सीके राउतलाई एउटा मधेशवासीको सुझाव !

488

-प्रीति रमण
विगत केही वर्ष यता स्वतन्त्र मधेश निर्माणको अभियानमा लागेका सीके राउत हालै सरकारसँग विखण्डनको माग त्यागेर मुलधारको राजनीतिमा प्रवेश गरेको विषय निकै चर्चामा छ । सरकार र राउतकाबीचमा ११ बुँदे सहमति भएपनि अहिले पनि सरकार र राउतका बीचमा सहमतिलाई आ–आफ्नै ढंगले व्याख्या गर्ने क्रम रोकिएको छैन । नेपालको संविधानलाई स्वीकार गर्दै अब उपरान्त यो देशको अखण्डता, सार्वमौमसत्ता र स्वाधीनताका विषयमा विरोध नगर्ने सहमति गरेका राउत सहमति पछि पनि आफ्नो पुरानै गतिविधिलाई निरन्तरता दिनमै व्यस्त छन् । आफैले गरेको सम्झौतालाई असर पुग्ने गरी उनले सञ्चालन गरिरहेका गतिविधिले उनी अझै पनि पुरानै ह्याङ्ग ओभरमा रहेको पुष्टि गर्छ । अमेरिकामा पुगेर उच्चशिक्षा हासिल गर्दै वैज्ञानिक बन्न सफल भएको एउटा युवाको भूमिका सकारात्मक काम र सिर्जनशिलतामा लक्षित हुनुपथ्र्याे । तर विडम्बना उनले आफूले सीकेको सीप र ज्ञानलाई गलत बाटोमा प्रयोग गरे । जसले गर्दा मुलुकका लागि केही गर्न सक्ने अपेक्षा गरिएका उनी मुलुकलाई नै टुक्र्याउनुपर्छ भन्नेतर्फ केन्द्रीत भए । यसैको परिणाम उनी केही व्यक्ति वा समुहका बीचमा त लोकप्रिय भएहोलान् तर उनी समग्र नेपालको प्रतिनिधित्व गर्न चुकेका छन् । बाटो विराएर गलत उद्देश्यबाट प्रेरित भएपनि सरकारसँग उनले गरेको पछिल्लो सम्झौताले उनका अगाडि नयाँ अवसर सिर्जना गरिदिएको छ । बहकिएर गलत बाटोमा लागेका उनै राउतलाई केही सुझाव दिन मन लागेकाले एउटा सुभेच्छुकका हिसाबले केही शब्द खर्च गर्न मन लागेको छ ।

डा. राउत ! मधेशी जनताको हितमा तपाईकोे अभियानले के भूमिका खेल्न सक्छ ? तपाई हामीले बुझेको कुरा हो, नेपालका प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपति दुवै मधेशी मुलकै बने, सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा पनि मधेशीले अवसर पाएको कुरा आम मधेशीहरुलाई जानकारी भएकै विषय हो । मधेश आन्दोलनपछि मधेशबाटै ६ दर्जन भन्दा बढी पटक महत्वपूर्ण मन्त्रालयको जिम्मा मधेशकै व्यक्तिहरुले अवसर पाएका छन् । कर्मचारीतन्त्रको उच्चतम पद हुँदै सेना, प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका निकायमा पनि मधेशी मुलका नागरिकहरुको उल्लेख्य उपस्थिति रहँदै आएको हो । तर तपाईले भने मधेशीले अवसर नै पाएनन्, मधेशीलाई एक्लाईयो, विभेद गरियो भनेर मुलुक बिखण्डनको माग सहितको अभियान सुरु गर्नुभएको छ । तर सीके राउत ! तपाईले सोचेको छुट्टै मधेशको परिकल्पना भन्दा नेपाल धेरै विशाल छ । नेपालको सुन्दरता भनेको पहाडी र हिमाली क्षेत्रको सुन्दरता हो जहाँ तराई–मधेशजस्तो उर्बर क्षमता भएको भूगोल पनि छ । सबै हिसाबले मिलेको नेपाललाई तपाईको क्षणिक आवेशको बलमा टुक्र्याउन खोज्दा तपाईको अस्तित्व कहाँ पुग्ला ?भविष्यलाई पनि अनुमान गर्नु राम्रो होला ।

तपाईकोे चाहना प्रष्ट छ, तपाई मधेशलाई भारतमा विलय गराउन चहानुहुन्छ । भारतमा विलय हुँदा नेपालको सीमा जोडिएको बिहार र उत्तरप्रदेशको अवस्था के छ भन्ने कुरामा तपाई आफै जानकार भएकाले यहाँ उल्लेख गरिरहन आवश्यक लागेन । त्यहाँका जनताको जीवनस्तर कस्तो अवस्थामा छ भन्ने बारेमा पनि तपाई जानकार नै हुनुहुन्छ । तर पनि तपाईले नेपालका मधेशीमा अन्याय, अत्याचार र अभाव देख्नुभयो । समग्र मुलुकको विकास नभएसम्म एउटा क्षेत्र वा वर्गको मात्र विकास कसरी सम्भव होला र ? अवसर कसैले दिने भन्दा पनि आफूले निर्माण गर्ने कुरा हो । त्यसका लागि सबैसँग रहेको सीप र क्षमतालाई संयुक्त रुपमा प्रयोगमा ल्याउनु पर्छ । त्यसो हुन सकेमात्र हरेक क्षेत्रमा बसोबास गर्ने जनताले राज्यबाट अवसर पाउन सक्ने हुन्छ । राज्यकै हालत कमजोर भएको अवस्थामा हामीले राज्यबाट धेरै अपेक्षा गरेर प्राप्त गर्न पनि त के नै सक्छौँ र ?

यस्तो विषयमा गम्भीरताका साथ मनन गर्न सक्नु भएमा मात्र समग्र मुलुकसँगै मधेश पहाड र हिमालमा बस्ने जनतालाई पर्याप्त सेवा, सुविधा र अवसर दिन सकिन्छ । एउटा नागरिकको हिसाबले हिमाल, पहाडमा बस्ने नागरिकलाई यो देशको सेवा गर्ने जति अधिकार छ त्यत्ति नै अधिकार तराइ–मधेशमा बस्नेलाई पनि छ । त्यसैले तपाईजस्तो बैज्ञानिक मान्छेले संकुचित सोँच बनाएर होइन फराकिलो छाती बनाएर सोच्न आवश्यक छ । यदी तपाईमा राजनीतिक कौशलता र क्षमता छ भने तपाई पनि भोली यो देशको सरकार प्रमुख वा राष्ट्रप्रमुख बन्न नसक्ने कुनै कारण अथवा अवरोध छैन । तपाईको साँेच समग्र मुलुकलाई नेतृत्व गर्नेतर्फ हुनुपर्छ नकि कुनै एउटा भु–भागलाई छुट्याएर त्यसका बारेमा मात्र सोच्ने कमजोरीलाई सच्याउन एक मधेशवासी नागरिककै हैसियतबाट तपाईलाई सुझाव दिन चहान्छु ।तपाईले सोचेजस्तो यो देशको कुनै एउटा क्षेत्रलाई टुक्र्याउने सपना केवल दिवा सपनामात्र हुन सक्छ । पुरा नहुने सपनाका पछाडि कुद्नु भन्दा र आम जनतामा भ्रम सिर्जना गर्नुभन्दा मुलुकलाई कसरी अघी बढाउन सकिन्छ ? मुलुकको आर्थिक सामाजिक र सास्कृतिक विकास कसरी गर्न सकिन्छ ? यसतर्फ तपाईले आफ्नो वैज्ञानिक दिमागलाई सन्तुलित ढङ्गले चलाउन सक्नुपर्छ । एउटा सुभेच्छुकको नाताले तपाई संकुचित विचारले होइन, फराकिलो विचार बोकेर हिँड्नुहोस्, यसैमा मधेश र मधेशी जनताको उन्नती र कल्याण हुनेछ ।

जनमतको आधारमा स्थानीय तह हुँदै प्रदेशसभा र प्रतिनिधिसभाको सम्पन्न निर्वाचनसम्म पुग्दा मधेशीहरुको उपस्थिति मधेशमा कस्तो रह्यो ? यो विश्लेषणको विषय हो । किन अपेक्षित परिणाम मधेश केन्द्रित दलहरुलाई प्राप्त भएन ? तराई–मधेशमा पनि नेकपा पहिलो दल बनेको छ भने दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । मधेशका विभिन्न जिल्लामा निर्वाचन भए पनि तराई केन्द्रित दलहरुको अवस्था दयनीय बनेको स्पष्टै छ । राजपालगायत तराई केन्द्रित दलहरुको राजनीति तराईका जनता केन्द्रितभन्दा पनि सत्ता केन्द्रित बढी देखिन्छ । कुनै पनि राष्ट्रिय निर्णयहरु लिनुपर्दा विदेशी दूतावासको इशारामा राजपाका नेताहरु चल्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो । राजपालगायत दलका नेताहरुकै हठका कारण नेपालका सीमाक्षेत्रमा रहेका लाखौं भारतीयहरुले नेपाली नागरिकता लिएका छन् । नेपालको सीमाक्षेत्रको भारतीय एक जिल्लामा नै हजारौं भारतीयले नेपाली नागरिकता लिएको तथ्य भारतीय सञ्चारमाध्यमले नै सार्वजनिक गरेको हामीले भुल्नु हुँदैन । यस्तो अवस्था आउनुमा राजपालगायत दलका नेताहरुको हात रहेको छ । मधेशजस्तो सुगम क्षेत्रमा पनि यहाँका नागरिकहरु विभिन्न समस्याबाट पीडित छन् । शिक्षा, स्वास्थ्यको अभाव, चरम बेरोजगारी र चेतनाको अभावका कारण तराईका जनता वर्षौंदेखि दुःखमय जीवन यापन गर्दै आएका छन् । तर, तिनै नागरिकहरुलाई भ्रम छरी यहाँका स्वनामधन्य नेताहरु भने राजनीतिक दाउपेचमा नै लिप्त छन् ।

यदि तराईकेन्द्रित दलका नेताहरु साँच्चै नै देशभक्त हुन् भने किन तराईका जनताको वास्तविक समस्यालाई आफ्नो एजेण्डा बनाउँदैनन् ? सीके राउतले यो विषयमा गम्भीरतापूर्वक समिक्षा गर्नु जरुरी छ । भारतको विहार र उत्तरप्रदेशका जनताको अवस्था र नेपालको तराई–मधेशवासी जनताको अवस्था के विषयमा भिन्नता देखिन्छ ? यी दुवै देशका जनताको बीचमा देखिने समानताले नै हामी नेपालीहरु खुला सिमानाबाट ठगिन बाध्य भएका छौं भन्ने पुष्टि हुन्छ । त्यसैले समग्र नेपालको नेतृत्वमा पुग्न सक्ने हैसियत र अवसरलाई सदुपयोग गरी समग्र नेपाली जनताको हितमा लगनशील बन्नु नै वैज्ञानिक सीके राउतको बुद्धिमत्ता ठहर्ने छ भन्ने लाग्दछ ।-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here