तराई–मधेशका समस्या पहिचान गर्ने सवालबारे

51

-प्रीति रमण

तराई–मधेशका समस्या पहिचान गर्ने सवालबारेप्रीति रमणतराई–मधेशको समस्याबारे त्यहाँका बासिन्दाहरुलाई जति अनुभव होला अरु कसैलाई हुन सक्दैन । तराई–मधेशको अधिकारका नाममा भइरहेको राजनीति वास्तवमै त्यहाँका बासिन्दाहरुका लागि भइरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । तराई–मधेशको नाममा चर्चित पुराना नेता गजेन्द्र नारायण सिंहदेखि अहिले चर्चामा रहेका सिके राउतसम्मले काठमाडौंले अधिकार नदिएको भन्दै छुट्टै मधेश बनाउनेसम्मका धम्की दिँदै आएका छन् ।तराई–मधेशलाई मुलधारबाट पछि पारिएको भन्दै विभिन्न आन्दोलनहरु हुँदै आइरहेका छन् । यस्ता आन्दोलन मधेशी जनताको अधिकारका लागि भनेर गरिँदै आएका छन् । जसले गर्दा कैयौँ सर्वसाधारण जनताले ज्यान गुमाउनु परिरहेको छ ।

यसबाट राजनीतिक नेतृत्वले त पटक पटक सत्ताको स्वाद लिने अवसर पाएकै छन्, तर तराईमा व्याप्त चूनौति जहाँको त्यहीँ नै छन् र समस्या समाधानका लागि कतैबाट प्रयास समेत भएको देखिदैन ।कतिसम्म भने राजनीतिक आन्दोलनमार्फत राष्ट्रिय राजनीतिलाई हल्लाउने तराई–मधेशमा दाइजोका नाममा हुने अपराध, बालबालिकामाथि हुने बलात्कार र हत्या, धनी र गरीबबीच हुने विभेदका कारण आफै धर्मराउने गरेको छ । कहिले प्राकृतिक विपत्तिको चपेटामा त कहिले मानव सिर्जीत समस्याको चपेटामा पर्ने तराई– मधेशले मानव सिर्जीत समस्या समाधान गर्ने सक्षम नेतृत्व अहिलेसम्म पनि प्राप्त गर्न सकेको छैन ।तराई मधेशको राजनीतिक नेतृत्वमा जनतालाई भोट बैंकका रुपमा मात्र प्रयोग गर्ने प्रवृत्तिका कारण जनताले आफ्नै राजनीतिक नेतृत्वका कारण दुःख पाइरहेको छ ।  आफ्नो राजनीतिक गतिविधिको थलो बनाउने राजनीतिक दलहरु कतिसम्म चलाख छन् भने समाजमा व्याप्त कुरीतिलाई पनि काठमाडौलाई नै दोष दिएर आफ्नो राजनीतिक दाउलाई सोझ्याउन तयार देखिन्छन् । यस्तै विकृत सोचाइका कारण तराई–मधेशका आम जनता सामाजिक कुरिती, कुसंस्कार र विभिन्न समस्याबाट जुधिरहेका छन् ।अहिले पनि तराई–मधेशका नागरिकले भारतीय सीमासँग जोडिएको उत्तरप्रदेश र बिहारबाट आउने भारतीय सुरक्षाकर्मी र अपराधिक समुहबाट लुटपाट र आक्रमणको सिकार हुनुपर्ने बाध्यता बनिरहेको छ । तराईमा लामो समयदेखि जकडिएर रहेको दाइजो प्रथा शिक्षित भनिएका व्यक्तिहरुबाटै प्रवद्र्धन भइरहेको छ । पारिवारिक सम्बन्ध गाँस्ने जस्तो पवित्र कार्यमा दाइजोका नाममा यातना र पीडा दिने काम पछिल्लोपटक थप चूनौतिपूर्ण बन्दै गइरहेको छ । जातीय प्रथा र हुनेखाने जमिन्दार र गरिखाने मजदुर वर्गका बीचमा समेत तराई–मधेशमा निकै ठूलो विभेद छ । त्यसैले भन्न सकिन्छ तराई–मधेशवासी जनताका दुश्मन भनेका तराई–मधेशकै सम्पन्न धनाढ्य वर्गबाट उदाएका नेताहरु नै हुन् ।

तराई–मधेशका जनताका समस्या समाधानका लागि काठमाडांै  वा केन्द्रको मुख ताक्नुपर्ने कुनै कारण देखिदैन । तराई–मधेशकै राजनीतिक नेतृत्वले जनताका  समस्या समाधानका लागि प्रयास गर्ने हो भने तराई– मधेशका जनताले भोगिरहेको ९० प्रतिशत भन्दा बढी समस्या आफै समाधान भएर जान सक्ने ठोकुवा गर्न सकिन्छ । बाँकी १० प्रतिशत कामका लागि सरकारमाथि पनि दबाब सिर्जना गर्न सकिन्छ । अथवा सरकारमाथि आफै दबाब बढेर जान्छ । तर बिडम्बना ! आम जनताले दैनिक जीवन जीउने क्रममा आफ्नै समाज, परिवार र आफन्तबाट भोगिरहेको पीडा र यातनालाई अन्त्य गर्न राजनीतिक दलबाट कुनै पहल भएको पाइदैन । बरु सत्तामा पुगेका वा पढेलेखेकै व्यक्तिहरुबाटै यस्ता गतिविधिहरुलाई प्रश्रय दिइरहेको पाइन्छ ।

एउटा सुन्दर, विकसित र समृद्ध समाज निर्माणका लागि पहिले आफैबाट परिवर्तन सुरु गर्न आवश्यक हुन्छ । आफूले सक्ने काम पनि नगर्ने र अर्काेबाट आवश्यकता भन्दा बढी अपेक्षा गर्ने प्रवृत्ति गलत हो । जसबाट तराई–मधेश अछुतो छैन । विकास बजेटमा भ्रष्टाचार, अधिकार र अवसरमा पहुँचवालाको बोलवाला तथा जनताको चेतनास्तर बढाउन नदिने खेल तराई–मधेशकै राजनीतिक नेतृत्वबाट हुने गरेको तीतो यथार्थ हो । जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थको रोटी सेक्ने काम हिजोका गजेन्द्र नारायणदेखि आजका सिके राउतसम्मले गरिरहेका छन् । सत्तामा हुँदा काडमाडौं सँगै मुख मिलाउने तराई–मधेशको राजनीतिक नेतृत्वले सत्ताबाट बाहिर निस्किदा बित्तिकै काठमाडांैलाई दोषी देखाउने र जनतालाई लडाएर रगत बगाउन बाध्य बनाउने काम गर्दै आएका छन् । यस्तो प्रवृत्ति विगत लामो समयदेखि हुँदै आएको छ । तर अब यस्तो तरिकाले मधेशले अधिकार पाउँदैन । एउटा व्यक्तिको स्वार्थका लागि धेरै तराई–मधेशबासीले आफ्नो बलिदानी गरेका छन् । तर अब त्यसरी समाज परिवर्तन हुँदैन । सबैभन्दा पहिले तराईका जनताले दैनिक जीवनसँग जोडिएर के कस्ता समस्या भोगिरहेका छन् ? त्यसको समाधानका लागि जुटन आवश्यक छ । तराई–मधेशमा व्याप्त विकृति र विसंगतिको अन्त्यका साथै छिमेकी देशबाट हुने हस्तक्षेपकारी गतिविधिहरुलाई नरोकेसम्म तराई–मधेशका जनता कहिले पनि शुुखी हुन सक्ने छैनन् र स्वतन्त्र पनि भएको महसुस गर्न पाउने छैनन् । त्यसैले मधेशी जनताकोे अधिकारका नाममा भावनामाथि ब्ल्याकमेल गर्ने काम तराई–मधेशको नाममा राजनीति गरिरहेका राजनीतिक नेतृत्वले बन्द गरेर उनीहरुका दैनिक जीवनसँग जोडिएका विषयलाई सम्बोधन गर्न आवश्यक छ । अन्यथा ढिलो छिटो भ्रमको खेती गर्ने राजनीतिक नेतृत्वसामु जनताको धैर्यको बाँध टुट्ने निश्चित छ ।Preetiraman033@gmail.com-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here