फिल्म निर्देशनमा फर्किँदै निश्चल बस्नेत

7

काठमाडौं- तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ पछि निर्देशक निश्चल बस्नेतले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि चर्को आलोचना खेप्नुपरेको थियो । ‘ उनी स्वयं पनि ‘लुट २’ मा आफूले गल्ती गरेको स्वीकार गर्छन् ।

अब हतारमा फिल्म निर्देशन नगर्ने अठोट लिएका उनको व्यस्तता आजभोली अभिनयतर्फ बढी रहेको छ । उनी अभिनीत पछिल्लो फिल्म ‘प्रसाद’ हो । हालै उनले हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ को छायांकन पूरा गरे । यसमा उनले श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । चाँडै उनी ‘दुई रुपैयाँ’ टिमको फिल्म ‘डामाडोल’ पनि गर्ने तयारीमा छन् ।

फिल्ममा अभिनयसँगै उनले म्यूजिक भिडियो पनि बाक्लै गरिरहेका छन् । ‘परदेशी नभन’, ‘नाच फिलिलि’ बोलको भिडियोमा निश्चलले मोडलिङ गरिसकेका छन् । फिल्मका गीतमा उनले नृत्य गर्न पनि छाडेका छैनन् । हाल प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ को ‘माया पिरिम’, ‘पर्व’ को ‘काले दाई’, ‘गरुड पुराण’ को ‘म त पिरिममा’ बोलको गीतमा उनले अभिनय गरिसके ।

‘लुट’ रिलिजताका निर्देशक निश्चललाई नेपाली फिल्म क्षेत्र हाक्ने ड्राइभर भन्ने गरिन्थ्यो । नेपाली फिल्मलाई नयाँ दिशा दिनमा उनको ठूलो योगदान छ । तर, नेपाली फिल्म क्षेत्रले निकै आश गरेको निर्देशक अहिले फिल्म निर्देशनबाट दूरी बनाएर अभिनयतर्फ व्यस्त हुँदा धेरैले चिन्ता व्यक्त गरेका छन् । उनलाई फिल्म निर्देशनमा फर्किन दर्शक र फिल्मकर्मीबाट चर्को दबाब आइरहेको छ ।

अब भने उनी फिल्म निर्देशनमा फर्किने भएका छन् । गोप्य स्रोतले दिएको जानकारी अनुसार, निर्देशक बस्नेत हाल एक फिल्मको तयारीमा छन् । फिल्मको नाम ‘दिमाग खराब’ रहने स्रोत जनाउँछ । उनी ‘टकलजंग भर्सेस टुल्के’ पछि यो नाममा फिल्म बनाउने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डमा दर्ता नै नगरि हतारमा फिल्म घोषणा गर्दा उनको हातबाट यो नाम उम्किएको थियो ।

यसै वर्षबाट उनी यस फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् । केही महिनादेखि उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् । प्राप्त जानकारी अनुसार, फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का लिड हिरोइनको रुपमा छनोट भइसकेकी छिन् । यद्यपि, यस विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here