मन्दिर जाने भक्त (कविता)

13

जान्छौ मन्दिरमा विहान जहिले बोकेर फूलै कति ,
हुन्छौ ढोग्न तयार माथ निहुरी पुग्ला र सोचे जति ।
बोल्दैनन भगवान ती तर तिमी धाई रहन्छौ सदा ,
कुल्चिन्छौ पथमा तिमी हरि कठै माग्दैछ त्यो सर्वदा ॥

देख्दैनौ र तिमी बसेछ विचरा थापेर थालै अनि ,
केही पाउन ढोग्छ हेर दुनियाँ भाकेर द्यौता पनि ।
सोचाई सबको रहेछ परको देख्दैन कोही कदा ,
कुल्चिन्छौ पथमा तिमी हरि कठै माग्दैछ त्यो सर्वदा

बोकेरै सपना तिमी त बहुतै जान्छौ सदा मन्दिर ,
ब्यर्थै त्यो विचरा निरास मनले फर्किन्छ आफ्नै घर ।
जाँदो हो कसरी अचम्म छ सुनें भाले नबासी त्यहा ,
कुल्चिन्छौ पथमा तिमी हरि कठै माग्दैछ त्यो सर्वदा ॥

बेकारै छ तिमी नधाउनु भयो बिर्सेर आफ्ना कुरा ,
देऊ क्यै मनबाट दान पहिले आसै मरेका बरा ।
स्वर्गैका सपना नदेख्नु तर लौ हाँस्नै छ आफै छदा ,
कुल्चिन्छौ पथमा तिमी हरि कठै माग्दैछ त्यो सर्वदा॥

क्रमश:

-विष्णुदीप सङ्कल्प
ओखलढुङ्गा

NO COMMENTS

LEAVE A REPLY