नेपाललाई चीन विरोधी रणनीतिमा फसाउने सरकारी चाल छर्लङ्ग भइसकेको छ

286

तपाईहरूले भर्खरै मात्र ५३ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिबीच काठमाडौं उपत्यकामै राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न गर्नु भएको छ , यो अभियानको उद्देश्य के हो ?

-भारतको राजधान नयाँदिल्हीमा भएको १२ बुँदे समझदारीको बहाना बनाएर विदेशीहरूले नेपाललाई जुन दिशातिर धकेल्न खोजेको अनुभूति २०६३ सालपछि हुन थाल्यो, त्यसबारे आम नेपालीहरूका बीचमा यथार्थ कुरा लैजान र त्यसको सामना गर्नका लागि कुनै संस्थाहरू देशमा देखिएनन् र अहिले पनि देशलाई समग्रतामा बुझेर सत्यतथ्यहरू बाहिर ल्याउने त्यस्ता संस्थाहरूको अभाव खट्किएको अवस्था छ । यो अभावलाई पूर्ति गर्नकै लागि हामीले राष्ट्रिय जागरण अभियानलाई ३ वर्ष अगाडि नै संगठित गरेका हौं । अब यसपटक हामी प्रभावकारी ढङ्गले देशका ७७ जिल्लामा पुगिसकेका छौं । विविध कारणहरूले गर्दा यही जेठ १७ र १८ गते काठमाडौंमा सम्पन्न भएको दोस्रो राष्ट्रिय सम्मेलनमा ५३ जिल्लाबाट मात्र प्रतिनिधित्व हुन पुग्यो, तर हामी संगठनको हिसाबले देशका सबै जिल्लामा पुगिसकेका छौं र विस्तारको क्रम जारी छ ।

जागरण अभियानको नाममा परिमार्जन गरेर अहिले यसलाई पुनर्जागरण अभियान बनाईएको थाहा भयो, किन?
-देश राजनीतिक रूपमा मात्र संकटमा फसेको होइन । अहिलेको राजनीतिक संकट उत्पन्न गर्नका लागि धेरै पहिलेदेखि आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोवैज्ञानिक सबै क्षेत्रमा योजनाबद्ध रूपमा बाह्य आक्रमण हुँदै आएको हामीले देख्यौं र हामीलाई के लाग्यो भने बाह्य शक्तिहरूको प्रभाव वा दबाबमा परेर हामीले जसरी आफ्नोपन गुमाउँदै आयौं, त्यसैको उत्कर्ष राजनीतिक संकट हो । त्यसैले, गुमाएका मौलिकताहरूको पुनस्र्थापना नगरिकन र आयात गरिएका विकृतिहरूलाई परित्याग नगरिकन यो संकट समाधान गर्न सम्भव छैन भन्ने निष्कर्षका आधारमा नामलाई परिमार्जन गरी जागरणलाई पुनर्जागरण नामांकरण गरिएको हो ।

तपाईले मौलिकताहरूको पुनस्र्थापनाको प्रसङ्ग उठाउनुभयो, यसले कस्तो अर्थ बुझाउँछ ?
– जस्तो कि हामीले अबलम्बन गरेका विचारहरू पूरै आयातित भए । यी विचारहरू यूरोपीयन समाज केन्द्रित भएर विकास भएका हुन् । यिनीहरूलाई न नेपालीकरण गरियो न त नेपालको मौलिकतामा अर्को कुनै विचारका लागि प्रयास नै गरियो । विभिन्न जीवनका अवधारणाहरू र सामाजिक मूल्यहरू पनि बाहिरबाट कपी गरिए । यसको परिणाम के भयो भने हामीमा पराइपनको प्रवृति बढ्दै गयो र देशमा भएका हरेक चिजहरूलाई हामीले पछौटे र रुढीवादी भनेर घृणा गर्न सिक्यौं । यसबाट देशभक्तिको भावना कमजोर हुँदै गयो, यो अवस्थालाई अन्त्य गर्नु नै मौलिकताहरूको पुनस्र्थापना हो ।

यो कुरालाई अझ स्पष्ट पारिदिनु हुन्छ कि ?
काठमाडौंमा दशकौंदेखि खानेपानीको हाहाकार छ, तर हामीले पेप्सीकोला जस्तो स्वास्थ्यका लागि हानिकारक पय पदार्थ ( विष ) उत्पादनलाई विकास मानेर बस्यौं । विकासको यो खतरनाक अवधारणा हामीले लुटेरा वर्गको पूँजी सञ्चय गर्ने सिद्धान्तलाई सापटीका रूपमा लिएको हो । हाम्रो परिवारभित्र आमा र बालाई ‘ड्याडी र मम्मी’ ले विस्थापित गर्दै लगेका छन् । यी दुबैथरी शब्दहरू परिवारभित्र विकास गर्ने सम्बन्धहरू भन्दा उल्टा छन् र यसले हाम्रो पारिवारिक संरचना भत्काउँदै लगेको अवस्था छ । खानामा दालभात र तरकारीको सट्टा प्याकेटको सुख्खा खानाको प्रचलन बढ्दो छ । यसबाट हामी जन्मजात रोगी हुन थालेका छौं र पैसा अर्काका लागि फ्याँकिरहेका छौं । अबको पुस्ताले मही जस्तो अमृतलाई घृणा गरेर कोकाकोला जस्तो विष खानुमा गर्व गर्न सिकेको छ ।

लवाई–खवाई, रहन–सहन, भाषा, बोली, सामाजिक सम्बन्ध सबैतिर उपभोक्तावाद, छाडापन, व्यक्तिवाद, भोगवाद र नग्नता बढिरहेको छ । यसले हाम्रो संस्कृति, संस्कार, नैतिकता, मानवीयता, सामाजिकपन आदिलाई मास्दै लगेको छ । नेपाली समाजको पहिचान स्खलित हुँदै गएको छ । व्यक्ति परिवारको, परिवार समाजको र समाज देशको आधारस्तम्भ हुन्छ । त्यसैले, व्यक्तिको पहिचान सकियो भने अन्ततः देशकै पहिचान समाप्त हुन्छ । यो समस्या नेपालको विदेशी शिक्षा प्रणालीले उत्पन्न गरेको समस्या हो । यसको प्रतिवाद गर्नका लागि समग्र जीवन प्रणालीहरूमा जगैदेखि पुनर्जागरण अभियान चलाएर हामी आफ्नो वास्तविक पहिचानतिर फर्कनु पर्छ भन्ने सोंचाईमा हामी अघि बढ्न खोजेका हौं । यसका लागि हामीले आफ्नो सभ्यतातिर फर्कने, प्रकृतिसंग सन्तुलित भएर बाँच्नु पर्ने र नेपालको सार्वभौमिकता समाप्त पार्ने योजनामा लादिएको अहिलेको संकटको सामना गर्न पृथ्वीनारायण शाहको साम्राज्यवाद विरोधी कडिसंग जोडिनु पर्ने मुद्दालाई समातेका छौं ।

यस्तो निष्कर्ष निकाल्नुका आधारहरूका बारेमा केही स्पष्ट पारिदिनु हुन्छ कि ?
-यसको पहिलो आधारका रूपमा हामीले यूगान्तकारी परिवर्तनको कुरा उठाएका छौं । सर्वप्रथम त ‘सुगौली–सन्धि’ ले निर्धारण गरेको सिमाभित्र बसेर देश बनाउन सकिंदैन । सुगौली सन्धिको घटनापछि नेपालमाथि जति पनि सन्धि–सम्झौताहरू लादिएका छन् र त्यसका आधारमा जस्तो प्रकारको राज्य संरचना, व्यवस्था र मेकानिज्म निर्माण गरिएको छ, यो सबैको अन्त्य गर्न जरुरी छ । खराब जगमा टिकाउ घर बन्दैन । ‘सुगौली–सन्धि’ पछिको यथास्थितिलाई स्विकार गरेर नेपाललाई स्वाधीन, समृद्ध र मानवीय बनाउन सकिंदैन ।

पुनर्जागरण अभियान चलाउने हाम्रो निष्कर्षको दोश्रो आधार भनेको आफ्नै ‘स्कूल अफ थट’को विकास गर्ने सोंच हो । नेपालको मौलिकता, नेपाली समाजको आवश्यकता र हाम्रो क्षमताको सापेक्षतामा यहाँको शासन प्रणाली, विकासको नमूना, सामाजिक÷सांस्कृतिक सम्बन्ध, नैतिक जीवन लगायत शिक्षा, स्वास्थ्य, परराष्ट्र, सुरक्षा आदि क्षेत्र कस्तो हुनु पर्ने हो भन्ने कुरामा नै हामी केन्द्रित छौं । हामीले पश्चिमाहरूले निर्यात गरेका प्रजातन्त्र, विकास, व्यक्ति स्वतन्त्रता, मानव अधिकार, आधुनिकता जस्ता विषयहरूलाई स्विकार गर्नु पर्छ भन्ने जरुरी छैन । यसको ठाउँमा यी विषयहरूसंग सम्बन्धित आफ्नै अवधारणाहरूको विकास गर्न सकिन्छ ।

हाम्रो तेश्रो आधार के हो भने यतिबेला हामीलाई देशलाई समग्रतामा ठिक ढंगले हेर्न, बुझ्न र संकटको समाधान गर्नका लागि पूर्ण सिद्धान्तको आवश्यकता छ । वर्तमान नेपाल सामान्य समस्यामा नरहेर संकटको अवस्थामा छ । संकटको अवस्था भनेको राज्य र समाजका जीवन प्रणालीहरू भङ्ग भएको अवस्था हो । अतः यतिबेलाको देशलाई एकाध एजेण्डाहरूका आधारमा बुझ्न सकिंदैन र यसका लागि सुसंगठित राष्ट्रिय विचारधाराको आवश्यकता छ भन्ने हाम्रो निष्कर्ष हो ।

संकटका कारणहरूबारे अलि स्पष्ट जानकारी दिन सक्नु हुन्छ ?
-यसलाई आन्तरिक र बाह्य गरी २ वटा पाटोबाट हेर्नु पर्छ । संकटको प्रमूख आन्तरिक कारण राज्य व्यवस्था प्रणाली हो । यो समस्याहरूको पुनरुत्पादन गर्ने यस्तो चक्रका रूपमा विकास गरिएको छ, जसले कुनै पनि समाधान दिंदैन । ‘सुगौली–सन्धि’ पछि राज्य प्रणाली विदेशीहरूको नियन्त्रणमा छ । यो नियन्त्रणलाई स्विकार गरेर जसले कुर्सीलाई अधिकतम लक्ष्य बनाएर राजनीति गरे, तिनीहरू कुर्सीमा पुग्नका लागि विदेशीहरूको दलाली नगरि नहुने अवस्था छ । दलाल वर्गले जसको आशिर्वादबाट कुर्सी हत्याउँछ, त्यसले त्यसैका लागि काम गर्नुपर्ने बाध्यता हुन्छ उसलाई । त्यसैले यहाँका दलालहरूले जहिले पनि कुर्सीमा पुग्नासाथ विदेशी एजेण्डाहरूलाई नै कार्यान्वयन गर्ने कुरा प्राथमिकतामा राख्दै आएका छन् । यीनीहरूको दलीय एजेण्डामा राष्ट्र, राष्ट्रियता, नागरिक अधिकार र विकासका प्रश्नहरूले स्थान नपाउनुको कारण यही हो ।

संकटको दोश्रो पाटो बाह्य पाटो हो । अहिले विश्व जसरी बहु–ध्रुव्रहरूमा विभाजन हुँदै गएको छ, यसमा संलग्न शक्ति राष्ट्रहरूमध्ये ईण्डियन, अमेरिकन र यूरोपीयनहरूले शक्तिशाली बन्दै गएको चिनियाँ ध्रुव्रलाई कमजोर बनाउन नेपालको भू–राजनीतिलाई दुरूपयोग गर्ने योजना बनाएर आएका छन् । नेपाललाई नियन्त्रण गरेर यहाँबाट ‘स्वतन्त्र तिब्बत’ को गतिविधि संगठित गर्ने तिनीहरूको चाहना हो । यसका लागि नेपाललाई असफल राज्य बनाउने वा विभिन्न प्रकारका साम्प्रदायिक मुद्दाहरूका आडमा नेपालको विखण्डन गरेर कुनै एउटा भूभागलाई आफ्नो सामरिक क्षेत्रका रूपमा विकास गर्ने तिनीहरूको षडयन्त्र उजागर भैसकेको छ । साम्राज्यवादीहरूको यही रणनीति नै नेपालको संकटको बाह्य पाटो हो ।

यति ठूलो समस्याको कुरा गरिरहनु भएको छ, यसको समाधान कति सहज छ ?
-सहज हुने त कुरै भएन । त्यसैले हामीले आफ्नै स्कूलिङको प्रश्न उठाईरहेका छौं । पुरानै स्कूलिङका मानिसहरूबाट यो काम सम्भव छैन अब । पुरानो राजनीतिक स्कूलिङ दासत्व, पराइपन र विदेशभक्तिमा आधारित छ । आफूलाई नचिनेको, देश तथा समाज नबुझेको, आफैमाथि विश्वास नभएको र भाग्यवादमा बाँचेको मानिसले केही गर्न सक्दैन । हामी आफ्नै स्कूलिङमा संस्थागत हुन सक्यौं भने अरु २ वटा कारणले हाम्रा लागि निकै अनुकूल वातावरण बनाउँदै आएका छन् । एउटा कारण विश्व परिस्थिति हो । विश्वको ध्रुव्रीकरणमा नेपालमा हस्तक्षेप गर्ने शक्तिहरू कमजोर हुँदै गएका छन् र यो प्रकृयाले नेपालभित्रको तिनीहरूको पकडलाई पनि कमजोर बनाउँदै लगेको छ ।

दोश्रो कारण हो, नेपालीहरूमा विकास हुन थालेको अभूतपूर्व राष्ट्रिय चेतना । यद्यपी यो चेतना विचार र संगठनका रूपमा परिष्कृत हुने प्रकृयामैं छ, तर नेपालीहरूमा देशभक्तिको जुन लहर पैदा भएको छ, यसले नेपाललाई विदेशी दासत्व र त्यसका दलालहरूको पिसाईबाट मुक्त गरिछाड्ने छ । यो हाम्रा लागि अभूतपूर्व अनुकूलता हो । समयको गति, परिस्थिति र मानिसहरूको मनोविज्ञानलाई बुझेर अघि बढ्न सकिएको खण्डमा हाम्रा अगाडि सुनौलो सम्भावना उदाएको छ । संकटले आफूसंगै समाधान पनि बोकेर ल्याएको हुन्छ, यसलाई मैले सहज त भन्दैन तर सम्भव भने पक्का छ ।

अहिलेको कम्युनिष्ट सरकारले विदेशीहरूको रणनीतिलाई नबुझेको हो र ? दुईतिहाई बहुमत हासिल गरेको यही सरकारकै पालामा पनि यस्तो किन भैरहेको छ ?
-को कम्युनिष्ट हो वा होईन भन्ने कुरा उसको दृष्टिकोण, विचार, कार्यक्रम, व्यवहार, नियति र चरित्रले निर्धारण गर्ने कुरा हो । जुन तत्वहरूलाई तपाईंले कम्युनिष्ट भनेर उल्लेख गर्नु भयो, ती ईण्डो–पश्चिमा साम्राज्यवादका जगेडा शक्तिभन्दा बढि केहि होईनन् । यिनीहरूलाई तिनैहरूले पाले, विभिन्न संगिन अपराधहरूमा प्रयोग गरेर संरक्षण गरे र कुर्सीमा पु¥याए । कम्युनिष्ट खोलमा राख्दा भ्रम सिर्जना गर्न र मानिसहरूलाई खेलाउन सजिलो हुने भएकाले यो शब्द उपयोग गर्न लगाईएको मात्र हो । जहाँसम्म यिनीहरूले बुझ्ने कुरा हो, बुझ्ने मात्र होइन बुझेर नै दलालको रूपमा प्रयोग भइरहेका हुनाले नै यस्तो अवस्था विकसित भएको छ ।

केपी ओली नेतृत्वको सरकारबाट स्वाधीनता र समृद्धिको दिशामा कुनै काम हुने संभावना नभएको हो त ?
-नेपालको इतिहासमा ओली नेतृत्वको सरकार नै यस्तो देखियो, जसले सबैभन्दा नग्न रूपमा ईण्डो–पश्चिमा रणनीतिलाई अघि बढाउने काम गरेको छ । राज्यकोषमाथिको लूट, अनुत्पादक क्षेत्रमा राजस्वको दुरूपयोग, दण्डहिनता, स्वेच्छाचारिता, विदेशी दूताबासहरूको छाडापन जस्ता कुराहरू यही अवधिमा बढि विकास भएका छन् । ‘होली वाईन सम्मेलन’ देखि नागरिकता ऐन संशोधन विधेयकसम्मका घटनाहरू हुँदै सामाजिक संस्कारमाथि हमलाका रूपमा परम्परागत गुठीहरूमाथिको आक्रमणलाई हेर्ने हो भने एमाले र एमाओवादी एकता नै नेपाल र नेपालीहरूको हितमा विरुद्ध प्रयोग गर्नका लागि गराईएको थियो भन्ने यथार्थतामा मलाई चाहिं शंका छैन ।

प्रधानमन्त्री केपी ओलीको यूरोप भ्रमणलाई कसरी हेर्नु भएको छ ?
-यो भ्रमण ‘ईण्डो–प्यासिफिक रणनीति’ कै अङ्ग हो । ओली सरकारको मूख्य ध्यान नेपालको अहिलेसम्मको परराष्ट्र नीतिलाई खल्बल्याउने विषयमा केन्द्रित छ । ‘होली वाईन सम्मेलन’को आयोजना गर्दा यसले सरकार र संसदको लोगो दुरूपयोग गरेर सिआईए परिचालित एउटा तस्कर गिरोहको पक्षमा विश्व दौड चलायो । परराष्ट्र मन्त्रीले अमेरिकामा गएर चीनका विरुद्धमा ‘ईण्डो–प्यासिफिक रणनीति’मा सहमति जनाए । ‘सार्क’लाई विघटन गरेर नेपाललाई ‘बिमस्टेक’ सैन्य रणनीतिमा हाल्ने र बिमस्टेकलाई ‘ईण्डो–प्यासिफिक रणनीति’संग जोडेर नेपाललाई चीन विरोधी रणनीतिमा फसाउने सरकारी चाल आम नेपालीहरूले अब त छर्लङ्ग रूपमा बुझेका छन् ।

अन्त्यमा, यस पत्रिका मार्फत् आम पाठकहरूलाई भन्नु पर्ने छुटेको कुरा केही छ ?
-मैले माथि उल्लेख गरिएका केहि महत्वपूर्ण कुरालाई पुनः दोह¥याउँछुँ । आम नेपालीहरूले देशका लागि अब युगान्तकारी लडाईंको बाटो तय गर्नु पर्छ, यथास्थिति भित्र बसेर यो दल कि त्यो दल भन्ने सोचबाट देश उँभो लाग्दैन । अबको लडाईं सुसंगठित र मौलिक सिद्धान्तले मात्र अघि बढाउन सक्छ, एजेण्डालाई सिद्धान्त जस्तो बनाएर केन्द्रबिन्दूमा राख्ने गोलचक्करमा नफसौं । नेपालको अबको आवश्यकता नेपालको आफ्नै स्कुलिङ हो, २००७ सालपछि आयात गरिएका दृष्टिकोण र विचारहरू हुबहु बोकेर परिवर्तनको भ्रम सृजना गर्ने मानिसहरूबाट टाढा रहौं । अहिलेको संकटको मूख्य कारण बाह्य डिजाईन नै हो, त्यसप्रति मौन रही यहाँका दलालहरूलाई मात्र गाली गरेर देशभक्त बन्न खोज्ने सत्ताकुण्ठित मौकापरस्त तत्वहरूबाट बच्न र देशलाई बचाउनु जरुरी छ । स्पष्ट संकल्प, दृढ ईच्छाशक्ति र निरन्तरको समर्पणले नै संसार बदल्न सकिन्छ भन्ने तथ्यलाई आत्मसात गरौं ’ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here