्र जनताको भरोसा सरकारप्रति बढेर जाने निश्चित हुन्छ । भ्रष्टाचार जतिबेला अन्त्य हुन्छ , त्यतिबेला मात्र जनता सुखी हुन्छन् र समृद्ध नेपाल बन्ने आधार पनि निर्माण हुँदै जाने आशा पनि गर्न सकिन्छ ।-rajyalaxmishakya@gmail.com-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here