संस्थागत निक्षेपकर्ताले बढी ब्याज लिने र सञ्चालकले बढी नाफा कमाउनका लागि यसको दुरूपयोग गरेका छन्

22
समीरप्रसाद दाहाल, सिईओ– सीबीआईएल क्यापिटल लिमिटेड

सीबीआईएल क्यापिटलले अहिले के गरिरहेको छ ?
मर्चेन्ट बैंकिङको काम गरिरहेका छौं । यसमध्ये पनि अन्डरराइटिङको काम बढी गरिरहेका छौं । यस्तै म्युचअल फन्डको व्यवस्थापन पनि गरिरहेका छौं । एक वर्षअघि १ अर्ब रूपैयाँको पहिलो म्युचअल फन्ड ल्याएका थियौं, त्यसको परिणाम राम्रो छ । अन्य फन्डको तुलनामा हामी सबैभन्दा माथि छौं । दोस्रो म्युचअल फन्ड ल्याउने तयारीमा छौं ।

बजारमा अधिकांश म्युचअल फन्डको वित्तीय अवस्था राम्रो छैन, सिटिजन्सको कस्तो छ ?
नेप्से १ हजार १०० अंकमा आउँदा हाम्रो फन्डको खुद सम्पत्ति प्रतिएकाइ १० रूपैयाँ ४० पैसा थियो । नेप्से धेरै घट्दा पनि हाम्रो फन्डको अवस्था राम्रो छ ।

अरु फन्ड घटेको बेला यहाँले कसरी बढाउन सफल हुनुभयो ?
हामीले कम्पनीको सेयर विचार पु¥याएर किनेका कारण घाटा खानु नपरेको हो । सेयरको मूल्यांकन वैज्ञानिक तरिकाले गरेका छौं । मूल्यांकन राम्रो गरेकाले मूल्य नघटेको हो । बैंक तथा वित्तीय संस्थाले म्युचअल फन्डमा लगानी गरेका छन् । त्यसको मूल्यांकन विधिले घाटा बुक गरिरहेको अवस्था छ । यस्तो अवस्था आउनु नपर्ने हो । जस्तै कुनै पनि फन्डको फेस भ्यालुभन्दा प्रतिएकाइ खुद सम्पत्ति माथि भएपछि बजार मूल्य त आफ्नै तरिकाले कम वा बढी हुन्छ । फन्डको एकाउन्टिङमा गरिदिँदा राम्रो हुन्छ । यसबाट संस्थागत लगानीकर्तालाई सहज हुन्थ्यो । वास्तविक मूल्य न्याव (प्रतिएकाइ खुद सम्पत्ति) भएकाले एकाउन्टिङमा न्याव गर्दा यसतर्फ लगानीकर्ताको आकर्षण बढ्ने थियो । लगानीको राम्रो क्षेत्र हुँदाहुँदै पनि म्युचअल फन्डबारे जनचेतना जगाउने काम भएको छ्रैन । फन्ड यस्तो हो, लगानीको सुरक्षा हुन्छ भन्ने सन्देश लगानीकर्तामाझ दिनुपर्ने हुन्छ । धितोपत्र बोर्डले फेस भ्यालुभन्दा कम न्याव भएका फन्डको फन्ड व्यवस्थापन शुल्क नलिँदा राम्रो हुन्थ्यो ।

सेयर बजार घटिरहेका बेला फेरि १ अर्ब रूपैयाँको म्युचअल फन्ड ल्याउँदै हुनुहुन्छ, बिक्री होला ?
पुँजीबजारमा अधिक सेयर आपूर्तिको अवस्था छ । यस्तो अवस्थामा फन्डले सानोसानो रकम जम्मा गरेर एउटा ठूलो कोष बनाउँछ । त्यो कोष संस्थागत लगानीकर्ताका रूपमा बजारमा प्रवेश गर्छ । यसले गर्दा अहिलेको घट्दो बजारमा सेयर किनेर युनिट होल्डरहरूलाई राम्रो प्रतिफल दिन सक्ने अवस्था छ । सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव भएका बेला नयाँ फन्डले बजारलाई टेवा दिन्छ भने घट्नबाट पनि जोगाउँछ । किनभने हामी तरलता धेरै अब्जर्भ गर्छौंै । अब बजारमा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा गर्न पनि हामो फन्ड खरिद गर्नुपर्छ । उहाँहरूले थोरेथोरै पैसा लगानी गरिदिनुभयो भने हामी त्यो रकम लगानी गरेर फन्डको सम्पत्ति बढाउने काम गर्छौैं । बजारलाई थप गिर्न दिदैनांै । बजारमा सक्रिय सहभागिता बढ्छ भने एउटा फन्डले बजारमा हामी जति सक्रिय हुन्थ्यौं, दोस्रो आएपछि अब दोब्बर कारोबार गर्नेछौं । यसले बजारमा सुधार आउछ । नयाँ फन्ड आउनुपर्छ र सबै किन्नु पनि हुन्छ, किनभने सेयर बजारमा संस्थागत लगानीकर्ताको कमी छ ।

बजारमा ७ अर्ब ७५ करोड रूपैयाँको म्युचअल फन्ड निष्कासन रोकिएको छ । बोर्ड भन्छ, हामीले दिने तयारी गरेका बेला मर्चेन्ट बैंकरले स्वीकृति नदिने अनुरोध गरेका छन् । खास कुरा के हो ?
यस्तो अवस्था आउनु नपर्ने हो । निवेदन दिनु भनेको निष्कासनका लागि हो । बैंकरले नचाहेको पक्कै हैन । हामीले अधिक चाहेर फलोअप गरिरहेका छौं । हाम्रो कमेन्ट आएको छ, यसलाई सुधार गरेर विवरणपत्र पेस गर्ने तयारीमा छौं । सम्भवतः चैतभित्रै हामीले फन्ड निष्कासनको स्वीकृति पाउने अपेक्षा गरेका छौं ।

साउनयता म्युचअल फन्डको सट्टा ऋणपत्र (डिबेन्चर) निष्कासन भइरहेको छ । बैंकले १० प्रतिशत ब्याज दिने निश्चित गरेको ऋणपत्र पनि बिक्री भएका छैनन्, यस्तो हुनुको कारण के होला ?
बैंकहरूले संस्थागत निक्षेपमा नेपाल राष्ट्र बैंकले जुन सीमा तोकेको छ, त्यसलाई ऋणपत्रमा परिणत गरेर ब्यालेन्स सिट व्यवस्थापन गर्न खोजेका हुन् । यसमा जतिसक्दो बढी संस्थागत निक्षेपकर्ताले लगानी गर्दा राम्रो हुन्छ । यसले पुँजीबजारलाई ऋणपत्रले केही पनि सहयोग गर्दैन । व्यक्तिगत लगानीकर्ता ऋणपत्रको तुलनामा मुद्दती निक्षेपमा आफ्नो बचत राख्ने बानी छ । ऋणपत्र बजारमा स्वतन्त्र रूपमा कारोबार भएको छैन । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ऋणपत्र सूचीकृत भएका छन् । तर कारोबार भएको छैन । ऋणपत्रले बजारको तलरता खिच्ने, सेयरमा जाने रकम खिचेर तरलता कम गर्ने मात्र देखिएको छ । जसरी साधारण सेयर बिक्री गरिन्छ, त्यसरी बजारमा कारोबार हुँदैन ।

नेप्सेमा म्युचअल फन्डको कारोबार पनि भएको छैन, किन ?
प्रत्यक्ष रूपमा बजारमा लगानी गर्न नसक्ने र समय नहुने लगानीकर्ताले फन्डमा लगानी गरेका हुन्छन् । फन्डले मुद्दती र सेयर कारोबारबाट हुने लाभको प्रतिफल दिने भएकाले फन्डमा लगानीकर्ताले किनेका हुन्छन् । फन्डको कारोबार बजारमा भएको हँुदैन र कारोबार गर्ने हिसावले लिएको देखिँदैन । एउटा नियमित प्रतिफल पनि प्राप्त होस् भन्ने हुन्छ, जसले पुँजीगत लाभको फाइदा देख्नुहुन्छ, उहाँले कारोबार गर्नुहुन्छ, नभए होल्ड हुने स्टक हो ।

सीबीआईएलले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी थालेको थियो, कहिले ल्याउँदै छ ?
आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएका छौं, त्यो स्वीकृतिको अन्तिम चरणमा छ । स्वीकृति पाएपछि हामी ल्याउनेछौं । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २३ करोड रूपैयाँ पुग्छ । संस्थामा कर्मचारी सञ्चय कोषको १७ र ३ प्रतिशत नागरिक लगानी कोषको स्वामित्व छ ।

यहाँले कर्पोरेट एडभाइजरीको काम सुरु गर्ने बताउनुभएको थियो, कहिलेदेखि सुरु हुँदै छ ?
काम सुरु गर्न बोर्डमा निवेदन दिएका छौैं । स्वीकृति प्राप्त हुनासाथ काम थाल्नेछौं ।

यहाँले फन्डको अधिकांश रकम सेयर बजारमा लगानी गर्नुभएको छ । तर बजार घट्दो अवस्थामा छ । यसको कारण के होला ?
बजार भन्नेबित्तिकै माग र आपूर्तिको कुरा आउँछ । अहिलेको अवस्था हेर्दा सेयरको आपूर्ति अधिक भएको छ । लगानीकर्ताले आफूले चाहेका बेला त्यसलाई तरलमा परिणत गरेर आवश्यकता पूरा गर्ने हुन्छ भने अर्कोतर्फ प्रतिफल लिनका लागि हुन्छ । सेयरको अधिक आपूर्ति भएको बेला माग बढाउने उपकरण बजारमा भएन । नियामक निकायले माग र आपूर्तिको व्यवस्थापनका लागि जुन उपकरण बजारलाई दिनुपर्ने थियो, त्यो दिएन । जस्तो स्टक डिलर र बजार निर्माताको व्यवस्था धेरै भन्दा धेरै फन्ड ल्याएर बजार विस्तार गर्नेलगायतका व्यवस्था ऐनमा छ । माग बढाउने उपकरण ल्याएको भए खरिदबिक्री बढी सेयर बजार अहिलेको अवस्थामा आउने थिएन ।
अर्को कुरा, बैंकको ब्याजदर अधिक बढेको अवस्था छ । लगानीको व्यवस्था गर्ने निकाय बैंक हो । तर उनीहरूले ब्याजदर बढाएका छन् । यसरी ब्याजदर बढाउन संस्थागत निक्षेपकर्ताको ठूलो भूमिका हुन्छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकमलगायत जति संस्थागत निक्षेपकर्ताले आफूसँग भएका कोष विकासका विभिन्न क्षेत्रमा लगानी गर्नुका साटो सबैले लगेर बैंकमा पैसा थुपार्ने र बैंकसँग बार्गेनिङ गरेर महँगो ब्याज लिएर मुद्दतीमा पैसा राख्ने चलन आयो, यसकारण अधिकांश बैंकको क्षमता घटेर नाफा कम हुँदै गएको छ ।
बैंकहरूले बढी ब्याज लगाएर ऋणीहरूलाई सेयर बेच्न लगाउने काम गरे भने अर्कोतिर बढी ब्याज दिएर बजारमा भएको पैसा आफुतर्फ तान्ने काम पनि गरेका छन् । दुईतिरैबाट बजारबाट पैसा उठाउने काम बैंकले गर्दा सेयर बजार पनि ओरालो लाग्यो । नेपाल राष्ट्र बैंकले नीतिगत रूपमा ब्याजदरलाई व्यवस्थापन गरिदिनुपर्छ । संस्थापक निक्षपेको ब्याजदर व्यक्तिगत बचतको तुलनामा कम हुने व्यवस्था गरिदिनुप¥यो । केन्द्रीय बैंकले यस्तो नीतिगत व्यवस्था नगरेसम्म महँगोमा निक्षेप उठाउने र ऋणीसँग चर्को ब्याजदर असुल्ने प्रथा कायम रहनेछ । संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत बचत खाताको भन्दा तल गर्नेबित्तिकै ब्याजदरमा सन्तुलनमा आई उद्योगी व्यवसायीले सस्तोमा कर्जा पाउनेछन् । योभन्दा अर्को कुनै उपाय छैन ।
बैंकरहरूले भद्र सहमति गरेर कार्टेलिङ गरिरहेका छन् । मिटिङमा कार्टेलिङको सहमति भए पनि बैंकमा आएपछि बिर्सिने गरेका छन् । जसरी राष्ट्र बैंकले कल र मुद्दती निक्षेपको ब्याजदर तोकिदिएको थियो, त्यो गर्नुपर्ने अवस्था आएको छ । फेरि संस्थागत निक्षेपकर्ताको ब्याजदर तोकिदिनुपर्छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले ६ र १६ प्रतिशत ब्याजदरको अतिवाद अन्त्य हुनुपर्ने भन्नु भएको छ । यसको अर्थ के होला  ?                                                                                                                           ६ र १६ जोड्दा २२ प्रतिशत हुन्छ । उहाँले कर्जाको ब्याजदर ११ प्रतिशत भन्न खोज्नुभएको होला । ऋणीले ११ प्रतिशत ब्याजमा कर्जा पाउनुपर्छ भन्ने उहाँको भनाइ हो । बैंकमा निक्षेपको ठूलो हिस्सा संस्थागतको छ । संस्थागत निक्षेपको ब्याजमा नियन्त्रण नगर्ने हो भने ऋणीले ११ प्रतिशत ब्याजमा कर्जा पाउने अवस्था आउँदैन, बैंक धराशायी भइहाल्छन् नि । बैंकलाई दुईतिरबाट तनाव आएको छ । एउटा लगानीकर्ताले बढी प्रतिफल चाहिन्छ र अर्को संस्थागत निक्षेपकर्ताले बढी ब्याज चाहिन्छ भनेर दबाब दिएका छन् । अहिले बैंकहरू दुईतिरबाट दबाबमा परेका छन् । बैंक भनेको नाफा गर्ने मात्र होइन, यो त जसरी मुटुले शरीरमा रक्तसञ्चार गराउँछ, त्यसरी नै बैंकले अर्थ सञ्चार गराउनुपर्छ । बैंकलाई नाफा कमाउने यन्त्रका रूपमा हेर्ने गरिएको छ । त्यसैले बैंकलाई पैसा सञ्चार गर्ने यन्त्रका रूपमा सदुपयोग गर्नुपर्नेमा संस्थागत निक्षेपकर्ताले बढी ब्याज लिने र सञ्चालकले बढी नाफा कमाउनका लागि यसको दुरूपयोग गरेका छन् ।

सेयर बजार बढ्न थालेको छ, यसले निरन्तरता पाउने सम्भावना कत्तिको छ ?
सेयर बजारमा सुधार गर्न लगानीकर्ताले केही माग राखेका छन् । सरकारले उनीहरूको मागलाई छिटोभन्दा छिटो सम्बोधन गरेमा बजार पनि लगानीको राम्रो क्षेत्र बन्छ । देशको अर्थतन्त्रलाई गति दिन सेयर बजार बढ्नुपर्छ । विदेशी लगानीकर्ताले लगानी गर्नुपूर्व देशको पुँजीबजार र लगानीकर्ताको अवस्था कस्तो छ भनेर हेर्ने गर्छन् । पुँजीबजार तल झर्दा लगानीकर्ता खुसी रहेनछन् भन्ने सन्देश उनीहरूमा जान्छ । बजारको ग्राफ माथि गएको छ भने उनीहरूको नजरमा लगानीकर्ता खुसी रहेछन् भन्ने सन्देश जान्छ ।

यहाँले सेयर रजिस्ट्रारको काम धेरै कम गरिरहनुभएको छ, किन यस्तो भएको हो ?
सीबीआईएल पछि खुलेको मर्चेन्ट बैंक हो । प्रतिस्पर्धाका कारण सेयर रजिस्ट्रारको शुल्क ज्यादै न्यून दिन थालिएको छ । न्यून शुल्कमा काम गर्दा खर्च धानिँदैन । हामी परम्परागतभन्दा पनि लगानी व्यवस्थापनतर्फ काम गर्दै छौं । म्युचअल फन्ड ल्याउने र कर्पोरेट एडभजाइरीको काम गर्नेतर्फ ध्यान दिएका छौं । एडभाइजरीको काम सुरु गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छौं । स्वीकृति पाउनासाथ हामी काम सुरु गर्नेछौं । कुनै पनि देशी वा विदेशी लगानीकर्तालाई सहयोगीका रूपमा काम गर्न सक्छौं । बैंक तथा वित्तीय संस्थाले मार्जिन कर्जा प्रवाह गरिरहेका छन् । कुन सेयरमा लगानी गर्दा हुन्छ वा हँुदैन भनेर हामी सुझाव दिने काम गर्न सक्छौं । लगानी गरेको छ भने पोर्टफोलियो हेरेर पुनरावलोकन गरेर राम्रो छैन भने बेच्ने काम पनि गरिदिन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here